जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • कांग्रेस नवलपरासीमा बढ्दो मतभेद : जिल्ला महामन्त्री थापालाई पत्रमार्फत हस्तक्षेपको आग्रह

कांग्रेस नवलपरासीमा बढ्दो मतभेद : जिल्ला  महामन्त्री  थापालाई पत्रमार्फत हस्तक्षेपको आग्रह

काठमाडौं । नेपाली कांग्रेस पश्चिम नवलपरासीमा अन्तर्घात र गुटबन्दीका कारण आन्तरिक विवाद चुलिँदा जिल्ला कार्यसमितिले पार्टी महामन्त्री गगन थापालाई औपचारिक पत्र लेखेर हस्तक्षेपको माग गरेको छ।

जिल्ला सचिव उमेशचन्द्र यादवद्वारा हस्ताक्षरित पत्रमा पार्टीभित्र बढ्दो निराशा, अविश्वास र गुटगत द्वन्द्वले संगठनको आत्मविश्वास धराशायी बनाएको उल्लेख छ। पत्रमा लेखिएको छ, “केही सक्षम साथीहरूले पार्टी छाड्ने मनस्थितिमा छन्, जुन चिन्ताजनक छ।”

०७९ को निर्वाचनमा देखिएको अन्तर्घातको विषयलाई लिएर विवाद झनै चर्किएको हो। संस्थापन पक्षले प्रदेश महामन्त्री विक्रम खनालविरुद्ध कारबाहीको सिफारिस गर्दा, इतर समूहले पार्टी केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलसहित ७ जनालाई कारबाहीको सिफारिस गरेको छ।कारबाही सिफारिसमा परेका अन्य नेताहरूमा क्षेत्रीय सभापति माधव पाण्डे, रामग्राम नगर समिति सभापति श्रीधर बस्याल, मोहन शर्मा, उमेश विक, जन्मजय यादव र विनोद पाण्डे छन्।

स्थानीय चुनावमा पार्टी उम्मेदवारविरुद्ध बागी उम्मेदवार उठाउने, जिसस चुनावमा बहुमत हुँदाहुँदै विपक्षीलाई जिताउनेजस्ता उजुरीहरूको आधारमा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला समितिको दाबी छ। अनुशासन समितिमा मात्रै करिब २ हजार उजुरी परेको जनाइएको छ।

पत्रमा गम्भीरतापूर्वक उल्लेख गरिएको छ कि पार्टीभित्र संवाद र विचारविमर्शको संस्कृति कमजोर हुँदै गएको छ, जसले गर्दा कार्यकर्ताहरूमा असन्तोष र उदासीनता फैलिएको छ। जिल्ला नेतृत्वले पार्टी केन्द्रलाई आग्रह गर्दै लेखेको छ कि, “पार्टी नेतृत्वले यथाशीघ्र हस्तक्षेप नगरे वर्तमान अवस्था झन् जटिल बन्नेछ र संगठनको दीर्घकालीन क्षमतामा गम्भीर असर पर्नेछ।”

कांग्रेसको गढ मानिने पश्चिम नवलपरासीमा बढ्दो गुटबन्दी र आन्तरिक खिचातानीले पार्टी एकताको भविष्यप्रति गम्भीर प्रश्न उठेको छ। अब गगन थापाले कस्तो पहल गर्छन् भन्नेमा सबैको ध्यान केन्द्रित हुँदैछ।