जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • मोहन्यालका ग्रामीण सडकको स्तरोन्नति

मोहन्यालका ग्रामीण सडकको स्तरोन्नति

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिका क्षेत्रभित्रका ट्रयाक खोलिएका ग्रामीण सडकको स्तरोन्नतिको काम सुरु भएको छ । ट्रयाक खुलेका कच्ची सडकलाई बाह्रै महिना यातायात सञ्चालन गर्न ग्रामीण सडकको स्तरोन्नतिको काम सुरु गरिएको हो ।

सिमली–खिमडी, सोल्टा–ताम्चा–राम्सा र खिमडी–वीरखेत सडकको ठेक्का सम्झौता भई स्तरोन्नतिको काम सुरु भएको गाउँपालिकाका इञ्जिनियर योगेन्द्र भण्डारीले बताएका छन् । सिमली–खिमडी सडकको सात किलोमिटर स्तरोन्नतिका लागि श्रीधर वसन्त निर्माण सेवा मोहन्यालसँग रु ५२ लाख ५५ हजारमा ठेक्का सम्झौता भएर काम सुरु भएको उनले बताए ।

सोल्टा–ताम्चा–राम्सा सडकको सात किलोमिटरका लागि रोहित निर्माण सेवा बाजुरासँग रु ५७ लाखमा ठेक्का सम्झौता भएको जनाइएको छ । खिमडी–वीरखेत सडकको नयाँ ट्रयाकसँगै स्तरोन्नतिको काम उपभोक्ता समितिमार्फत रु ३५ लाखमा सम्झौता भएको इञ्जिनियर भण्डारीले जानकारी दिए।

सिमली–खिमडी, सोल्टा–ताम्चा–राम्सा सडक स्तरोन्नतिका लागि प्रदेश सरकारको समपूरक अनुदान र खिमडी–वीरखेत सडक तराई–मधेस समृद्धि कार्यक्रममार्फत बजेट विनियोजन गरिएको इञ्जिनियर भण्डारीले जानकारी दिए । ती दुई निर्माण कम्पनीले गाउँपालिकासँग गत चैतमा सम्झौता गरी चालु आर्थिक वर्षको असारसम्म स्तरोन्नतिको काम सम्पन्न हुने गरी काम धमाधम भइरहेको इञ्जिनियर भण्डारीको भनाइ छ ।

साँघुरो सडकलाई चौडा गर्ने, पर्खाल लगाउने र आवश्यकताअनुसार नाली निर्माण र ग्याबिङ जाली भर्ने काम निर्माण कम्पनीले गरिरहेको गाउँपालिकाले जनाएको छ । स्तरोन्नति हुन लागेको सडकमध्ये सिमली–खिमडी, सोल्टा–ताम्चा–राम्सा सडकको २०७५ साल अघि नै ट्रयाक खुलेको जनाइएको छ । मोहन्याल गाउँपालिका पहाडी भेगमा पर्ने भएकाले स्तरोन्नतिका लागि विनियोजन गरिएको बजेट पर्याप्त नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्दले बताए ।

मोहन्यालका सातवटै वडा कार्यालय सडक सञ्जालसँग जोडिएकाले क्रमशः सबै सडकको स्तरोन्नति गर्दै जाने गाउँपालिकाको नीति रहेको उनले बताए। ट्रयाक खोलिएका सडकको स्तरोन्नति नहुँदा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य हुनुपरेको स्थानीयको भनाइ छ । सडक स्तरोन्नतिपश्चात् यात्रा र सामान ढुवानी गर्न सहज हुने मोहन्याल–४ का पूर्ववडाध्यक्ष टेकेन्द्र बोगटीले बताए ।

विगतमा सडक यातायातको पहुँच नहुँदा पिठ्यूँमा भारी बोक्नुपर्ने बाध्यता रहेकामा अब सो गाउँपालिकाका सबै वडा सडक यातायातसँगै जोडिएकाले यहाँ उत्पादित फलफूललगायत कृषिजन्य वस्तुले सहजरुपमा बजार पाउने विश्वास गरिएको बोगटीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्