
राँझा (बाँके)। बाँके जिल्लामा निर्माणाधीन हुलाकी सडक पछिल्ला वर्षमा पूर्वपश्चिम राजमार्गको सहज वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ। राप्तीसोनारी गाउँपालिका–६ कुण्डाचोकदेखि अगैया जोड्ने खण्डमा सवारीसाधनको चहलपहल तीव्र रूपमा बढेकाे छ।
नेपालगञ्जबाट दाङतर्फ आवागमन गर्ने यात्रुले हाल यसै मार्गलाई प्राथमिकता दिन थालेका छन्। भेरी बस व्यवसायी सङ्घ नेपालगञ्जका अध्यक्ष जुनबहादुर थापाका अनुसार कोहलपुर हुँदै अगैया पुग्नभन्दा हुलाकी सडक छोटो पर्छ। साथै कोहलपुर–अगैया खण्डमा बाँके राष्ट्रिय निकुञ्जको टाइम कार्ड पालना गर्नुपर्ने भएकाले पनि धेरैले हुलाकी मार्ग रोज्न थालेका हुन्। यसले राप्तीपारिका बिनौना र बैजापुरवासीलाई पनि आवतजावतमा धेरै सहज भएको छ।
फत्तेपुरदेखि बैजापुरसम्म सडक कालोपत्र भएपछि राप्तीसोनारी क्षेत्रका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आवतजावत सजिलो भएको प्रधानाध्यापक चेतबहादुर विष्टले बताए। सडक विस्तारसँगै राप्तीसोनारी–१ देखि ६ का बासिन्दालाई नेपालगञ्ज र गाउँपालिकाको केन्द्र अगैया पुग्न सहज भएको छ।
सडक कालोपत्रसँगै विभिन्न स्थानमा पुल र कल्भर्ट निर्माण पनि सम्पन्न भएको छ। राप्तीसोनारी–७ का वडाध्यक्ष रामलखन थारूका अनुसार हुलाकी सडक बनेसँगै सर्वसाधारणले पूर्वपश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा सहज रूपमा प्रयोग गर्न थालेका छन्। अगैयाबाट बैजापुर, बिनौना, फत्तेपुर हुँदै सोझै नेपालगञ्ज छोटो दूरीमा पुग्न सकिने भएकाले सडकको महत्व अझ बढेको छ।
यसैबीच, राप्ती नदीको सिधनियाघाटमा ११ मिटर चौडाइको पक्की पुल निर्माण तीव्र गतिमा भइरहेको छ। अहिले साँघुरो पुलका कारण सवारीसाधनलाई पालो कुर्नुपर्ने बाध्यता छ। नयाँ पुल बनेपछि नदी कटान र डुबानबाट प्रभावित सडक व्यवस्थित हुने र आवागमन थप सहज हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए। पुल निर्माण ५० प्रतिशतभन्दा बढी प्रगतिमा पुगेको छ।
हुलाकी सडक नेपालगञ्ज–दाङ–पूर्वतर्फ यात्राका लागि प्रभावकारी वैकल्पिक मार्गका रूपमा उभिँदै गएको स्थानीयहरूको भनाइ छ।



































