काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिकामा भएको मेयर र २ वटा वडाअध्यक्षको उपनिर्वाचनका क्रममा ६७ प्रतिशत मतदान भएको छ ।
नगरप्रमुखका लागि भएको मतदानमा २० हजार मत खसेको आयोगको प्रारम्भिक अनुमान छ । आयोगले अनुसार ६७ प्रतिशत मत खसेको अनुमान गरिएको जनाएको छ । आयोगका एक कर्मचारीले भने, ‘यो प्रारम्भिक विवरण हो । अहिले मतपेटिका शिल हुँदैछ पूर्णविवरण आउन बाँकी छ ।’
यहाँ जम्मा ३१ हजार १ सय २२ थिए । कीर्तिपुरमा ११ जना स्वतन्त्र उम्मेदवार र ८ जना दलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । यहाँको वडा नम्बर १ र ४ मा वडाध्यक्षको उपनिर्वाचन भएको छ ।
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ मा कीर्तिपुरको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी ९ हजार ४३ मतसहित विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार केशरत्न बज्राचार्यलाई ३,५३६ मतान्तरले पराजित गरेका थिए ।