चितवन। रातको समयमा एक सर्वसाधारणमाथि निर्घात कुटपिट गर्ने प्रहरीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । प्रहरीले एक व्यक्तिलाई निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि चितवन प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोलाई घटनाको छानबिनको जिम्मेवारी दिएको थियो ।
छानबिनका क्रममा कुटपिट गर्ने प्रहरी भरतपुर महानगरपालिका–११ बाइपास रोड क्षेत्रमा गणेशस्थान प्रहरी बिटका असई बुद्धिबहादुर घर्ती भुजेल रहेको पत्ता लागेको छ । भुजेललाई निलम्बन गर्न बागमती प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरिएको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । मिश्रले घटनाबारे थप अनुसन्धान भइरहेकाले निलम्बन पश्चात् अन्य विवरण सार्वजनिक गरिने बताए ।
उक्त घटना गत पुस १५ गते राति सवा १० बजे भएको खुलेको छ । तीन वटा बुलेट मोटरसाइकल र एउटा स्कुटरमा होहोल्ला गर्दै आएपछि प्रहरीले रोकेर जाँच गर्दा अन्य व्यक्ति मोटरसाइकल छोडेर भागेका थिए भने एक व्यक्तिलाई असई भुजेलले कुटेका थिए । मादक पदार्थ सेवन गरेका ती व्यक्तिलाई राति प्रहरी हिरासतमा राखेर अर्को दिन उनी ट्राफिक प्रहरीमा जरिवाना तिरेर छुटेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान गरिरहेका डीएसपी महतोले भिडिओमा देखिएका व्यक्तिलाई पनि घटनाबारे अनुसन्धानका लागि बोलाइसकिएको बताए । कुटपिट गरेको भिडियो एकाएक भाइरल बनेपछि प्रहरीले छानबिन समिति बनाएको थियो ।