काठमाडौं। नेकपा माओवादी केन्द्रले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ। सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका हुन्।
उनले देशमा राम्रा काम गरिरहेका कर्मचारीहरुलाई हटाउने खेल भइरहेको आरोप लगाए। उनले देशमा असाधारण परिस्थिति बन्दै गएको बताए। उनले असाधारण परिस्थितिको सामना गर्न सबै पार्टीहरुको बीचमा एकरुपता र समझदारी हुन जरुरी रहेको बताए।
उनले सरकार राजनीतिक दलहरु फुटाउने चलखेलमा लागिरहेको आरोपसमेत लगाए। संविधान संशोधन अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताए। राष्ट्रियताको सवाल झनझन पेचिलो र जटिल बन्दै गएको तथा लोकतन्त्रका मूल्य, मान्यता र आर्दश कुल्चिने कुचेष्टा भइरहेको आरोप लगाए।
उनले भने, ‘यो देशमा राम्रो काम गरिरहेका छन्, उनीहरुलाई हटाउने खेल भइरहेको छ। असाधारण परिस्थिति देशमा बन्दैछ। पहिलाको सरकारले जेजे गरेको थियो, भ्रष्टाचारका विरुद्धमा, सुशासनका पक्षमा, सामाजिक न्यायसहितको समृद्धि भनेको थियो, त्यो एक एक गरी उल्टिँदै छन्। राष्ट्रियताको सवाल झनझन पेचिलो, झनझन जटिल भइरहेको छ। लोकतन्त्रका मूल्य, मान्यता र आर्दश कुल्चिने कुचेष्टा भइरहेको छ। जनजीविकाको सवालमा सरकार चुकिरहेको छ। यो सरकार त आफ्नै कारणले जान्छ जान्छ।’
प्रवक्ता सापकोटाले जनतालाई सही ढंगले परिवर्तन र अग्रगमनका पक्षमा दिशा निर्देश गर्न जरुरी रहेको बताए।