
अमेरिकाको कोलोराडोस्थित बोल्डर थिएटरमा आइतबार ८औं एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड सम्मान समारोह तथा सांगीतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भयो। नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र Philip Harmony Orchestra Boulder को संयुक्त आयोजनामा सम्पन्न अवार्ड समारोहमा हल दर्शकहरूले खचाखच भरिएको थियो।

यस वर्षको समारोहमा युवा कलाकार, व्यवसायी तथा समाजसेवी कृष्ण सुनार विशेष रूपमा सम्मानित भए। लामो समयदेखि फिल्म तथा सांस्कृतिक क्षेत्रलाई सहयोग गर्दै आएका सुनार अमेरिकामा बसोबास गरिरहेको भए पनि उनको मन र समर्पण सधैं नेपालकै लागि रहने भन्दै आयोजकहरूले उनको योगदानको उच्च प्रशंसा गरे।

नेपालमा समेत चर्चित कलाकारका रूपमा परिचित कृष्ण सुनार हाल अमेरिकामा रहेर पनि नेपाली फिल्म उद्योगलाई कसरी अझ सशक्त बनाउन सकिन्छ भन्ने सोचका साथ सक्रिय रूपमा लागिपरेको बताइन्छ। उनको निरन्तर सहयोग, सांस्कृतिक योगदान र सकारात्मक दृष्टिकोणलाई अवार्ड समारोहमा विशेष सम्मानद्वारा कदर गरिएको हो।

कार्यक्रमको शुरुआत मातृभूमि नेपाल र संयुक्त राज्य अमेरिका दुवै देशको राष्ट्रिय गान बजाएर गरिएको थियो। प्रमुख अतिथि बोल्डर सिटीका मेयर Aaron Brockett, विशेष अतिथि बोल्डर काउन्टी कमिस्नर Martha Loachamin लगायतका व्यक्तित्वहरूले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरे।

कार्यक्रममा नेपाल, अमेरिकासहित विभिन्न देशहरूमा बसोबास गर्ने नेपाली कलाकारहरूको उल्लेखनीय सहभागिता देखियो। ‘नेपाली फिल्म : भिलेज टु ग्लोबल’ भन्ने नारासहित २०१६ बाट सुरु भएको अवार्डले हरेक वर्षजस्तै यस वर्ष पनि नेपाली फिल्मकर्मीहरूको सम्मान, सम्मान–पुरस्कार तथा योगदानको कदर गर्दै निरन्तरता दिएको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए।





































