राजनीति
कांग्रेसले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने तयारी, पुस २६–२८ को महाधिवेशन अनिश्चित

काठमाडौं ।नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ।
सभापति शेरबहादुर देउवाले शनिबार कार्यबाहक सभापतिसहित पदाधिकारीहरूसँग यस विषयमा छलफल गरेका छन्। छलफलमा कार्यबाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए।
छलफलमा महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने विषय उठे पनि त्यसलाई कसरी अघि बढाउने भन्नेबारे भने कुनै टुंगो नलागेको सहभागी एक सदस्यले बताए।
केही दिनभित्र कार्यसम्पादन समितिको बैठक बोलाइने र सोही बैठकले महाधिवेशनको कार्यतालिका हेरफेरबारे निर्णय गर्ने बताइएको छ।
बैठकमा विधान संशोधनका लागि विधान संशोधन समिति गठन गर्ने सहमति पनि भएको छ। साथै, विभिन्न समयमा अनुशासनको कारबाहीमा परेकाहरूको बाँकी अवधि मिनाहा गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ।
कांग्रेसले यही पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरेको भए पनि हालसम्म क्रियाशील सदस्यता विवादको टुंगो लागेको छैन।





































