
फिक्कल (इलाम) ।इलाम नगरपालिका–१० गोदकस्थित राजदुवाली टप्पुमा निर्माणाधीन ‘माइभगवती रङ्गशाला’ बजेट अभावका कारण लामो समयदेखि अधुरो छाडिएको छ। सात वर्षअघि सुरु गरिएको यो परियोजना पछिल्ला तीन आर्थिक वर्षदेखि निरन्तर बजेट नआउँदा काम रोकिएको हो।
हाल निर्माणस्थल झाडीले ढाकिएको छ भने बनेका संरचना जीर्ण बन्दै गएका छन्। अहिलेसम्म कोशी प्रदेश सरकार र इलाम नगरपालिकाको समपूरक अनुदानमार्फत चार करोड आठ लाख २३ हजार रुपैयाँ खर्च भइसकेको छ। सो रकमबाट पर्खाल, प्याराफिट र रेलिङलगायतका काम सम्पन्न गरिए पनि कुल कामको मात्र करिब १० प्रतिशत पूरा भएको नगर इञ्जिनियर क्षितिज दाहालले जानकारी दिए।
समपूरक अनुदानमार्फत आ.व. २०७६/७७ मा एक करोड ३६ लाख, २०७७/७८ मा ८४ लाख १९ हजार, २०७८/७९ मा ८४ लाख १९ हजार र २०७९/८० मा एक करोड दुई लाख ९८ हजार रुपैयाँ विनियोजन भएको थियो। तर पछिल्ला तीन आर्थिक वर्षदेखि बजेट नआएपछि काम ठप्प भएको छ।
कोशी प्रदेश सरकारलाई पटकपटक बजेट माग गर्दा समेत सुनुवाइ नभएको इलाम नगरप्रमुख केदार थापाले बताए। “नगरपालिकाले मात्र यसलाई पूरा गर्न सक्दैन, माथिल्लो सरकारको सहयोगविना विकल्प छैन,” उनले भने।
करिब १२० रोपनी क्षेत्रफलमा बन्ने रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार निर्माण सम्पन्न गर्न करिब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। रङ्गशाला पूर्ण भएपछि फुटबल, क्रिकेटसहित विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने भएकाले स्थानीयवासी उत्साहित छन्।





































