
दोधारा चाँदनी (कञ्चनपुर)। महाकाली सन्धि भएको तीन दशक बितिसक्दा पनि कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा निर्माण हुने भनिएको नहर अझै अन्योलमा परेको छ।
नेपालले नहर निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकेको भए पनि भारतले आफ्नो भूमिमा बनाउनुपर्ने १,१०० मिटर मूल नहर अझै नबनाउँदा सिँचाइका लागि आवश्यक ३५० क्युसेक पानी दोधारा–चाँदनीले पाउन सकेको छैन।
विसं २०५२ माघ २९ गते नेपाल–भारतबीच हस्ताक्षर भएको महाकाली सन्धिअनुसार दोधारा–चाँदनीमा शारदा नहरबाट सिँचाइ सुविधा उपलब्ध गराउने प्रावधान थियो। तर सन्धि कार्यान्वयन नभएका कारण पानी आपूर्तिमा ढिलाइ भइरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक डा. योगेन्द्र मिश्रले जानकारी दिए।
“हामीले नेपालतर्फको जग्गा अधिग्रहण गरिसकेका छौं, तर भारतले नहर बनाउने प्रक्रिया थालेको छैन,” उहाँले भन्नुभयो, “भारतले नहर बनाउन सुरु गरेपछि मात्रै नेपालतर्फ ठेक्का प्रक्रिया अघि बढ्छ।”
डाः मिश्रका अनुसार नेपालले सीमाबाट दोधारा क्षेत्रमा करिब १६ किलोमिटर मूल नहर निर्माण गर्नुपर्नेछ। शारदा नहरको पानी पुगेमा करिब ३,०४० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ।
महाकाली सन्धिका जानकार विष्णु अवस्थीले सन्धिमा सम्झौता भएको छ महिनाभित्र नहर निर्माण सम्पन्न गरिसक्ने व्यवस्था भए पनि ३० वर्षसम्म नेपालले सम्झौताअनुसारको पानी नपाएको उल्लेख गर्दै सरकार गम्भीर भएर समन्वयमा जुट्नुपर्ने बताए।
“प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो विषय प्राथमिकतामा पर्नुपर्छ,” उहाँले भन्नुभयो, “नेपालले अब सन्धिअनुसारको पानी माग गर्न ढिलो गर्नुहुन्न।”





































