जोडिनुहोस
  • होमपेज
  • माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिह्न यथावत् राख्न माग गर्दै आयोगमा निवेदन दर्ता

माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिह्न यथावत् राख्न माग गर्दै आयोगमा निवेदन दर्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नाम, चुनाव चिन्ह, झन्डा र मार्गदर्शक सिद्धान्त ‘माओवाद’ यथावत् राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ।

सहिद सन्तति सन्दीप पुनसहित जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानका नेताहरूले शुक्रबार आयोग पुगेर निवेदन दर्ता गरेका हुन्। अभियानका नेता रजमान तामाङले महाधिवेशनको मिति घोषणा भइसकेकाले हालको नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले दीर्घकालीन असर पर्ने निर्णय गर्न नसक्ने जिकिर गर्दै, पार्टीको पहिचान फ्रिज नगर्न आयोगलाई आग्रह गरिएको जानकारी दिए।

निवेदनमा पार्टीको वर्तमान कार्यसमिति ‘महाधिवेशन आयोजक समिति’ मात्र भएको र विधानअनुसार यसलाई केवल कामचलाउ प्रकृतिको रहेको दाबी गरिएको छ। निवेदनमा भनिएको छ, “उक्त कामचलाउ आयोजक समितिले पार्टी जीवनमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय गर्न सक्दैन। अर्को कुनै पार्टीमा विलय वा मर्ज गर्न तथा चुनाव चिन्ह र पार्टीको दार्शनिक मान्यता माओवाद परित्याग गर्न सक्दैन।”

तामाङले बताए अनुसार पार्टीको नाम, झन्डा र चुनाव चिन्ह ऐतिहासिक जनयुद्ध र हजारौं सहिद, घाइते तथा बेपत्ताहरूको योगदानसँग जोडिएका छन्। यी पहिचानहरू पार्टीको विधान विपरीत गएर कसैले परिवर्तन गर्न नहुने, र आयोग बाहिरी दबाब वा प्रभावबाट प्रभावित नहुने कुरामा निवेदकले जोड दिएका छन्।

निवेदनमा उल्लेख गरिएको छ कि यदि आयोगले पार्टीको पहिचान फ्रिज गरेर चुनावमा भाग लिनबाट वञ्चित गराएमा यसले निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाउनेछ। निवेदनको दर्ता नम्बर ६५३ रहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका