जोडिनुहोस

इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन

काठमाडौं– इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।

इरान सरकारले हेलिकप्टरमा सवार राष्ट्रपति रायसीसहित विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल हाशेमको पनि निधन भएको छ ।

हेलिकप्टरमा अंगरक्षक, पाइलट, को-पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू पनि सवार रहेको बताइएको छ ।उद्धार टिमले हेलिकप्टरको पहाडमा ठोक्किएर खसेको अवस्थामा सोमबार बिहान भेटाएको थियो । क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न राष्ट्रपति रायसी आइतबार अजरबैजान गएका थिए ।

उद्घाटनपछि राईसी तबरेज सहरतर्फ लागेका थिए । ताब्रिज इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी हो । यही क्रममा हेलिकप्टर बाटोमा दुर्घटनामा परेको थियो । हेलिकप्टर दुर्घटना भएको क्षेत्र ताब्रिज सहरबाट ५० किलोमिटर टाढा भार्जेकन सहर नजिकै रहेको छ ।

कांग्रेसको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित १५ मिनेटका लागि स्थगित भएको छ।

सभामुखले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै कांग्रेसका सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए । सभामुखले कांग्रेस सांसदहरूलाई बस्न गरेको आग्रह नसुनेर उनीहरू बेल घेर्न पुगेर नाराबाजी गरेका थिए ।

कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेपछि सभामुख घिमिरेले आज प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले विषयसूची अनुसार छलफल र मतदानमा लैजाने वातावरण मनाउन अनुरोध गरे पनि उनीहरुले आसन ग्रहण गरेनन् ।त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं- नेपाली बजारमा सोमबार सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार छापावाला सुन आइतबार एक लाख ४० हजार ९०० सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । जुन हाल सम्मकै उच्च मूल्य हो ।

यस्तै, तेजाबी सुन आइतबार एक लाख ४० हजार दुई सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार एक सय रुपैयाँ निर्धारण गरिएको महांघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले बढेको छ । आइतबार चाँदी एक हजार ९ सय १० रुपैयाँमा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० रुपैयाँ निर्धारण भएको छ ।

प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको नाराबाजी

काठमाडौं- प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नाराबाजीसहितअवरोध सुरु गरेको छ ।

बैठकमा सहकारी पीडितलाई न्याय दे, गृहमन्त्रीलाई कारबाही गर् भन्दै कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका छन् ।यसअघि सभामुख देवराज घिमिरेले संसद्‍मा अवरोध नगर्न विपक्षी दलहरुलाई अनुरोध गरेका थिए ।

सोमबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन लागेकाले संसद्‍मा अवरोध नगर्न आग्रह गरेका थिए । तर कांग्रेसले अवरोध जारी राखेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा नै अबरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउने भन्दै मुलुकको कार्यकारी प्रमुखले बहुमत परीक्षण गर्छु भनेर संसदमा प्रस्ताव गरेको अवस्थालाई सहज बनाउनु पर्ने बताएका थिए ।

इरानको सरकारी टिभीले भन्यो– राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको संकेत छैन

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको कुनै संकेत नभएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ।

सरकारी टिभीले भनेको छ, ‘राष्ट्रपति इब्राहिम राइसीको हेलिकप्टरबाट जीवन आउने कुनै संकेत छैन।’ यता एक इरानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सलेसमेत दुर्घटनामा हेलिकप्टर ‘पूर्ण रूपमा जलेको’ रिपोर्ट गरेको बिबिसीले उल्लेख गरेको छ।

आइतबार राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना भएपछि खराब मौसमका कारण उद्धारमा समस्या भएपछि रुसले विशेष टोली पठाएको थियो। आइतबार खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको बताइएको थियो।

राष्ट्रपति सवार हेलिकप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएको थियो। खराब मौसमका कारण दुर्घटनापछिका अन्य विवरण प्राप्त हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका थिए।

हेलिकप्टरमा विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियानसमेत सहभागी भएको बताइएको छ। ६३ वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा गएका थिए। त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए।

उनको सवारीमा तीनवटा हेलिकप्टर थिए। अन्य दुई हेलिकप्टर सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेको तस्निम समाचार एजेन्सीले जनाएको छ।

संसदीय छानविन समिति कांग्रेसको बटमलाइन

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा दिएको अभिव्यक्तिका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्तिका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यान आकर्षण गराउने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

लेखकले भने, ‘गृहमन्त्री जस्तो जिम्मेवार व्यक्तिले गैरजिम्मेवार ढंगले जसरी आफूलाई प्रस्तुत गर्नुभएको छ यसका बारेमा सम्माननीय प्रधानमन्त्रीजीको ध्यान आकृष्ट गर्ने निर्णय आजको बैठकले गरेको छ ।’ उनले संसदीय छानविन समिति गठन कांग्रेसको बटमलाइन भएको पनि बताए ।

‘संसदीय छानबिन समिति हाम्रो बटमलाइन हो,’ उनले भने, ‘संसदीय समिति बनाउनुस्, रवि लामिछानेमाथि अनुसन्धानको सुनिश्चितता गर्नुस्, प्रधानमन्त्रीज्यू समिति बनाएर सदनमा आउनुस्, विश्वासको मत मात्रै होइन, सरकारका जति पनि कार्यसूची छन् राति १२–१ बजेसम्म सदन चलाउनुस्, हामी तयार छौँ।’

यूएनएफएफमा भारतद्वारा वन संरक्षण, दिगो वन व्यवस्थापनमा प्रतिवद्धता व्यक्त

न्यूयोर्क सन् २०२४ मे ६ देखि १० सम्म न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना भएको संयुक्त राष्ट्र संघको वन फोरम (यूएनएफएफ) को १९ औँ सत्रमा भारतले भाग लिएको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले एक प्रेस विज्ञप्तिमा जानकारी दिएको छ।

सत्रको दौरान, भारतले वन संरक्षण र दिगो वन व्यवस्थापनमा देशको उल्लेखनीय प्रगतिलाई उजागार गरेको छ । विश्वव्यापी रूपमा, सन् २०१० र २०२० बीचको औसत वार्षिक वन क्षेत्रफलमा भारत तेस्रो स्थानमा छ। भारतले जैविक विविधता र वन्यजन्तु संरक्षणमा प्रदान गर्ने उच्च प्राथमिकता राखेको जनाउँदै राष्ट्रिय निकुञ्ज, बाघ आरक्ष, बायोस्फियर रिजर्भ, र अन्य वन्यजन्तु बासस्थानहरूको लागि संरक्षित क्षेत्रहरूको नेटवर्कलाई एक हजारभन्दा बढी वन्यजन्तु अभयारण्यहरूमा विस्तार गरेको छ। ।

यसअघि, अक्टोबर २०२३ मा, भारतले देहरादुनमा अन्तर्गत कन्ट्री लेड इनिसिएटिभको आयोजना गरेको थियो, जसमा ४० देश र २० अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले भाग लिएका थिए र वन आगो व्यवस्थापन र वन प्रमाणीकरणमा छलफल गरेका थिए।

यूएनएफएफले वन फँडानी र वन क्षय रोक्न र भूमि क्षय रोक्नको लागि संयुक्त राष्ट्रसंघको वन रणनीतिक योजनाको कार्यान्वयन र विश्वव्यापी वन लक्ष्यहरू हासिल गर्न तत्काल र तीव्र गतिमा कदम चाल्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व वन महानिर्देशक जितेन्द्र कुमार र भारत सरकारको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका विशेष सचिवले गरेका थिए।

लोकसभा चुनाव : ४९ सिटका लागि राहुल गान्धीसहति ६९५ उम्मेदवार मैदानमा

नयाँदिल्ली – लोकसभा चुनावको पाँचौ चरणको लागि आज बिहान ७ बजेदेखि नै मतदान भइरहेको छ । ६ राज्य र २ केन्द्र शासित प्रदेशको ४९ सिटका लागि मतदान भइरहेको छ । पाँचौ चरणमा काँग्रेस अध्यक्ष राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंहसहितका नेताको प्रतिस्पर्धालाई महत्त्वका साथ हेरिएको छ ।

उत्तर प्रदेशको रायबरेली सिटमा राहुल गान्धी उम्मेदवार छन् । उनी केरलको वायनाड सिटमा पनि मैदानमा छन् । रायबरेली सिट नेहरु–गान्धी परिवारको पारम्परिक सिट मानिन्छ । तर कहिलेकाहीँ भने परिवारले आफनो कोही नजिकैको नातेदारलाई पनि चुनावी मैदानमा उतारेको छ । सन् २००४ देखि सोनिया गान्धी लगातार रायबरेलीबाट सांसद् रहेकी छिन् । २०२४ को लोकसभा चुनाव सुरु हुन अघि नै सांसद् सोनिया गान्धी राज्यसभामा गएकाले यसपाली राहुल गान्धीलाई पार्टीले उम्मेदवार बनाएको छ । अब यो सिटमा राहुल गान्धीका प्रतिस्पर्धी भारतीय जनता पार्टी (बिजेपी)का दिनेश सिंह छन् । अघिल्लो चुनावमा पनि दिनेश नै बिजेपीका उम्मेदवार थिए ।

२०१४ र २०१९ को लोकसभा चुनावमा लखनउबाट निर्वाचित राजनाथ सिंह अहिले रक्षा मन्त्री छन् । उनी फेरि पनि मैदान उत्रिएका छ । यस पटक राजनाथ सिंहविरुद्ध लखनउ सेन्ट्रलका विधायक सामाजवादी पार्टीका नेता रविदास मेहरोत्रा चुनावी मैदानमा छन् । लखनउ सिट बिजेपीको गढको रुपमा लिइन्छ । सोमबार मतदान भएको चुनावमा गान्धी र सिंहबाहेक केन्द्रीय मन्त्री स्मृति इरानी, जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लासमेत कुल ६ सय ९५ उम्मेदवार मैदानमा छन् ।

पाँचौ चरणमा सोमबार महाराष्ट्रका १३, उत्तर प्रदेशका १४, पश्चिम बंगालका सात, बिहार र ओडिशाका ५/५, झारखण्डका ३, जम्मु-कश्मिर र लद्दाखमा एकएक सिटमा गरेर ४९ सिटमा मतदान हुन लागेको हो। पाँचौ चरणको चुनावमा चार करोड २६ लाख महिला र पाँच हजार ४०९ तेस्रो लिंगीसहित कुल आठ करोड ९५ लाखले मतदान गर्दैछन्।

यसअघि भारतमा पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९, तेस्रो चरणमा १२ राज्यको ९४ र चौथो चरणमा १० राज्यका ९६ सिटका लागि मतदान भइसकेको छ .

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपा सांसदलाई ‘ह्वीप’

काठमाडौं– सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरुलाई ह्विप लगाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिन लागेकाले रास्वपाले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको हो । रास्वपाले प्रधानमन्त्रीले लिने विश्वासको मतमा संसदमा अनिवार्य उपस्थित भइ पक्षमा मतदान गर्न निर्देशन गरेको हो ।

‘हाम्रो पार्टी वर्तमान सरकार साझेदारीको एक प्रमुख पार्टी भएकाले पार्टीको ससदीय दलको निर्णय अनुसार बैठकमा अनिवार्य उपस्थिति जनाउन र प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न सम्पूर्ण प्रतिनिधि सभा सदस्यज्यूहरूलाई यो ह्विप जारी गरिएको छ,’ प्रमुख सचेतक सन्तोष परियारद्वारा जारी गरिएको ह्विप पत्रमा भनिएको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने जनमतको निर्णय

काठमाडौं– सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।

प्रधानमन्त्रीले आज प्रतिनिधिसभा बैठकमा लिने विश्वासको मतको पक्षमा मत दिने निर्णय भएको जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहले जानकारी दिइन् । गत फागुन २१ गते कांग्रेस–माओवादी गठबन्धन टुटेर एमाले–माओवादी गठबन्धन बनेपछि प्रतिपक्षमा बस्दै आएको नागरिक उन्मुक्ति पार्टीले अहिले भने विश्वासको मत दिन लागेको हो । संघीय संसदमा जनमत पार्टीका ६ जना सांसद छन् ।

यसअघि जनता समाजवादी पार्टीले दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेपछि जनमत विपक्षमा बसेको थियो । अहिले जसपा सरकारबाट बाहिरिएपछि जनमतले सरकारलाई समर्थन गर्ने भएको हो । सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) गत वैशाख ३१ गते सरकारबाट बाहिरिएसँगै समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी कुनै पनि दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

साउदीलाई अमेरिकाले सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

काठमाडौं– अमेरिकाले साउदी अरेबियालाई सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने भएको छ । साउदी युवराज मोहम्मद बिन सलमान र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानसँगको भेटवार्ता पछि दुई देशबीच सुरक्षा सम्झौता र नागरिक आणविक सम्झौताबारे छलफल भएको थियो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सम्झौता अन्तर्गत अमेरिकाले साउदी अरेबियालाई सुरक्षा र आणविक सहयोग उपलब्ध गराउनेछ । गत वर्ष अमेरिकाले इजरायल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध सुरु गर्न ब्याकडोर वार्ता गरिरहेको थियो ।

यस अवधिमा उनले इजरायललाई मान्यता दिने बदलामा साउदीलाई नेटो स्तरको सुरक्षा उपलब्ध गराउने प्रस्ताव राखेका थिए । यस वर्षको मे महिनाको सुरुमा आएको रिपोर्टमा अमेरिका र साउदी अरेबिया सुरक्षा र आणविक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न निकै नजिक रहेको बताइएको थियो ।

यूएस एटोमिक एनर्जी एक्ट १९५४ अन्तर्गत अमेरिकाले केही सर्तहरूमा अन्य देशहरूलाई आणविक सहायता उपलब्ध गराउन सक्छ। यसका लागि यी देशहरूले ९ शर्त पूरा गर्नुपर्नेछ । यसमा आणविक हतियार बनाउन आणविक प्रविधिको प्रयोग नगर्ने र अन्य कुनै पनि देशसँग गुप्तचर जानकारी आदानप्रदान नगर्ने समावेश छ।

साउदी विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश हो। तर, साउदी युवराजले देशको अर्थतन्त्रको तेलमा निर्भरता घटाउन चाहेका छन् । यसका लागि उनले ‘भिजन २०३०’ योजना पनि बनाएका छन् ।

यस योजनाका लागि साउदी नवीकरणीय ऊर्जा उत्पादन गरेर उत्सर्जन घटाउन चाहन्छ। यो लक्ष्य हासिल गर्न परमाणु ऊर्जा महत्त्वपूर्ण साबित हुनेछ। यसबाहेक साउदीले धेरै पटक इरानले आणविक बम बनायो भने त्यसो गर्न आफैँ पछि नलाग्ने बताएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बाइडेन प्रशासन साउदी अरेबियासँग सम्झौता गरेर इजरायललाई मान्यता दिन चाहन्छ। साउदी र इजरायलबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित भएपछि मध्यपूर्वका अन्य धेरै देशहरूले पनि इजरायललाई मान्यता दिन सक्छन्। यसले अमेरिकालाई इरानविरुद्ध ठूलो गठबन्धन बनाउन मद्दत गर्नेछ।

अर्कोतर्फ चीनसँगको वर्चस्वको लडाइँमा मध्यपूर्वमा अमेरिकाको पकड बलियो हुनेछ । साथै अमेरिकाले साउदीमा आणविक उर्जा केन्द्र निर्माण गर्न त्यहाँ आफ्नो उद्योग स्थापना गर्न सक्नेछ ।

‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’

नवलपरासीको सुनवल नगरपालिकामा पर्ने खोलाहरुमा राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन भएको छ ।

रातदिन मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा निकासी भइरहेको हो  । अहिले हरेक जसो खोलामा एस्काभेटर, जेसिवी र टिप्परको लाइन देखिन्छ । सबै अवैध रुपमा प्राकृतिक स्रोतको दोहनका लागि पुगेका हुन् । जिल्लाको सुनवल नगरपालिकाले राष्ट्रिय गौरवका आयोजनाका नाममा तुरिया खोला, बिसासय खोला, बडेरा खोला लाई अमानतको नाममा विचौलियाहरुलाई जिम्मा दिइएको पाइन्छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन (आइइई) प्रतिवेदनअनुसार ती नदीहरुमा नदीजन्य पदार्थको उत्खनन गर्न ठेक्का लगाइएको भएपनि ती स्थानमा मेसिनको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन भइरहेको छ  । धमाधम एस्काभेटर, जेसिवी र टिप्परहरुले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेका छन् । ती नदीहरुमा सयौँ टिप्परको लाइन दिनहुँ नै देखिन्छ । स्थानीय निकायहरुले नदी अमानत दिँदा मेसिनको प्रयोग गर्ने, नदीजन्य पदार्थ उठाउने सम्झौता गरिएको थियो । तर एस्काभेटरले जातततै नदीमा उत्खनन गरेको पाइएको छ ।

अवैध उत्खननले सिंचाई कुलोहरू समेत भासिन थालेको स्थानीय किसानको गुनासो छ । नदीको बहाव अर्कैतिर मोडिएर गाउँबस्ती जोखिममा पर्नाका साथै खेतीयोग्य जमिनसमेत जोखिममा परेको स्थानीयवासी बताउछन् । जथाभावी मेसिन प्रयोग हुँदा नदी अर्कैतिर जाने र यसका कारण वर्षा याममा नदी गाउँमा पस्ने जोखिम बढेको स्थानीयको भनाइ छ ।

आयोजनालाई नगरले अमानतको नाममा खोला त जिम्मा दिएको छ तर विचौलियहरुले ढुवानीको जिम्मा पाएकाले आफ्नै घाटगद्दिमा लाएको पाइएको छ । व्यक्तिको नाममा समेत रसिद काटेको देख्न सकिन्छ । यस विषयमा अनुगमानकारी निकाय मौन छ ।