जोडिनुहोस
  • होमपेज
  • पहाडी तथा हिमाली क्षेत्रमा आज होली, भीडभाड र तामझाम नगरी मनाउन आग्रह

पहाडी तथा हिमाली क्षेत्रमा आज होली, भीडभाड र तामझाम नगरी मनाउन आग्रह

फागुपूर्णिमा अर्थात् होली पर्व सोमबार हिमाली तथा पहाडी जिल्लामा मनाइँदै छ ।

हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्‍भावको सन्देश बोकेर आउने प्राचीन परम्परा हो ।

केही वर्षअघिसम्म काठमाण्डु उपत्यका र शहरी क्षेत्रमा उच्छृङ्खल रूपमा मनाइने होली पछिल्लो समय प्रहरीको सक्रियताका कारण सभ्य बन्दै गएको छ । सडकमा हिँड्ने व्यक्तिलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम लगभग बन्द भएको छ ।

फागुपर्वको अघिल्लो दिन सडकमा फोहोर पानी छ्याप्ने गतिविधि पनि देखिएको छैन । सोमबार काठमाण्डुको वसन्तपुरमा गाडिएको चिर विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा लगी जलाउने परम्परा छ ।

चिरमा राखिएका ध्वजापताका औषधोपचारमा उपयोगी हुने विश्वासका साथ लिइन्छ र चिरको खरानी टीका लगाउँदा अनिष्ट टर्छ भन्ने जनविश्वास छ । तराई–मधेस क्षेत्रमा भने मंगलबार होली मनाउने परम्परा छ ।

यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावलाई ध्यानमा राख्दै भीडभाड र तामझाम नगरी होली मनाउन आग्रह गरेको छ ।

यसपालि कुनै संघसंस्था वा कलाकारलाई कन्सर्ट तथा साङ्गीतिक कार्यक्रम गर्न दिइएको छैन ।

प्रहरीले चोक–चोकमा विशेष सुरक्षा व्यवस्था मिलाएको छ । प्रहरीले भिडभाड नगरी होली मनाउन आग्रह गरेको छ । फागुपर्व नेपालका साथै भारत लगायत विभिन्न देशमा फरक–फरक नाम र परम्परामा मनाइन्छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका