
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनबारे वार्ता गर्न लागेको बताएका छन् । अमेरिका र युक्रेनका प्रतिनिधिहरूबीच साउदी अरबमा भएको वार्तापछि ट्रम्पको भनाइ आएको छ । युक्रेनले साउदी अरबमा सम्पन्न बैठकपछि अमेरिकाको ३० दिने युद्ध विरामको प्रस्तावमा सहमति जनाएको छ ।
‘मलाई लाग्छ कि हामी जमिनको मुद्दामा कुराकानी गर्छौँ । किनकि तपाईँहरू जान्नुहुन्छ कि युद्ध सुरु भएपछि अहिलेसम्म धेरै ठूलो परिवर्तन आइसकेको छ । हामी ऊर्जा संयन्त्रका बारेमा पनि छलफल गर्छौँ,’ ट्रम्पले भनेका छन् ।
अमेरिका पछिल्लो केही समयदेखि रूस र युक्रेनबीच युद्ध विराम गराउन प्रयासरत छ । जनवरी २०२५ मा राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सम्हालेका छन् । त्यसयता उनले रूसी राष्ट्रपति पुटिनसँग एक पटक कुराकानी गरिसकेको छ । भोली हुने भनिएको दुई राष्ट्रपतिबीचको कुराकानी दोस्रो पटक हो ।