जोडिनुहोस

कांग्रेसले गिरीबन्धु टि-स्टेट प्रकरण पनि संसद्‍मा उठाउने

काठमाडौं- सहकारी प्रकरणमा संलग्न भनिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग गर्दै आएको नेपाली कांग्रेसले गिरीबन्धु टि स्टेटको मुद्दा पनि उचाल्ने तयारी गरेको छ ।

संसदीय छानबिन समिति गठनमा सरकारले सरकारले अनिच्छा देखाइरहेका बेला दबाब बढाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको गिरीबन्धु टि स्टेट बिक्री प्रकरणलाई पनि कांग्रेसले मुख्य मुद्दा बनाउन लागेको हो ।

प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकबारे छलफल गर्न मंगलबार बसेको संसदीय दलको बैठकमा कांगेसले गिरीबन्धु टि स्टेटलाई संसद्मा उठाउन आन्तरिक छलफल गरेको छ ।

बैठकको सुरुवातमै महामन्त्री गगन थापाले गिरीबन्धु टि स्टेट प्रकरण र सर्वोच्च अदालतले गरेको फैसलाबारे संसदीय दलको बैठकमा ब्रिफिङ गरेका थिए । बैठकमा सहभागी सांसदहरुका अनुसार उनले गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी निर्णय गर्ने तत्कालीन सरकारका जिम्मेवार अधिकारीमाथि कारबाही हुनुपर्ने कुरा कांग्रेसको अबको एजेन्डा हुनुपर्ने बताए ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको बैठकमा गिरीबन्धु टि स्टेटको विषय प्रवेश गरेको पुष्टि गरे उनले गिरीबन्धु टि स्टेट प्रकरण र अदालतको फैसला अध्ययन गरेर पार्टीको धारणा सार्वजनिक गर्ने पनि बताए । संसदीय दलको आगामी बैठकमा गिरीबन्धु टि स्टेटको विषयमा धारणा बनाइने लेखकले बताए ।

‘संसदीय दलको बैठकमा गिरीबन्धु टि स्टेटको विषय प्रवेश गरेको छ। अहिले पछिल्लो समयमा सम्मानीत अदालतबाट फैसला पनि भएको अवस्था छ,’ उनले भने, ‘यो विषयलाई हामी सबै कोणबाट अध्ययन गरेर अर्को बैठकमा धारणा बनाएर सार्वजनिक गर्छौँ ।’

सर्वोच्च अदालतले गत माघमा फैसला गरेको झापाको गिरीबन्धु टि स्टेटको जग्गासम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नैतिक संकटमा छन् ।

गिरीबन्धुको फैसलामा ओलीलाई दोषी भने देखाइएको छैन। तर, सरकारले २०२९ सालमा झापाको गिरीबन्धु टी स्टेटलाई चिया बगान सञ्चालन गर्न दिएको करिब ५ सय रोपनी जग्गा सट्टाभर्नाका नाममा बेचबिखन गर्न दिने नीतिगत निर्णय गरेकाले अध्यक्ष ओलीमाथि प्रश्न उठेको छ ।

ओली प्रधानमन्त्री भएका बेलामा सरकारले भूमि ऐनको कानूनी प्रावधानसमेत सच्याएर गिरीबन्धुलाई जग्गा सट्टापट्टा गर्न दिने निर्णय गरेको थियो । त्यो निर्णय गराएवापत ओली क्याबिनेटका एक मन्त्रीले आर्थिक लाभसमेत लिएको र त्यही लाभबाट काठमाडौंमा घर किनेको चर्चा चले पनि यसबारे छानबिन भएको छैन ।

त्यसबेला भूमिसुधार मन्त्रालयका सचिवले प्रस्ताव तयार पार्न नमान्दा उनलाई हटाएर टेकनारायण पाण्डेलाई ल्याएर काम फत्ते गरिएको थियो । त्यसपछि गृहसचिव बनेका पाण्डे नक्कली भुटानी प्रकरणमा जेलमा छन् ।

जीबी राईको राहदानी रोक्का गर्न प्रहरीले अघि बढायो प्रक्रिया

काठमाडौं- बुटवल, पोखरा र चितवनसहितका स्थानमा ठूला सहकारी संस्था खडा गरी करोडौं ठगीको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) को राहदानी रोक्का गर्न प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएपछि फरार रहेर विदेशमा लुक्दै आएको भनिएका उनको राहदानी रोक्काका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्षसमेत रहेका जीबी अर्बौं ठगेर भागेको आरोप लागिरहेकाले बेला प्रहरीले उनलाई नेपाल झिकाउने प्रक्रियाका लागि राहदानी रोक्का अघि बढाएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् एसएसपी दानबहादुर कार्कीले जीबीलाई नेपाल झिकाउनका लागि उनको नाममा जारी भएको राहदानी रोक्का प्रक्रिया अघि बढाइएको बताएका छन्। प्रहरीको खोजी सूचीमा रहेका उनी मलेसियामा लुकेर बसिरहेको बताइन्छ । सहकारी प्रकरणमा जीबीसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मुछिएका छन् ।

उनीमाथि छानबिन माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदनमा अवरोध गरिरहेको छ ।गोर्खा मिडिया नेट्ववर्कका अध्यक्षसमेत रहेका जीबी र प्रबन्ध निर्देशक रहेका रविले सहकारीको पैसा ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको आरोप लागिरहेको छ ।

गृहमन्त्री हुनुअघि रविले उनलाई आफूले जिम्मेवारी पाए २४ घण्टाभित्र झिकाउने बताउँदै आएका थिए । तर रविले दुई दिनअघि चितवनमा पुगेर जीबीलाई अघिल्लो सरकारले भगाएको विवादित अभिव्यक्ति दिए । जसलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुतर्तको संज्ञा पनि दिएका छन् ।

जीबीको खोजीका लागि यसअघि नै इन्टरपोलबाट डिफ्युजन र रेड नोटिस जारी भएको छ। जीबीलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री लामिछानेको विरोध भइरहेको छ ।

बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा

काठमाडौं- बंगलादेशले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि बंगलादेशले नजमुल हुसेन शान्तोको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । बंगलादेशको विश्वकप खेल्ने टिम- नजमुल हुसेन शान्तो (कप्तान), तस्किन अहमद, लिट्टन दास, सौम्य सरकार, तान्जिद हसन तमिम, शकिब अल हसन, तौहिद ह्रिदोय, महमुदुल्लाह रियाद, जाकेर अली अनिक, तनवीर इस्लाम, शाक महेदी हसन, रिशाद हुसेन, मुस्ताफिजुर रहमान, मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम र तान्जिम हसन साकिब । त्यस्तै टिमको साथ जाने रिजर्भ खेलाडीमा अफिफ हुसेन र हसन महमुद रहेका छन् ।

विश्वकपमा बंगलादेश समुह डी मा रहेको छ । यस समुहमा बंगलादेशसहित नेपाल, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।बंगलादेशले विश्वकपमा आफ्नो पहिलो खेल जुन ७ मा श्रीलंकासँग खेल्ने तालिका रहेको छ ।

सुकेधारामा पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको सुकेधारास्थित रोयल मार्बल नजिकैको सडकको नालामा आज एक पुरुषको शव फेला परेको छ ।

काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित नालीमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ घर भई हाल काठमाडौँ-७ चाबहिल बस्दै आएका ४४ वर्षीय भीषण गिरीको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार नालामा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।

प्रवक्ता अधिकारीका अनुसार गिरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ ।

कोशीकी सांसद निर्मला लिम्बुले अशोक राई नेतृत्वको जसपा रोजिन्

विराटनगर – कोशी प्रदेशमा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छन् ।

उनले मंगलबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर गत आइतबार मात्रै दर्ता भएको राई नेतृत्वको जनता समाजवादी पार्टीमा सनाखत गरेकी हुन् ।

 

इतिहासकार ज्ञानमणि नेपालको निधन

काठमाडौं- इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार निधन भएको छ ।

९२ वर्षीय उनको महाराजगञ्जस्थित मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।लामो समयदेखि मुटु रोगलगायतका समस्यासँग जुधिरहेका उनको निधन भएको पुष्टि भाइ एकमणि नेपालले गरेका छन् ।गम्भीर स्वास्थ्य समस्या देखिएपछि नेपाललाई १० दिनअघि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

‘नेपालको महाभारत’ उनका चर्चित पुस्तकमध्ये एक हो । उनले ‘नेपाल निरुक्त’, ‘यात्रा त्रयी’, ‘नेपालनिरुपण’, ‘नेपाल-भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्ष’ पुस्तक लेखेका थिए । नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अब्बल मानिन्थे ।

बागमती प्रदेशसभाको बैठक बस्दै

मनहरी– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । आज अपराह्न ३ बजे बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । संसद्मा पेस भएको उक्त सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए।

उनका अनुसार बैठकमा विशेष समयको व्यवस्थासमेत रहेको र उक्त समयमा प्रदेशसभा सदस्यहरूले धारणा राख्नेछन् । प्रदेशसभा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । सो बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिनेछ ।

सोमबारदेखि सुरु भएको प्रदेशसभाको चौथो अधिवेशन बैठकमा दलगत रुपमा प्रदेशसभा सदस्यहरूले शुभकामना राखेका थिए भने प्रदेश उच्च शिक्षा ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरिएको थियो । संसद्मा पेस भएको सो अध्यादेश ६० दिनभित्र प्रतिस्थापन विधेयकसहित पारित गर्नुपर्ने व्यवस्था रहेको छ ।प्रदेश सरकारको गत वैशाख २३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही वैशाख २३ गते सो अध्यादेश जारी गरेका थिए ।

सभामुख र संसदीय दलका सचेतकबीचको छलफल निष्कर्षविहीन

काठमाडौं– सभामुख देवराज घिमिरे र संसदीय दलका प्रमुख सचेतकहरुबीच छलफल भएको छ । सिंहदरबारमा भएको सो छलफल निष्कर्षमा भने पुग्न सकेन ।

दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरू र बजेट प्रभावित हुने सभामुख घिमिरेले बताए । राजनीतिक दलहरूबीच सहमति नहुँदा संसदका बिजनेश प्रभावित हुने देखिएको उनको भनाई छ । यता नेपाली कांग्रेस संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने अडान राखेको छ । सहकारी प्रकरण छानबिनका लागि संसदीय समिति नबनेसम्म विरोध कार्यक्रम रहिरहने सचेतक सुशीला थिङले बताइन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रीलाई रबि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने माग राखेको छ । रास्वपा सचेतक सन्तोष परियारले लामिछानेलाई आजको बैठकमा बोल्न दिनुपर्ने बताए । धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा नहुने भन्दै कांग्रेसले पुनर्विचार गर्न आवश्यक रहेको औँल्याए ।

यस्तै बैठकमा सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूचीबारे जानकारी दिएका थिए ।

अफगानिस्तानका चालीस हजार बालबालिका घरबारविहीन

काबुल– उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो घर गुमाएको परोपकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ ।

बालबालिकाले आफ्नो घर मात्र नभई विद्यालय र खेल्ने ठाउँका साथै आफन्तजन समेत सबै गुमाएका अफगानिस्तानस्थित उक्त संस्थाका निर्देशक अरशद मलिकले बताए। विश्व खाद्य कार्यक्रमको अफगानिस्तानस्थित कार्यालय र स्थानीय अफगान अधिकारीका अनुसार देशभर बाढीबाट तीन सय ३० जनाभन्दा बढीको मृत्यु भएको छ । बाढीमा बाघलान, तखार, बदख्सान र घोर प्रान्तमा धेरैको मृत्यु भएको हो ।

अफगानिस्तानका अधिकारीहरूले बाढीबाट मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने तथा बालबालिका सङ्क्रामक रोगको सिकार हुन सक्ने चेतावनी दिएका छन् । विश्व स्वास्थ्य संगठनले सोमबार बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम अनुगमन गर्न आठ आपतकालीन प्रतिकार्य टोली परिचालन गरेको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

मंगलबार पार्टीको आठौँ बैठक ललितपुरको बालकुमारीमा सुरू भएको हो । बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

दुई दिनसम्म चल्ने बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल हुनेछ । एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ । यस विषयमा पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुने जनाइएको छ ।

हतियारक आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्केन

काठमाडौं– अमेरिकी सहायता प्याकेजबाट हतियारको आपूर्ति लिएर विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन पुगेका छन् । युक्रेनले खार्किभमा ठूलो आक्रमणको सामना गरिरहेको बेला यी हतियारहरू त्यहाँ पुगेका हुन् ।

ब्लिन्केनले युक्रेनमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र वरिष्ठ सरकारी अधिकारीहरूसँग भेट गर्नेछन् । अमेरिकाले तीन साताअघि अमेरिकी संसद्‌मा युक्रेनका लागि ६१ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको थियो । विगत एक वर्षदेखि यो प्याकेजलाई लिएर संसद्‌मा विवाद चलिरहेको थियो ।

ब्लिन्केन युक्रेन पुग्नु अघि, अमेरिकी अधिकारीहरूले युक्रेनले एयर डिफेन्स इन्टरसेप्टरहरू, तोपहरू र लामो दूरीको सटीक स्ट्राइक मिसाइलहरू प्राप्त गर्न थालेको बताएका थिए । हतियारक आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्केन

काठमाडौं– अमेरिकी सहायता प्याकेजबाट हतियारको आपूर्ति लिएर विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन पुगेका छन् । युक्रेनले खार्किभमा ठूलो आक्रमणको सामना गरिरहेको बेला यी हतियारहरू त्यहाँ पुगेका हुन् ।

ब्लिन्केनले युक्रेनमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र वरिष्ठ सरकारी अधिकारीहरूसँग भेट गर्नेछन् । अमेरिकाले तीन साताअघि अमेरिकी संसद्‌मा युक्रेनका लागि ६१ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको थियो । विगत एक वर्षदेखि यो प्याकेजलाई लिएर संसद्‌मा विवाद चलिरहेको थियो ।

ब्लिन्केन युक्रेन पुग्नु अघि, अमेरिकी अधिकारीहरूले युक्रेनले एयर डिफेन्स इन्टरसेप्टरहरू, तोपहरू र लामो दूरीको सटीक स्ट्राइक मिसाइलहरू प्राप्त गर्न थालेको बताएका थिए ।

सुदूरपश्चिममा ३४ प्रतिशत मात्र बजेट खर्च

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ ।

चालु आव २०८०-८१ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत अर्थात् रु १० अर्ब ६४ करोड ६३ लाख खर्च गरेको हो ।

सो अवधिमा प्रदेश सरकारले चालुतर्फ पाँच अर्ब तीन करोड ४४ लाख र पूँजीगततर्फ रु पाँच अर्ब ६१ करोड १८ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय कैलालीका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिए।

उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी चार अर्ब ९२ करोड ३१ लाख बजेट खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले रु दुई अर्ब ४७ करोड नौ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु ७८ करोड ७१ लाख र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ७१ करोड १८ लाख खर्च गरेको उनले जानकारी दिए। सूचना अधिकारी पाण्डेयका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १४ करोड ६२ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १४ करोड नौ लाख र आर्थिक मामिला मन्त्रालयले रु छ करोड ६६ लाख खर्च गरेको छ ।

त्यस्तै, प्रदेश व्यवस्थापिकाले १० करोड १६ लाख, प्रदेश लोक सेवा आयोगले चार करोड चार लाख र प्रदेश नीति तथा योजना आयोगले रु एक करोड ७३ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले चालु आवका लागि कूल २९ अर्ब २८ करोड ४० लाख बजेट विनियोजन गरेको थियो । त्यसमध्ये चालुतर्फ ११ अर्ब ९६ करोड १६ लाख, पूँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख र वित्तीय व्यवस्थापनतर्फ ३० करोड बजेट विनियोजन गरेको थियो ।