
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सिर्जना, कृषि क्षेत्रमा उत्पादन र लगानी वृद्धि गर्न आग्रह गर्नुभएको हो ।
ओलीले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन–मूल्याङ्कन, उद्यमशीलताको विकास र सेवा प्रवाह एवम् सुशासनमा सकारात्मक प्रभाव पर्ने कार्यमा लाग्न पनि आग्रह गर्नुभयो ।
आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले १६औं योजनाको कार्यान्वयन, त्यसका चुनौती, समपूरक र विशेष अनुदानको कार्यविधिमा संशोधनलगायत विषयमा अवगत गराउनुभएको थियो ।
यसैबीच प्रधानमन्त्री ओलीले आउँदो जेठ २ गतेदेखि ४ गतेसम्म काठमाण्डौमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त बनाउन निर्देशन दिनुभएको छ । सिंहदरबारमा सञ्चालनमा आएको सगरमाथा संवादको सचिवालयमा आज निरीक्षण र अवलोकनपछि प्रधानमन्त्रीले कार्यक्रम आयोजना गर्नुको मुख्य सन्देशको प्रभावकारी प्रवाहसहित व्यवस्थापनसमेत चुस्त भएको सन्देश अन्तर्राष्ट्रिय समुदायसमक्ष दिन निर्देशन दिनुभएको हो ।
सरकारले संवाद कार्यक्रमका लागि छिमेकी भारत र चीनसहित विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरेको छ । सचिवालयका सदस्य सचिव डा। महेश्वर ढकालले कार्यक्रमको अहिलेसम्मको तयारीबारे छिट्टै सार्वजनिक गर्ने जानकारी दिनुभयो ।