काठमाडौं। काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवर्द्धनको उद्देश्यसहित वार्षिक क्यालेन्डर प्रकाशित गरी महानगरभित्र १२ महिनामा १२ किसिमका नसर्ने रोगको सचेतना अभियान सञ्चालन गरेको हो ।
महानगरका स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले हरेक महिनालाई स्वास्थ्यको विशेष महिनाका रुपमा सचेतना अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले सङ्घीय सरकारबाट मात्र नभई स्थानीय तहबाट पनि स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्नका लागि अभियान सञ्चालन गरिएको बताए।
महानगरले मङ्सिरमा मात्रै उच्चरक्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी स्वास्थ्य परीक्षण गरेको छ । महानगरका मेडिकल अधिकृत डा दिवस न्यौपानेका अनुसार महानगरका सबै वडामा रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट करिब ३० हजार जनाको उच्चरक्तचाप, मधुमेह र मिर्गौला परीक्षण गरिएको छ ।
महानगरले पुस महिनालाई श्वासप्रश्वाससम्बन्धी रोग र सुर्तीजन्य पदार्थविरुद्धको सचेतना महिना, माघलाई मादक पदार्थ तथा सडक दुर्घटना सचेतना महिना, फागुनलाई क्यान्सर तथा प्रजनन स्वास्थ्य सचेतना महिना, चैतलाई मानसिक स्वास्थ्य सचेतना महिनाका रुपमा अभियान सञ्चालन गर्दैछ ।
यस्तै, वैशाखमा आँखा, जेठ मुख तथा नाक, कान र घाँटी, असारमा ज्येष्ठ नागरिक तथा अपाङ्गता सहायता सचेतना महिना, साउनमा नवजात र बालबालिका स्वास्थ्य पोषण तथा स्तनपान सचेतना महिनाका रुपमा अभियान सञ्चालन गर्न थालेको हो । भदौमा उच्चरक्तचाप र असोजमा मधुमेहलाई समेटेर मङ्सिरमा मिर्गाैलासहितको सचेतना अभियान सञ्चालन गरिएको छ । कात्तिक महिनामा स्वस्थकर खानपान तथा आरोग्य जीवन सचेतना अभियान सञ्चालन गरिएको थियो ।
मेडिकल अधिकृत डा न्यौपानेले यस वर्षदेखि सुरु गरिएको अभियान दसैँ, तिहार र उपनिर्वाचनका कारणले समयमा नै सञ्चालन गर्न नसकिएको बताए । उनले अबदेखि हरेक वर्ष सचेतना अभियानलाई महाअभियानका रुपमा सञ्चालन गर्ने उल्लेख गरे ।