जोडिनुहोस
  • होमपेज
  • कर्णालीको अदुवा–बेसार युरोपेली बजारमा निर्यात हुँदै

कर्णालीको अदुवा–बेसार युरोपेली बजारमा निर्यात हुँदै

काँक्रेविहार (सुर्खेत) । आर्थिक वर्ष २०७८/७९ मा कर्णाली प्रदेशबाट ३६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात भएको छ।

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार, उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मनी लगायत देशमा निर्यात गरिँदैछ।

सल्ल्यान, रुकुमपश्चिम र सुर्खेतका क्षेत्रहरूमा उत्पादित अदुवा र बेसार सुर्खेतको छिन्चुस्थित ‘द अग्र्यानिक भ्याली’ कम्पनीले सङ्कलन गरी विदेश पठाउँदै आएको छ। कम्पनीले मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य कृषि उत्पादन पनि प्रमाणीकरण गरी निर्यात गर्छ।

मन्त्रालयका अनुसार प्रदेश स्थापना कालदेखि हालसम्म कृषि क्षेत्रमा १८ अर्ब ४७ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा १४ अर्ब रुपैयाँ लगानी भइसकेको छ।

आर्थिक वर्ष २०७८/७९ मा ७४७ वटा साना सिँचाइ योजना निर्माण गरिएको छ। विगत एक वर्षमा स्याउ, ओखर, सुन्तला, कागती, लिची लगायतका फलफूलका हजारौं बिरुवा रोपिएको छ। खाद्य सुरक्षा तथा कृषि प्रसार कार्यक्रममार्फत उन्नत जातका धान र सागसब्जीका बीउ पनि प्रमाणीकरण भइसकेको छ।