जोडिनुहोस
  • होमपेज
  • पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको स्थान हद फुकुवा

पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको स्थान हद फुकुवा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद (आवागमन प्रतिबन्ध) फुकुवा गरिएको छ। जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले सो निर्णय गरेको हो।

आयोगका प्रवक्ता तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माका अनुसार सोमबार बसेको आयोगको बैठकले ओलीमाथि लगाइएको स्थान हद हटाउने निर्णय गरेको हो। यसअघि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका ओलीमाथि आयोगले छानबिनका लागि स्थान हद तोकेको थियो।

गत असोज १२ गते बसेको आयोगको बैठकले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा भएका कामकारबाहीबारे सोधपुछ आवश्यक रहेको भन्दै ओलीलाई विदेश भ्रमणमा रोक लगाउनुका साथै उपत्यका बाहिर जान नपाउने व्यवस्था गरेको थियो।

तर छानबिन प्रक्रिया अन्तर्गत आवश्यक सोधपुछ सम्पन्न भइसकेकाले लगाइएको प्रतिबन्धको औचित्य समाप्त भएको आयोगले जनाएको छ। सोही आधारमा ओलीमाथिको स्थान हद फुकुवा गरिएको प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

May be an image of text

जेनजी छानबिनमा सबैको स्थानहद फुकुवा

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनासम्बन्धी छानबिनमा रहेका सबै व्यक्तिहरूको स्थानहद (आवागमन प्रतिबन्ध) जाँचबुझ आयोगले फुकुवा गरेको छ। यसअघि आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन काठमाडौँ जिल्ला प्रमुख छविलाल रिजाल, नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापालाई असोज १२ गते स्थानहद लगाएको थियो। उनीहरूलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको अनुमति बाहेक काठमाडौँ उपत्यका छोड्न नपाउने व्यवस्था गरिएको थियो।

पूर्वगृहसचिव दुवाडी, पूर्वआईजीपी खापुङ र पूर्वप्रमुख जिल्ला अधिकारी रिजालको स्थानहद फुकुवा पुस ७ गते भएको थियो भने अनुसन्धान प्रमुख थापाको स्थानहद पहिले नै फुकुवा गरिएको थियो। पूर्वगृहमन्त्री लेखकको स्थानहद फुकुवा पुस १७ गते आयोगले गरेको थियो।

यससँगै जेनजी आन्दोलन घटनासम्बन्धी छानबिनमा रहेका सबैका लागि लगाइएको आवागमन प्रतिबन्ध हटेको छ। आयोगले छानबिन पूरा भइसकेको र अब तिनीहरूलाई आफ्नो सामान्य गतिविधिमा सहभागी हुन अनुमति रहेको जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका