
काभ्रे– काभ्रेको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका- ३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि डढेलो लागेको छ । उक्त वनमा राति ११ः०० बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रयास भइरहेको जनाइएको छ ।
आगलागी भएको क्षेत्रबाट बस्ती करिब एक किलोमिटर टाढा रहेको तथा थलीडाँडा र हर्क भञ्ज्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष कुवेर ढकालले बताए । उनका अनुसार आगलागी फैलियो भने मानव बस्ती जोखिममा पर्न सक्छ ।
रातको समयमा डढेलो देखिएकाले नियन्त्रणका लागि सम्भव नभएकाले बिहानैदेखि प्रहरी, स्थानीय जनप्रतिनिधि, वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयद्वारा नियन्त्रणको प्रयास भइरहेको ढकालले बताए । उनका अनुसार आगलागीबाट हालसम्म कुनै मानवीय एवं पशुको क्षति भएको छैन ।
यसअघि गत माघ पहिलो साता सोही क्षेत्र महाभारत पर्वतशृङ्खलाअन्तर्गत खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडास्थित महाभारत जङ्गलमा लागेको डढेलो चार दिनपछि हेलिकप्टरमार्फत नियन्त्रणमा ल्याइएको थियो ।
खानीखोलाको थामलेख डाँडाबाट सुरु भएको आगलागी बेथानचोक गाउँपालिका– १, २, ३ र ५ को सीमाक्षेत्रमा समेत आइपुगेपछि हेलिकप्टर मगाइएको थियो ।
जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकारवाला निकायको जनशक्ति परिचालन गर्दा पनि नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले गृह मन्त्रालयमार्फत हेलिकप्टर मार्फत नियन्त्रणको प्रयास थालेको थियो ।