देश
भारत र नेपालको ऊर्जाक्षेत्र सहकार्य सुदृढ गर्न सम्झौता, इनरुवा–पूर्णिया र लाम्की–बरेली प्रसारण लाइन बन्ने

नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङ र भारतका विद्युत तथा आवासमन्त्री मनोहर लालबीच बुधबार नयाँ दिल्लीमा ऊर्जाक्षेत्र सहकार्य सुदृढीकरणबारे महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। बैठकमा दुई देशबीच चलिरहेका ऊर्जा परियोजनाको प्रगति, जलविद्युत विकास र क्षेत्रीय ग्रिड कनेक्टिविटी विस्तारका विषयमा रणनीतिक छलफल गरिएको थियो।
दुवै मन्त्रीको उपस्थितिमा भारतको पावरग्रिड (POWERGRID) र नेपाल विद्युत प्राधिकरण (NEA) बीच दुईवटा संयुक्त लगानी सम्झौता (Joint Venture & Shareholders’ Agreement) हस्ताक्षर भएका छन्। सम्झौताअनुसार नेपाल र भारतमा छुट्टाछुट्टै संयुक्त लगानी कम्पनी गठन गरी दुईवटा उच्च भोल्टेज प्रसारण लाइन निर्माण गरिनेछ — इनरुवा (नेपाल)–नयाँ पूर्णिया (भारत) ४०० केभी दोहोरो सर्किट प्रसारण लाइन र लाम्की (डोडोहरा) (नेपाल)–बरेली (भारत) ४०० केभी दोहोरो सर्किट प्रसारण लाइन।

यी प्रसारण प्रणाली सम्पन्न भएपछि नेपाल र भारतबीच विद्युत आदान–प्रदान क्षमतामा उल्लेखनीय वृद्धि हुनेछ। यसले क्षेत्रीय ऊर्जा सुरक्षा मजबुत पार्ने, विद्युत ग्रिडलाई अझ स्थायित्व दिने र दुवै देशको आर्थिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
आजको भेटवार्ताले भारत–नेपाल ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउँदै दुई देशबीचको दीर्घकालीन कूटनीतिक सम्बन्ध र दिगो ऊर्जा विकासप्रति साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको बताइएको छ।





































