काठमाडौं । जेनजी आन्दोलनका प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। मंगलबार बानेश्वरस्थित सिभिल अस्पताल अगाडि भेला भएका प्रदर्शनकारीहरूले सोमबारको घटनामा ज्यान गुमाएका आफ्ना साथीहरूको न्यायको माग गर्दै सरकारविरुद्ध तीव्र नाराबाजी गरेका हुन्।
“नालायक प्रधानमन्त्री राजीनामा दे”, “विद्यार्थी मार्न पाइँदैन” लगायतका नारासहित उनीहरूले प्रधानमन्त्री ओलीमाथि प्रत्यक्ष आरोप लगाएका छन्। प्रदर्शनकारीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामामात्रै पर्याप्त नहुने बताएका छन् र प्रहरीले गरेको दमनको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने माग उठाएका छन्।
कर्फ्यू आदेश जारी रहे पनि मंगलबार बिहानैदेखि प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। नयाँ बानेश्वरदेखि शंखमुलतर्फ जाने क्षेत्रमा प्रदर्शनकारीहरूको जमघट देखिएको छ।
सोमबारको जेनजी आन्दोलनमा भएको प्रहरी हस्तक्षेपमा कम्तीमा १९ जनाको मृत्यु भएको थियो भने दुई सयभन्दा बढी घाइते भएका छन्।






































