
नेपाली लोकसङ्गीतमा विकृति मौलाउँदै गइरहेको बेला गायक तथा सर्जक रामचन्द्र ढकालले मौलिक झ्याउरे भाकामा आधारित लोकगीत ‘घन घन मादल’ सार्वजनिक गरेका छन्। ग्रामीण जीवनशैली, भाषा, भेषभूषा र हराउँदै गएका भाकालाई पुनर्जीवित गर्ने उद्देश्यसहित तयार गरिएको उक्त गीत ढकालकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा रामचन्द्र ढकालसँगै लोकप्रिय गायिका शान्ती श्री परियार, लिला पौडेल र शंकर ढकालको सशक्त स्वर सुन्न सकिन्छ। लय तथा शब्द संकलन लिला पौडेलको रहेको गीतको भिडियो परिकल्पना तथा निर्देशन गायक ढकाल स्वयंले गरेका हुन्।
गायक ढकाल भन्छन्, “झ्याउरे शैलीमा आधारीत यो गीतले हराउँदै गएका मौलिक भाकालाई पुनर्जीवन दिने प्रयास गरेको छ।”
उनका अनुसार नेपाली लोकजीवन, भाषा, भेषभूषा र संस्कृतिलाई बचाइराख्न संगीत एक बलियो माध्यम हो। “भाषा, भेषभूषा र भाका जोगाउनु हामी सबैको दायित्व हो,” ढकालले जोड दिए।
गीतमा गायक शंकर ढकालको प्रस्तुती रहेको छ ।
गीतको भिडियोमा गुरुङ चलचित्रका चर्चित अभिनेता तारा बहादुर गुरुङ लाहुरेको भूमिकामा देखिएका छन्। साथै, अनमोल भण्डारी, बिनु कार्की र कृष्णमाया पौडेलको अभिनयले भिडियोमा थप गहिराई दिएको छ। ग्रामीण परिवेशमा छायांकन गरिएको यस गीतले लोकजीवनको सौन्दर्य झल्काउने कोशिस गरेको छ।
गायक रामचन्द्र ढकाल : मौलिकताका संवाहक कलाकार
गायक रामचन्द्र ढकाल लोकसंगीतको क्षेत्रमा मौलिकता जोगाउँदै आएका सशक्त पात्र हुन्। २०३९ साल जेठ १६ गते स्याङ्जाको आधिखोला गाउँपालिका–१, पञ्चमुलमा जन्मिएका ढकालले रेडियो नेपालको ‘देउराली’ कार्यक्रमबाट २०५४ सालमा सांगीतिक यात्रा सुरु गरेका थिए।
शिक्षण पेशामा आबद्ध रहेका ढकाल श्री बाराही मावि, पोखरा–५, मालेपाटनमा माध्यमिक तहका शिक्षक हुन्। समाजशास्त्र र शिक्षामा मास्टर डिग्री हासिल गरेका ढकाल विभिन्न सांस्कृतिक संस्थामा पनि सक्रिय छन्। उनी स्याङ्जा सांस्कृतिक कला केन्द्रका अध्यक्ष तथा राष्ट्रिय सङ्गीतकर्मी संघ, गण्डकी प्रदेशका अध्यक्ष हुन्। लोकनृत्य संघ, कास्कीका आजीवन सदस्यसमेत रहेका उनले दर्जनौं गीत तथा एल्बम सार्वजनिक गरिसकेका छन्।
उनको पहिलो आधुनिक गीत ’हाम्रो माया फुल थियो’ (२०५८) तथा पहिलो लोकदोहोरी एल्बम ’फूल बुट्टे साडीमा’ (२०५९) बाट चर्चा कमाएका ढकालले ‘स्याङ्जाको बजार’, ‘चरिले बीउ खायो’, ‘नेपाली भेसैमा’, ‘तीजको चटारो’ जस्ता एल्बममार्फत आफ्नो छुट्टै छवि बनाएका छन्। उनले राष्ट्रिय अवार्डसमेत प्राप्त गरेका छन्।
ढकालको ‘स्याङ्जाको बजार’ र ‘चरिले बीउ खायो’ गीतले राष्ट्रिय अवार्ड जितेको छ भने उनले दुई दर्जनभन्दा बढी संघ–संस्थाबाट सम्मान प्राप्त गरिसकेका छन्।
ढकालले मौलिक गीतलाई संरक्षण गर्न कलाकार, श्रोतामात्र नभइ सम्पूर्ण नेपाली समाजले हातेमालो गर्नुपर्ने धारणा राख्छन्। “हाम्रो मौलिकता नै हाम्रो पहिचान हो,” उनी भन्छन्, “यस्तो पहिचानलाई बचाउन सके हामी इतिहास जोगाउन सक्छौं।”
मौलिक भाका संरक्षणको निरन्तर प्रयास
गायक ढकालले नेपाली लोकसंगीतलाई मौलिक ढाँचामा प्रस्तुत गर्दै गाउँघरका लोपोन्मुख भाकालाई संरक्षण गर्ने कार्यलाई निरन्तरता दिँदै आएका छन्। उनले तयार पारेका अधिकांश गीतमा नेपाली पहिचान, लोकजीवन र मौलिक संस्कृतिको झल्को पाइन्छ।
‘घन घन मादल’ उनको पछिल्लो प्रयास हो, जसले आजको परिवर्तनशील संगीत बजारमा पनि मौलिकतालाई जोगाउने सन्देश दिएको छ। झ्याउरे भाकालाई नयाँ पुस्तामाझ पुनः परिचित गराउने र गाउँघरको आत्मालाई संगीतमार्फत बाँड्ने ढकालको काम साँचिकै प्रशंसनीय छ ।
भिडियो लिंक





































