
सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्नुभएको छगरेका छन् । शुक्रबार मुख्यगरी संसदको अवरोध हटाउने र बजेट माथिको छलफलका लागि समय निर्धारण गर्ने उद्देश्यले सभामुखले छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन समेत हुनुपर्ने मुख्य अडान राख्दै आएका छन् । जेठ १५ मा संसदको संयुक्त बैठकमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्थालाई ध्यानमा राखेर बिहीबार अवरोध नगरेको विपक्षी दलहरुले बताएका थिए । माग संवोधन नभए अबको संसद् चल्न नदिने माओवादी केन्द्रसहितका विपक्षी दलले अडान दोहोर्याएका छन् ।
शुक्रबारको छलफलपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले माग पूरा नहुँदासम्म सदन चल्न नदिने जानकारी गराएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने धारणा राखेको जानकारी दिए। तर नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सदनको अवरोधका विषयमा औपचारिक कुराकानी नभएको बताए । प्रतिनिधि सभाको अर्को बैठक जेठ २० गतेका लागि बोलाइएको छ ।