नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबारको दोस्रो खेल सकिएपछि मैदानमा दर्शकहरूको प्रवेश भयो । मैदानको पश्चिमी भागबाट बार नै नाघेर प्रवेश गरेका दर्शक पिचसम्म पुगेका थिए ।
उनीहरू खेलाडी भएको ठाउँसम्मै पुगेका थिए र सुरक्षाकर्मीहरूले बाहिर निकालेका थिए । तर, यसले खेलाडीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । त्यसो त खेल चलिरहँदा अनिलले छक्का प्रहार गरेपछि दुई बालकहरू नै मैदानमा छिरेका थिए । उनीहरूलाई पनि लगत्तै बाहिर निकालिएको थियो ।
यसरी क्यानले पहिलो दिन दर्शक व्यवस्थापन गर्न नसकेको कुरा आइरहँदा सोमबारको खेलमा भने दर्शकहरू बार नै नाघेर मैदान प्रवेश गर्दा थप प्रश्न उठेको छ । आज भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको छ ।