
काठमाडौं।देशकै पुरानो र ठूलो प्राज्ञिक संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) फेरि विद्यार्थी आन्दोलनको चपेटामा परेको छ। नेकपा निकट अखिल क्रान्तिकारीले आफ्ना माग सम्बोधन नभएको भन्दै उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा पुगेर उनीहरूको कुर्सीमा आपत्तिजनक शब्द लेखिएका पर्चा टाँसेका छन्।
मानविकी संकायअन्तर्गतका केही विभागको शुल्क घटाउनुपर्ने मागसहित आन्दोलनरत अखिल क्रान्तिकारीले उपकुलपति प्रा.डा. दीपक अर्याल र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालको कार्यकक्षमा ‘म शैक्षिक माफिया हुँ’ र ‘म सहमति कार्यान्वयन नगर्ने अपराधी हुँ’ लेखिएका पर्चा टाँसेको विश्वविद्यालय स्रोतले जनाएको छ।
मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्व–लगानी (सेल्फ सस्टेन) कार्यक्रमका रूपमा सञ्चालित अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य तथा द्वन्द्व, शान्ति र विकास अध्ययनलाई केन्द्रीय विभागमा ल्याउँदा शुल्क घटाउने सहमति भए पनि कार्यान्वयन नभएको विद्यार्थीहरूको आरोप छ। अखिल क्रान्तिकारी त्रिवि समितिका अध्यक्ष दिनेश ऐरले वार्ताका लागि पटक–पटक पहल गर्दा पनि प्रशासनले चासो नदेखाएकाले सांकेतिक विरोध गर्नुपरेको दाबी गरेका छन्। उनका अनुसार विरोध व्यक्ति विशेष होइन, पदाधिकारीहरूको कार्यशैलीविरुद्ध हो।
तर त्रिवि प्रशासनले विद्यार्थीहरूको गतिविधिलाई अमर्यादित भन्दै आपत्ति जनाएको छ। पदाधिकारीको कार्यकक्षमै पुगेर अपमानजनक सामग्री टाँस्नुले विश्वविद्यालयमा काम गर्ने वातावरण बिग्रिएको कर्मचारीहरूको गुनासो छ। एक अधिकारीले नाम नबताउने सर्तमा भने, “यस्ता गतिविधिका कारण कर्मचारी र पदाधिकारी असहज अवस्थामा काम गर्न बाध्य छन्।”
यसअघि पनि सोही समूहले शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको कार्यकक्ष बाहिरको नेमप्लेट हटाउने र तोडफोड गर्ने गतिविधि गरेको थियो। पुस १९ गतेदेखि लगाइएको ताला सर्वोच्च अदालतको आदेश र प्रहरी सहयोगमा हालै खोलिए पनि विद्यार्थी अवरोधका कारण पदाधिकारीहरू नियमित रूपमा कार्यकक्ष जान नसकेको प्रशासनको भनाइ छ।
त्रिवि प्रशासनका अनुसार शुल्क पुनरावलोकनका लागि कार्यदल गठन भइसकेको छ र माग सम्बोधनको प्रक्रिया अघि बढाइएको छ। उपकुलपति अर्यालले समस्या समाधानको चरणमा रहेको बताउँदै आएका छन्। तर विद्यार्थी संगठनले ठोस नतिजा नदेखिएको भन्दै आन्दोलनलाई निरन्तरता दिएका छन्। सर्वोच्च अदालतले तालाबन्दी र शैक्षिक वातावरण बिगार्ने गतिविधि नगर्न अन्तरिम आदेश जारी गरे पनि विश्वविद्यालयभित्र तनावपूर्ण अवस्था कायमै छ।




































