जोडिनुहोस
  • होमपेज
  • राजस्व संकलनमा ११.३३ प्रतिशत वृद्धि, ८१/८२ मा ११ खर्ब ७८ अर्ब संकलन

राजस्व संकलनमा ११.३३ प्रतिशत वृद्धि, ८१/८२ मा ११ खर्ब ७८ अर्ब संकलन

काठमाडौं।आर्थिक वर्ष २०८१/०८२ मा सरकारको कुल राजस्व संकलन ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा यो १ खर्ब २० अर्ब रुपैयाँले बढी हो, जसले ११.३३ प्रतिशत वृद्धि दर्शाउँछ।

अघिल्लो वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। चालु वर्षका लागि सरकारले १४ खर्ब १९ अर्बको राजस्व लक्ष्य राखे पनि अर्धवार्षिक समीक्षापछि लक्ष्य घटाएर १२ खर्ब ८६ अर्ब बनाइएको थियो। संशोधित लक्ष्यअनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको हो।

राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीका अनुसार विपद् र अन्तर्राष्ट्रिय परिस्थितिका चुनौतीहरूका बीच पनि अघिल्लो वर्षको तुलनामा उत्साहजनक उपलब्धि हासिल भएको हो। उनले चालु आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब राजस्व संकलन गर्ने लक्ष्यसहित तयारी अघि बढाइएको जानकारी दिए।

अघिल्ला वर्षहरूको राजस्व संकलन हेर्दा २०७१/०७२ मा ४ खर्ब ५ अर्ब, २०७२/०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३/०७४ मा ६ खर्ब ९ अर्ब, २०७४/०७५ मा ७ खर्ब २६ अर्ब, २०७५/०७६ मा ८ खर्ब २९ अर्ब, २०७६/०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७/०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८/०७९ मा १० खर्ब ६६ अर्ब, २०७९/०८० मा ९ खर्ब ५७ अर्ब, र २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका