
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद माधव सापकोटा ‘सुबोध’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका हुन् ।
सरकारको अकर्मन्यताका कारण फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रुपले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा राखेको सापकोटाले बताए ।
उनले यस प्रकरणमा प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् । नेपाल ग्रे–लिस्टमा पर्नुले सरकार पूरा असफल भइसकेको पुष्टि गरेको पनि उनले जिकिर गरे ।
‘सम्पत्ति सुद्धीकरण तथा आतङ्कवादी गतिविधि मामलामा निगरानी अन्तर्राष्ट्रिय संस्था (एफएटीएफ) ले नेपाललाई आधिकारिक रुपमा ग्रे लिस्टमा चढाएको छ । सरकारको अकर्मन्यता, वित्तीय क्षेत्रमा सुधारको अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल अन्ततः लज्जाजनक अवस्थामा पुगेको छ’, उनले भने, ‘म यसप्रति खेद व्यक्त गर्दछु, निन्दा व्यक्त गर्न चाहन्छु । यो घटनाक्रमले सरकार सुशासनको पक्षमा छैन, पूर्ण रुपले असफल भएको संकेतका रुपमा लिनुपर्छ । सरकारले नैतिक रुपमा मार्ग प्रशस्त गर्नुपर्छ ।’
अब सरकारसँग जनताको विश्वास र भरोसा बाँकी नरहेको बताउँदै उनले सिंगै देशको इज्जत, प्रतिष्ठा र मान संरक्षण र रक्षाको लागि प्रतिनिधि सभाले गम्भीरतापूर्वक विशेष कदम चाल्नुपर्ने उनले बताए ।