
काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ। सरकारसँग भएकाे सहमतिपछि महाअभियानले घोषणा गरिएका कार्यक्रम रोकेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि जारी सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गरेका छन्।
वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागबारे विस्तृत छलफल गरिएको र तीमध्ये जायज मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता तथा सहजीकरण गर्दै जाने सहमति भएको विज्ञप्तिमा उल्लेख छ।
सहमतिअनुसार महाअभियानले आजदेखि लागू हुनेगरी घोषणा गरिएको नेपाल बन्द र अनिश्चितकालीन आमहड्ताल फिर्ता लिएर कार्यक्रमहरूलाई शान्तिपूर्ण रूपमा रुपान्तरण गर्ने भएको छ।
यसैगरी, महाअभियानको नेतृत्वसहित अर्को चरणको वार्ता छिट्टै गर्ने समझदारी पनि भएको छ। वार्तामा महाअभियानतर्फबाट सचिव प्रेमदीप लिम्बुको नेतृत्वमा अधिवक्ता विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाईं सहभागी थिए।
यसबीच, महाअभियानका केन्द्रीय पात्र दुर्गा प्रसाईं भने जिल्ला प्रहरी कार्यालय काठमाडौँको हिरासतमा रहेका छन्।






































