
काठमाडौँ । गीतकार विदुरराज गिरीले नेपाली सेनाको देश र जनताप्रतिको निस्वार्थ सेवाभावलाई केन्द्रमा राखी तयार पारेको भावनात्मक गीत ‘राष्ट्रसेवक सिपाही’ सार्वजनिक गरेका छन्।
गीतले देश र जनताप्रति समर्पित नेपाली सेनाको त्याग, साहस र जिम्मेवारीको भावनालाई कलात्मक ढंगले अभिव्यक्त गरेको छ। जहाँ जस्तोसुकै चुनौती आए पनि घर–परिवारको माया मनमा राख्दै दिनरात मातृभूमिको सेवामा समर्पित रहने सेनाको जाँगर र आत्मबललाई गीतले मार्मिक रूपमा प्रस्तुत गर्छ।
गीतमा राजकुमार आले मगर र प्रमिला बानियाँको सशक्त स्वर रहेको छ। गीतको एरेञ्ज र कम्पोज विशेष पौडेलले गरेका हुन् भने कुमार थापाले मिक्सिङ र मास्टरिङ गरेका छन्। संगीत संयोजनमा लय र भावको गहिरो सन्तुलन राखिएको छ, जसले गीतलाई भावनात्मक र देशभक्तिपूर्ण बनाएको छ।
गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ। भिडियोमा दिक्पाल कार्की र साक्षी लम्सालले मन छुने अभिनय प्रस्तुत गरेका छन्। साथै बाल कलाकार सम्भव राज गिरी र वैभव राज गिरीले पनि सशक्त अभिनयमार्फत गीतको भावनालाई अझ सजीव बनाएका छन्। भिडियोको निर्देशन उमेश गुरुङले गरेका हुन्।
गीतकार विदुरराज गिरीका अनुसार, “यो गीत नेपाली सेनाप्रति सम्मान प्रकट गर्ने सानो प्रयास हो। सेनाको अनुशासन, समर्पण र राष्ट्रप्रतिको निष्ठा हाम्रा लागि सधैं प्रेरणाको स्रोत हुन्।”
‘राष्ट्रसेवक सिपाही’ले नेपाली सेनाको गौरवशाली भूमिका र आम नेपालीको माया र सम्मानलाई एकैसाथ जोड्ने प्रयास गरेको छ। गीतले देशभक्तिलाई भावनासँग जोड्दै राष्ट्रसेवकहरूको निस्वार्थ समर्पणप्रतिको कृतज्ञता प्रकट गर्छ।




































