जोडिनुहोस
  • होमपेज
  • विपिन जोशीको परिवार काठमाडौं फर्कियो, शव ल्याउने प्रक्रिया जारी

विपिन जोशीको परिवार काठमाडौं फर्कियो, शव ल्याउने प्रक्रिया जारी

काठमाडौं । इजरायल-हमास युद्धको चपेटामा परी बन्धक बनाइएका र पछि युद्धमा नै निधन भएका नेपाली युवा विपिन जोशीको आमा पद्मा र बहिनी पुष्पा आज बिहान काठमाडौं आइपुगेका छन् । कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरूले विपिनको अवस्था पत्ता लगाउन र उनको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय स्तरमा दबाब सिर्जना गर्ने उद्देश्यले इजरायल हुँदै अमेरिकाको यात्रा गरेका थिए ।

विपिनकी आमा र बहिनी अमेरिकामा रहेकै बेला हमासले विपिनको युद्धमा मृत्यु भएको घोषणा गर्दै उनको शव इजरायललाई हस्तान्तरण गरेको थियो । हाल विपिनको शव नेपाल ल्याउने प्रक्रिया अघि बढिरहेको छ, जसका लागि सरकारी स्तरबाट पहल भइरहेको बुझिएको छ ।

इजरायल सरकारले नै विपिनको परिवारको अमेरिका/इजरायल र नेपाल आउ(जाउको सम्पूर्ण व्यवस्थापन मिलाएको थियो ।

दुई वर्षअघि इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गाजा क्षेत्रको सिमाना नजिकैको किबुत्ज सहरमा रहेका १७ जना नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिन जोशीलाई हमासले बन्धक बनाएर राखेको थियो ।

लामो समयको अनिश्चितता र आशा पछि, अन्ततः विपिनको निधनको खबरले परिवार र राष्ट्रलाई स्तब्ध बनाएको छ । विपिनको पार्थिव शरीर नेपाल ल्याएपछि राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने तयारी भएको बताइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका