जोडिनुहोस

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौँ। विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।

विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ । “विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ ।सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ, ” बुलेटिनमा भनिएको छ ।

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साथै विभागले तातो लहरको असरबाट बच्न गर्मीको समयमा घरभित्र नै रहन, घरबाहिर नजान, हलुका र सुतीका कपडा लगाउन, घरबाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित र पटक –पटक पानी तथा झोल पदार्थ पिउने सुझाव दिएको छ ।

तातो हावा तथा तातो लहर (लू)बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ता हुनसक्ने भएकाले लूबाट बच्न सुझाएको छ ।

आज २०८१ साल जेठ ३ गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः समय राम्रो छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। सामाजिक र पारिवारिक क्षेत्रमा सम्मान बढ्नेछ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः खर्च बढ्नेछ। बोलीको प्रभावले अवसर सिर्जना हुनेछन्। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापार र शिक्षा क्षेत्रमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः गुरुको सहयोगले सफलता मिल्नेछ। लगानी गरेको भए शिक्षा क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारको साथ प्राप्त हुनेछ। परीक्षा लेखेको भए सफलता मिल्नेछ।

कर्कटः आम्दानीको स्रोत बढ्नेछ। प्रतिस्पर्धी शान्त रहनेछन्। लगानी गर्न आँट गरेमा सफलता प्राप्त होला। परिवारको सहयोग भए व्यापारमा फाइदा हुन्छ। शिक्षामा सफलता मिल्नेछ।

सिंहः दैनिकी राम्रो छ। प्रतिस्पर्धी कमजोर बन्नेछन्। विदेश यात्रा सफल बन्नेछ। राजनीतिमा खटपटी हुनसक्छ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। परिवारभित्र मेलमिलाप हुनेछ। राजनीतिक क्षेत्रमा तनाव बढ्ने देखिन्छ।

कन्याः श्रम गर्दै हुनुहुन्छ भने मेहनत आवश्यक देखिन्छ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। आम्दानी बढ्ने देखिन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ भने वैदेशिक क्षेत्रमा झुक्याउने मान्छे धेरै भएकाले सचेत बन्नुपर्ने देखिन्छ।

तुलाः दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। श्रममा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढे सफलता मिल्नेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ।

वृश्चिकः गुरुको साथ र सहयोग प्राप्त हुनेछ। साथी सकारात्मक भएकाले दिन रमाइलो हुनेछ। लगानी भए स्वास्थ्य क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ।

धनुः जीवन सहज बन्नेछ। आम्दानीका क्षेत्र धेरै देखिन्छन्। शेयर कारोबारमा फाइदा हु्ने योग छ। वैदेशिक लगानीबाट उत्साह बढ्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः काम गर्ने ठाउँमा विवाद हुनसक्छ। आफन्तबाट काममा अवरोध हुने जोखिम देखिन्छ। वैदेशिक लगानीबाट सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्य खराब बन्ने देखिन्छ।

कुम्भः मन भारी हुनेछ। आफूले गरेका राम्रा कामको जस अरुले लिनेछन्। तपाईंले मेहनत गरे पनि फाइदा अरुले लिने देखिन्छ। उद्योग धन्दामा ठुलो लगानी नगर्नु राम्रो हुनेछ।

मीनः संघर्षपूर्ण समय छ। जति काममा व्यस्त भए पनि आम्दानी घट्ने समय छ। कुरा काट्ने सक्रिय छन्। लगानीका क्षेत्र सामान्य भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

सातामा ५२ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं–यो साता नेपाल स्टक एक्चेञ्ज ९नेप्से० मा उत्साह देखिएको छ । सातामा पाँचै दिन कारोबार हुँदा एक दिन ९ अंकले बजार घटेको छ भने अन्य ४ दिन बजार बढेको छ । समग्रमा नेप्से सातामा ५२।५३ अंकले बढेको छ ।

गत हप्ताको बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक १९६६।२३ विन्दु कायम रहेको थियो भने यस साता बढेर परिसूचक २०१८।७६ विन्दु कायम भएको छ ।

कारोबारको हिसाबले २ दिन ४ अर्ब माथिको कारोबार भएको छ भने २ दिन ३ अर्ब माथिको कारोबार भएको छ । एक दिन भने २ अर्ब बढी करिब ३ अर्बको कारोबार भएको छ ।

कारोबार र नेप्से परिसूचकको हिसाबले यो सता नेप्से बुल ट्रेन्डमा रहेको देखिएको छ । नेप्से परिसूचक २ हजार माथि पुगेर नेप्सेको मनोवैज्ञानिक रेखा पार गरेसँगै बजारमा उत्साह पनि थपिएको छ ।

एक वर्ष यता नेप्से १८०० देखि २२०० को बीचमा घुमिरहेकाले अब नेप्सेले बुल ट्रेन्ड समात्ने वा वियर ट्रेन्ड के समात्ने हो त्यो त्यसै भन्न सकिने अवस्था भने छैन । यो साता बजारले सकारात्मक रूप लिएको बजारका जानकारहरू बताउने गरेका छन् ।

साताको पहिलो नेप्से बढेर साताको स्वागत गरेको थियो । आइतबार नेप्से ८।२६ अंकले बढेर १९७२।५० विन्दु कायम भएको थियो ।

आइतबार ३ अर्ब ११ करोड ८८ लाख ७४ हजार रुपैयाँ बराबरको ६८ लाख १८ हजार ४४९ कित्ता शेयर ४९ हजार २११ पटक किनबेच भएको थियो ।

आइतबार नेप्से परिसूचक उच्चतम १९८१।७९ र न्यूनतम १९६१।८९ विन्दुसम्म पुगेको थियो । आइतबार १२७ कम्पनीको शेयर मूल्य बढ्दा १११ कम्पनीको शेयर मूल्य घटेको थियो । ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।

गत हप्ताको अन्तिम दिन अर्थात् बिहीबार बाट बढ्न सुरु भएको शेयर बजार लगातार ३ दिन अर्थात् सोमबार पनि बढेको थियो । आइतबार ८ अंकले बढेको नेप्से सोमबार दोबरले अंक २४।३९ अंकले बढ्यो ।

सोमबार बजार बन्द हुँदासम्म नेप्से १।२३ प्रतिशतले बढेर १९९८।८९ विन्दु पुग्यो । सोमबार नेप्से उच्चतम विन्दुमा पुग्दा मनोवैज्ञानिक रेखा समेत पार गरेको थियो । उक्त दिन नेप्से उच्चतम २०००।५५ र न्यूनतम १९७०।५४ विन्दुमा पुगेको थियो ।

सोमबार नेप्से भारी अंकले बढ्दा पनि कारोबार भने त्यति ३ अर्ब पुग्न सकेन । २ अर्ब ९६ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको ७० लाख ७३ हजार ८६४ कित्ता शेयर ४५ हजार २४५ पटक किनबेच भएको थियो । सोमबार १४८ कम्पनीको शेयर मूल्य बढेको थियो भने ८५ कम्पनीको शेयर मूल्य घटेको थियो । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको थियो ।

शेयर बजारको बुल ट्रेन्ड मंगलबार पनि निरन्तरता पायो । गत बिहीबार ५ अंकले बढ्न सुरु भएको नेप्से मंगलबार एकै दिन २८।६२ अंकले बढ्यो । मंगलबार नेप्से १।४३ प्रतिशतले बढेर २०२७।५१ विन्दुमा कायम भयो । मंगलबार नेप्से उच्चतम २०२७।५९ विन्दु र न्यूनतम १९९९।१४ विन्दुसम्म पुगेको थियो ।

मंलबार नेप्से परिसूचकसँगै करोबारमा पनि उछाल आएको थियो । मंलबार ४ अर्ब माथिको कारोबार भयो । उक्त दिन ४ अर्ब १ करोड ३३ लाख ११ हजार रुपैयाँ बराबरको ८६ लाख ८५ हजार ७४८ कित्ता शेयर ५९ हजार ३०० पटक किनबेच भयो ।

मंगलबार २१९ कम्पनीको शेयर मूल्य बढेको थियो भने २२ कम्पनीको शेयर मूल्य घटेको थियो । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।

नेप्सेको बुल ट्रेन्डमा बुधबार भने ब्रेक लाग्यो । निरन्तर बढी रहेको नेप्से बुधबार भने ९।५४ अंकले घट्यो । बुधबार नेप्से ०।४७ प्रतिशतले घटेर २०१७।९७ विन्दुमा कायम भयो । उक्त दिन नेप्से परिसूचक उच्चतम २०४८।२९ र न्यूनतम २०१२।५६ विन्दुसम्म पुगेको थियो ।

बुधबार बजार घटेसँगै मंगरबारको तुलनामा कारोबार पनि घट्न पुग्यो । बुधबार ३ अर्ब ६८ करोड ८१ लाख ३१ हजार रुपैयाँ बराबरको ७८ लाख ८७ हजार ९ कित्ता शेयर ५५ हजार ३८५ पटक किनबेच भयो । उक्त दिन ६८ वटा कम्पनीको शेयर मूल्य बढेको थियो भने १७२ वटा कम्पनीको शेयर मूल्य घटेको थियो । ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।

बिहीबार नेप्से अन्तिम २ मिनेटमा झिनो अंकले बढ्यो । बिहीबार नेप्से ०।७९ अंकले बढेर २०१८।७६ विन्दु कायम रह्यो । साताको अन्तिम दिन नेप्सेको कारोबारको हिसाबले भने लगानीकर्ताको उत्साह देखियो । बिहीबार ४ अर्ब २३ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर ५७ हजार २१८ पटक किनबेच भयो ।
बिहीबार ३१५ कम्पनीको शेयर कारोबार हुँदा १०३ कम्पनीको शेयर मूल्य बढ्यो भने १३९ कम्पनीको शेयर मूल्य घट्यो । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक शुक्रबारसम्म स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

बिहीबार बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रमका विषयमा राष्ट्रपतिलाई धन्यवाद दिने महत्वपूर्ण कार्यसूची रहेकाले सहज रुपमा बैठक सञ्चालन गर्न आग्रह गरेका थिए । तर कांग्रेस सांसदहरुले सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै उठेर विरोध जनाएका थिए ।

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष दाहालले भोलिसम्मका लागि बैठक स्थगित गरेका छन् ।

मोदीविरुद्ध उम्मेदवारी दिएका हास्यकलाकार श्याम रंगीलाको मनोनयन खारेज

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उम्मेदवारको मनोनयन दर्ता गरेका हास्यकलाकार तथा मिमिक्री कलाकार श्याम रंगीलाको उम्मेदवार खारेज भएको छ ।

निर्वाचन आयोगले रंगीलाको मनोनयन दर्ताको प्रक्रिया नपुगेको भन्दै उम्मेदवारी दर्ता खारेज गरेको हो । भारतीय मिडियाहरूले उनको उम्मेदवारी अस्वीकृत भएको बताएका छन् । उम्मेदवारी खारेज भएपछि श्याम रंगीलाले उम्मेदवारीको क्रममा आफूले शपथ फर्म पूरा नगरेको भन्दै उम्मेदवारी खारेज गरिएको बताएका छन् ।

यद्यपि, उनले आफू पहिलो पटक चुनाव लडेको र सम्पूर्ण प्रक्रियाअनुसारका कागजात बुझाएको पनि दाबी गरे । उनको उम्मेदवारी दर्ता गर्ने क्रममा पनि आयोगले सहयोग नगरेको र एक दिनपछि मात्र मनोनयन दर्ताको फर्म बुझेको आरोप लगाएका थिए ।

एक पटक बोल्न पाउँ: गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसको मागलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् लामिछानेले लेखेका छन्, ‘एक पटक बोल्न पाउनु पर्‍यो । त्यत्ति हो मागेको।’ उनले मिडियालाई पनि आरोप लगाएका छन् । उनले भनेका छन्, ‘यति घिन लाग्दो मिडिया ट्रायल?।’

यता कांग्रेसले लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संघीय संसद्को दुवै सदनको बैठक अवरोध गर्दै आइरहेको छ । यसअिघ लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने माग गर्दै सभामुखलाई पत्रसमेत पठाएका थिए ।

आज पनि दलहरूबीच सहमति जुट्न सकेको छैन । सहमति नजुट्दा ४ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै सञ्चालन हुन सकेको छैन ।

अहिले सभामुख देवराज घिमिरे र प्रमुख दलहरूबीच छलफल जारी नै छ । कांग्रेसले गृहमन्त्रीले सम्बोधन गरिसकेपछि आफूहरूले बोल्न पाउनुपर्ने अडान राखेको छ । जसमा सत्ता पक्ष र प्रतिपक्षीबीच सहमति जुट्न सकिरहेको छैन ।

कोदालो प्रहारबाट एक जनाको मृत्यु

सिरहा– सिरहाको अर्नमा गाउँपालिमा जग्गाको विषयमा विवादको क्रममा आफ्नै छिमेकीले कोदालो प्रहार गर्दा एक जनाको मृत्यु भएको छ।

अर्नमा २ ब्रहमपुरिका करिब ५५ वर्षीय बुधराम महतो र बचाई महतोबीच आज बिहान खेतको सीमाना विवादका क्रममा कोदालो प्रहारबाट घटनास्थलमै बुधराम महतोको मृत्यु भएको हो। लामो समयदेखि जमिन विवादमा रहेका उनीहरु आज बिहान खेतमै भेट भएको बेला विवाद चर्किएर कोदालो प्रहार गर्दा बुधरामको मृत्यु भएको वडा अध्यक्ष दिपेन्द्र महतोले जानकारी दिए।

हत्या घटना लगत्तै बचाई फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले अहिले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

पूर्वप्रधानसेनापति थापाको निधन

काठमाडौं– नेपाली सेनाका पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ।

८५ वर्षीय थापाको बिहीबार छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि थापालाई दुई दिनअघि अस्पतालमा भर्ना गरिएको थियो। थापा २०५२ जेठ १ देखि ०५६ जेठ १ सम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए।

सभामुख र शीर्ष नेता छलफलमा, गृहमन्त्रीपछि बोल्न पाउनुपर्ने कांग्रेसको अडान

काठमाडौं- सहकारी प्रकरणमा छानबिनका लागि संसदीय बनाउने करामा दलहरू सहमतिनजिक छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राखेका अडानमा सत्ता पक्ष लचिलो भए अझै कुरा मिल्न सकेको छैन । अहिले दलहरूबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोलिसकेपछि कसले बोल्ने भन्नेमा कुरा मिल्न बाँकी छ ।

कांग्रेसले गृहमन्त्रीले सम्बोधन गरिसकेपछि आफूहरूले बोल्न पाउनुपर्ने अडान राखेको छ । जसमा सत्ता पक्ष र प्रतिपक्षीबीच सहमति जुट्न नसकेको हो । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दलहरूले सहमति खोज्न थालेपछि अपरान्ह ४ बजेसम्मलाई सारिएको थियो ।

तर अझै पनि दलहरूले ठोस सहमति गर्न नसकेका हुन् । गृहमन्त्री लामिछाने बोलेर कांग्रेस बोल्ने र त्यसपछि छानबिन समिति गठन हुनुपर्ने सत्ता इतरहका दलको अडानमा कुरा नमिलेको हो ।

गृहमन्त्री लामिछाने र सत्तारुढ एमालेले कांग्रेसको त्यस मागमा सहमति जनाइसकेका छैनन् । एमाले र रास्वपाले गृहमन्त्री बोलेपछि छानबिन समिति बन्ने अडान राख्दै कांग्रेसले बोल्न नमिल्ने बताइरहेका छन् ।

यसै विषयमा संसदीय दलका शीर्ष नेताहरू, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डक र सभामुख देवराज घिमिरे अहिले छलफलमा रहेका छन् ।

जसपा नेपाल मधेश प्रदेशको संसदीय दलको बैठक सम्पन्न

जनकपुरधाम– मधेस सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र अलग्गिएपछि पहिलो पटक जसपा नेपाल मधेश प्रदेशको संसदीय दलको बैठक बसेको छ ।

प्रदेशको मुख्यमन्त्री निवासमा भएको संसदीय दलको बैठकमा पूर्व मुख्यमन्त्री लालबाबु राउत बाहेक सबै सांसद उपस्थित रहेको जसपा नेपालका प्रमुख सचेतक राम आशिष यादवले बताए ।

उनले काम विशेषले पूर्व मुख्यमन्त्री राउत बाहिर रहेकाले दलको बैठकमा उपस्थित हुन नसकेको बताए ।

उनले यस अघिको बैठकमा अलिअलि असन्तुष्टि र नोकझोक पनि हुने गरेको तर आजको बैठकमा सबैजनाको एकमत र सौहार्द्रपूर्ण वातावरण रहेको समेत बताए ।

यस्ता छन् बैठकका निर्णयहरु

-मधेश सरकारको नेतृत्वमा रहिरहने र त्यसका लागि बिश्वासको मत निर्धारित ३० दिनको समय भन्दा पनि अगावै लिने ।

– षडयन्त्र तहत फुटाइएको पार्टीको हकमा स्र्वोच्च अदालतको निर्णय निर्वाचन आयोग माथी प्रश्न चिन्ह उभ्याएकाले सकारात्मक र अवसरको रुपमा लिदै पार्टीमा भएको फुट गलत र अवैधानिक रहेको पुष्टी गर्न सबै शक्ति लगाउने र त्यसमा मधेशबाट साथ दिने ।

– मधेशका सबै सांसद एक ढिक्का भएर पार्टी नेतृत्वलाई आत्मबल दिदै पार्टी बचाउन आ आफनो तवरबाट सक्रिय हुने ।

-अगामि जेठ २८ देखि ३० गते सम्म तोकिएकोे महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने र त्यसका लागि सबैजना आ आफनो तर्फबाट सहयोग र भुमिका निर्वाह गर्ने ।

– निति तथा कार्यक्रममा कस्ता योजना समावेश हुनुपर्छ भन्ने सवालमा पार्टीका सबै सांसदहरुले लिखित रुपमै संसदिय दललाई सुझाव दिनुपर्ने ।

दलहरूबीच सहमति जुटेन, कांग्रेसले संसद् अवरोध गर्ने

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज पनि संसद् बैठक अवरोध गर्ने भएको छ ।

दलहरूबीच सहमति नजुटेपछि आज पनि संसद् अवरोध गर्ने तयारी रहेको कांग्रेस सांसद प्रतिमा गौतमले बताएकी छन् ।कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति बने मात्रै संसद् अघि बढ्न सक्ने अडान लिएको छ ।

सरकार गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने बताएको हो । अहिले केही बेरमा प्रतिनिधि सभाको बैठक बस्दै छ ।

यसअघि पनि सहमतिको प्रयास असफल भएकै कारण बिहान ११ बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक भएको थियो ।

अन्तिम २ मिनेटमा झिनो अंकले बढेर बन्द भयो नेप्से, कारोबार ४ अर्बभन्दा माथि

काठमाडौं–बिहीबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा झिनो अंकले बढेको छ । बिहीबार कारोबार बन्द हुँदा नेप्से ०.७९ अंकले बढेर २०१८.७६ बिन्दु कायम भएको छ ।

साताको अन्तिम दिन नेप्सेमा बारोबारको हिसाबले लगानीकर्ता उत्साहित देखिएका छन् । आज ४ अर्ब २३ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर ५७ हजार २१८ पटक किनबेच भएको छ ।

आज ३१५ कम्पनीको शेयर कारोबार हुँदा १०३ कम्पनीको शेयर बढेको छ भने १३९ कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ ।

सेन्सेटिभ इन्डेक्स ०.२७ अंकले र सेन्सेटिभ फ्लोट इन्सेक्स ०.१५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.०३ अंकले घटेको छ ।

उपसमूहमा भने अधिकांश समूहको शेयर मूल्य घटेको छ । १३ वटा समूहमध्ये लघुवित्त र अन्य समूहको शेयर बढेको छ । अन्य सबै समूहको शेयर मूल्य घटेको छ ।

हिमालय, जाल्पा सामुदायक, श्रृजनलशील र स्वाभिमान लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सीईडीबी हाइड्रोपावर ९.५१ प्रतिशतले र ग्लोबल आईएमई लघुवित्तको ९.०३ प्रतिशतले शेयर मूल्य बढेको छ ।