जोडिनुहोस
बिहिबार, कार्तिक २९, २०८१
बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • १३४ यात्रुसहित आज पोखरामा सिचुवान एअरलाइन्सले दोस्रो चार्टर्ड उडान गर्ने

१३४ यात्रुसहित आज पोखरामा सिचुवान एअरलाइन्सले दोस्रो चार्टर्ड उडान गर्ने

कास्की। पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय उडान गरेको चीनको सिचुवान एअरलाइन्सले १७ महिनापछि आज दोस्रो उडान गर्ने भएको छ। सिचुवान एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १३४ यात्रुसहित चार्टर्ड उडान गर्ने भएको हो।

नेपाल र चीनबीचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यसहित कात्तिक २४ मा पोखरामा हुन लागेको तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आउने चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्ति चार्टर्ड उडानमार्फत पोखरा आउन लागेका हुन् ।

चीनको कुनमिङ विमानस्थलबाट आउने एअर बस ३१९ विमान बिहीबार दिउँसो २ बजेर ४० मिनेट जाँदा पोखरामा अवतरण गर्नेछ। पोखरामा अवतरण गरेपछि अपरान्ह ४ बजेर १० मिनेट जाँदा काठमाडौंका लागि उड्ने विमानस्थलकी सूचना अधिकारी जसोदा सुवेदीले जानकारी दिइन् । उक्त विमान काठमाडौंका लागि भने खालि नै उड्नेछ । प्रतियोगिताका प्रचारप्रसार संयोजक प्रतीक पहारीले विमानबाट एक सय ३४ जना यात्रु पोखरा आउने जानकारी दिए । प्रतियोगितामा नेपाल र चीनका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

सिचुवानले यसअघि २०८० असार ६ मा पहिलोपटक चार्टर्ड उडान गरेको थियो । पोखरा विमानस्थल सञ्चालनमा आएको १७२ दिनमा चीनको छेन्दु विमानस्थलबाट सिचुवान एअरलाइन्सको न्यारोबडी ए ३१९ विमानले उडान भरेको हो । सो विमानमा पोखराको फेवातालमा सम्पन्न दक्षिण एसियामै पहिलोपटक नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ मा सहभागी हुन चिनियाँ टोली आएका थिए । यो नै पोखरामा भएको पहिलो अन्तर्राष्ट्रिय उडान हो ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरामा चारपटक गरी अहिलेसम्म पाँच चार्टर्ड र एक व्यावसायिक उडान भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका