जोडिनुहोस

गृहसहित ४ मन्त्रालयमा रास्वपाको दाबी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित ४ मन्त्रालयमा दाबी गरेको छ ।

नयाँ सत्ता साझेदार दल रास्वपाले गृह, शिक्षा, श्रम र उर्जामन्त्रालयमा दाबी गरेको हो । उच्च स्रोतका अनुसार गृहमा रबि लामिछाने, उर्जा मन्त्रालयमा स्वर्णिम वाग्ले , श्रम मन्त्रालयमा डोलप्रसाद अर्याल (डिपी) र शिक्षामा शिशिर खनाल पठाउने योजना छ ।

गृह मन्त्रालय नछोड्ने रास्वपाको अडान छ । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने जनाइएको छ । यस्तै सुमना श्रेष्ठलाई पनि शिक्षामै पठाउने हो कि भन्नेबारेमा छलफल भइरहेको छ ।

मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो ३ बजे बस्दैछ । सोमबार नयाँ गठबन्धनसहित विस्तार भएको मन्त्रिपरिषद्मा रास्वपाबाट डिपी अर्याल मन्त्री बनिसकेका छने । मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन । अर्याल, लामिछाने र खनाल यसअगाडि पनि मन्त्री भइसकेका छ्न् ।

सरकारमा सहभागीताबारे नेकपा एसले भोलि निर्णय गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । जवाफमा नेपालले सल्लाह गर्ने बताएका थिए ।

प्रचण्डको प्रस्ताव, सरकारमा सहभागीताबारे छलफल गर्न बैठक बोलाइएको पार्टी सचिव जीवनराम श्रेष्ठ जानकारी दिए । उनले भने, ‘हामी पर्ख र हेरकै अवस्थामा छौं । यस विषयमा भोलि बस्ने बैठकले निर्णय गर्छ ।’

भूकम्प प्रभावित क्षेत्रका महिला र बालबालिका समस्यामा

काठमाडौं । भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुम पश्चिम र सल्यानमा महिला तथा बालबालिकामा कुपोषणको समस्या देखिएको छ । भूकम्प प्रभावित क्षेत्रमा तीन महिना सञ्चालन गरिएको स्वास्थ्य शिविरका क्रममा महिला र बालबालिकामा उक्त समस्या देखिएको हो ।

मङ्सिरदेखि माघसम्म सञ्चालन भएको विपतको समयमा प्रजनन् स्वास्थ्य सेवामा न्यूनतम आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत जाजरकोट र रुकुमपश्चिममा ४६ स्वास्थ्य शिविर सञ्चालन गरिएका थिए । शिविरमा सेवा लिन आएका महिला र बालबालिकाले पर्याप्त मात्रामा पोषिलो खानेकुरा खान नपाउँदा कुपोषणको जोखिम रहेको नेपाल परिवार नियोजन सङ्घले जनाएको छ ।

तीन महिनाको अवधिमा शिविरमा सात हजार तीन सयभन्दा बढी भूकम्प प्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । सेवा लिनेमा पुरुष नौ सय ४४ र महिला ६ हजार तीन सय ५५ छन् ।

शिविरमा चार हजार एक सय नौ महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको थियो । जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुसे गाउँपालिका तथा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा शिविर सञ्चालन गरिएको थियो ।

प्रभावित जिल्लामा बाह्रैमास खान नपुग्ने, भूकम्पपछि खान र बस्न समस्या, सन्तुलित खानाको अभावलगायत कारणले महिला र बालबालिकामा कुपोषणको समस्या देखिएको हो । जाजरकोटको कुशे र बारेकोटका महिला तथा बालबालिकामा कुपोषणको समस्या बढी देखिएको छ । ती ठाउँमा परिवार नियोजनको साधन प्रयोग गर्ने ज्ञानको कमी रहेको पाइएको छ ।

नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले पालिकामा अझैँ स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने बताए । उत्पादन हुने क्षेत्रमा घर, टहरा निर्माण गरिँदा खाद्यान्नको समस्या छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयसमेत चामलको अभाव रहेको उनले बताए ।

बारेकोटमा पनि नलगाडकै जस्तै समस्या रहेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताए । आठबीसकोटका नगरप्रमुख रवी केसीले विपतमा सबैले एकजुट भएर काम गर्नुपर्ने बताए ।

चार दलबीचको आठबुँदे सहमतिमा के के छ ?

काठमाडौँ । नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ ।

सोमबार राति नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा सहमति भएको छ ।

सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महसुस गरी चार दलको सहभागितामा नयाँ संयुक्त सरकार गठन गर्ने र सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने सहमति भएको छ ।

रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवारलाई समर्थन गर्ने सहमति पनि चार दलले गरेका छन् ।

त्यसैगरी, सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ । त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने र नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सहभागी हुन अन्य दलहरूसँग पनि आवश्यक संवाद अघि बढाउने सहमति भएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्ग्याउने सहमति पनि चार दलबीच भएको छ । त्यसैगरी, सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने विषयमा सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् ।

सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने पनि सहमति भएको छ । यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गरिने जनाइएको छ ।

राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न पनि चार दल सहमत भएका छन् ।

आठबुँदे सहमतिमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

कोशीटप्पुमा चराको सङ्ख्या घट्यो

बेलबारी (मोरङ)।कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको हो ।

मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ को सङ्ख्यामा चरा फेला परेको छ । गत वर्ष ५६ प्रजातिका सात हजार पाँच सय ७३ चरा रहेको तथ्याङ्क रहेको छ ।

बर्सेनि नयाँ–नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि यस वर्षको गणनामा चराको प्रजाति र सङ्ख्यामा कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो ।

गत पुस २५ देखि २९ गतेसम्म पाँच दिन भएको चरा गणनाको विश्व सिमसार दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गरिएको हो । कोशीमा सबैभन्दा धेरै ८ सय ४८ को सङ्ख्यामा सिलसिले हाँस फेला परेका छन् ।

त्यसैगरी उच्च सङ्ख्यामा फेला परेका १० प्रजातिका चरामध्ये चखेवा पाँच सय छ, राज हुटिट्याउ चार सय ५५, जलेवा चार सय ४५, वस्तु बकुल्ला तीन सय ७६, सानो जलेवा तीन सय ७१, कर्रा सवारी दुई सय ५७, लामाऔँले दुई सय २२, आसकोटे बकुल्ला दुई सय १० र जलरङ्ग एक सय ८७ फेला परेका छन् ।

पानीमा आश्रित चरालाई सिमसार संरक्षणको अभाव हुनुका साथै आहाराको कमीले चराको सङ्ख्या घटेको हुनसक्ने कोशी पक्षी समाजका अध्यक्ष चक्र तिम्सिना बताउँछन् । ‘मानव बस्ती र मानवीय व्यवहारले हैरानी खेप्नु नै मुख्यरूपमा पर्यटक चरा आउन ह्रास भएको हुनसक्छ ।’

उनका अनुसार रसिया, साइबेरियालगायतका मुलुकबाट जाडो छल्न आउने पर्यटक चरा खेल्ने सिमसारमा मोटरबोट सञ्चालनमा आउनाले पनि चराको सङ्ख्यामा कमी आएको बताउँछन् ।

कोरोनाले विश्व आक्रान्त बनेको समय सन् २०१९ को गणनामा कोशीमा चराको सङ्ख्या अत्याधिक बढेर नौ हजार दुई सय ८९ पगेको थियो । यस समयमा मनाव चहलपहल कम हुनाले सिमसार खोलानालामा चराको सङ्ख्या बढेको हुनसक्ने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए ।

असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ ।

करिब पचास प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलङ्कातिर जान्छन् । जाडो छल्न नेपाल आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन् ।

यसरी जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् भने अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् ।

दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रिष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् ।

उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषिभूमि हुन् ।

आज २०८० साल फागुन २२ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। समाज र देशको भलाइ गर्ने समय छ। आजको लगानीले उन्नती हुनेछ। धार्मिक यात्रा हुने योग छ। व्यापारमा फाइदा हुनेछ। व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ।

वृषः दिन राम्रो छ। आर्थिक उन्नति हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। अभिभावकको सम्मान गर्न नजान्दा सामाजिक क्षेत्रको आलोचना सहनुपर्ने दिन छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम र पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः समय राम्रो छ। लगानीको क्षेत्रबाट आम्दानी हुनेछ। अरुको प्रभावमा नपर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सन्तोषजनक रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन सामान्य छ। घमण्डले फाइदा नगर्ने हुँदा शान्त बन्नुपर्ने दिन छ। गणेशको पूजा गर्दा फाइदा हुनेछ। पुरानो रोगले सताउने जोखिम देखिन्छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। दाम्पत्य जीवनमा साथ र सहयोग मिल्नेछ।

सिंहः दिन राम्रो छ। लगानीको क्षेत्रबाट सन्तोष मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। वैदेशिक क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारमा टकराब देखिए मौन रहनु फाइदा हुनेछ।

कन्याः आजको दिन राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। धेरै ग्रह सकारात्मक छन्। साथीभाइले साथ दिनेछन्। स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ।

तुलाः दिन राम्रो छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आलश्य त्याग्नु राम्रो हुन्छ। समाजबाट सम्मान प्राप्त हुनेछ। परिवारबाट सुख मिल्नेछ। दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ।

वृश्चिकः समय सामान्य छ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। बन्धु सकारात्मक छन्। आफूले आफूलाई नचिन्दा समाजमा अपमान सहनुपर्ने हुनसक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ।

धनुः दिन राम्रो छ। आजको योजनाले महत्त्वपूर्ण काम बन्नेछ। दीर्घकालीन योजना बनाउनु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

मकरः समय सामान्य छ। मेहनतको फल नमिल्न सक्छ। मानिसलाई खुशी बनाउन नसक्ने दिन छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ।

कुम्भः दिन राम्रो छ। आर्थिक लाभ हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। प्रशंसा हुनेछ। दाम्पत्य जीवन सुखमय रहने छ।

मीनः दिन राम्रो छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने हुन्छ। अनावश्यक खर्च बढ्नेछ। परिवारमा खटपटी हुनेछ।

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्याल छन् ।

तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् ।

कांग्रेस प्रतिपक्षीमा बस्ने, प्रचण्डले गठबन्धन तोडेको देउवाको ब्रिफिङ

काठमाडौं– संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने भएको छ । माओवादी–एमाले गठबन्धन बनेसँगै कांग्रेस प्रमुख प्रतिपक्षीमा बस्ने भएको हो ।

अब आफूहरू प्रतिपक्षीको बेन्चमा बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेतक लेखकले अब कांग्रेस प्रतिपक्षीमा बस्ने जानकारी दिएका हुन् ।

उक्त बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेका लेखकले जानकारी गराए ।

‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाए । अब हामी प्रतिपक्षमा रमाउँछौँ,’ उनले भने ।

क्रमभंगता गर्ने माओवादीको विशेषता नै हो, म नमर्दासम्म देशमा उथलपुथल भइनै राख्छ– प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरिएको राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको बताएका छन्। पटकपटक निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

सोमबार सत्ता समीकरण बदलिएसँगै राष्ट्रिय सभा गृहमा आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रिया कार्यक्रम’मा प्रधानमन्त्री प्रचण्डले माओवादी जमेर बस्ने पोखरी नभई गडगडाउँदो नदी भएको बताएका हुन्।

‘माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका दृष्टिकोणले जमेर बस्ने पोखरी जस्तो होइन, गडगडाएर बग्ने नदी जस्तो हो। माओवादी निरन्तरतामा रमाएर बस्ने होइन, निरन्तरतामा क्रमभंगता गर्दै रमाउने जात हो,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रचण्डले आजको दिनलाई नयाँ उथलपुथल भएको दिनको संज्ञा पनि दिए। साथै आफू रहुन्जेलसम्म नेपालमा राजनीतिक उथलपुथल भई नै रहने पनि उनको भनाइ छ।

कार्यक्रममा उपस्थितहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘विप्लव उठ्नेबित्तिकै तपाईँहरूमा एउटा तरंग पैदा हुन्छ। म त म भई नै हालेँ । म नमर्दासम्म देशमा उथलपुथल भइनै राख्छ। मलाई घेरा हालेर सिध्याउन धेरैचोटी कोसिसहरू भए प्रतिक्रियावादीबाट। घेरा तोड्दै आएका छौं, तोड्दै जान्छौँ। साथीहरूलाई म भन्छु ठूला कुरा गर्नु भन्दा हामी क्रान्तिकारीहरू एकठाउँमा उभिऔं।’

पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

काठमाडौं । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ ।

महायज्ञ देशभरबाट श्रद्धालु भक्तजन आउन थालेपछि पञ्चकोट दर्शनार्थीको बाक्लो उपस्थितिले भरिएको हो । यही फागुन ९ देखि सञ्चालन भइरहेको महायज्ञमा देशभरबाट दर्शनार्थी आइरहेको बताउँदै पछिल्ला दिनमा दर्शनार्थीको भीड नै लागेको हो ।

दैनिक तीन हजारदेखि १० हजारसम्म दर्शनार्थी आउने गरेको महायज्ञमा शनिबार भने ३० हजार बढी दर्शनार्थी पञ्चकोट आएको सर्वसिद्धिधाम पञ्चकोट परिषद् समितिका अध्यक्ष दामोदर शास्त्री दाहालले बताए। अत्यधिक भिडका कारण शनिबार ट्राफिक जाम नै भएको उनको भनाइ छ । शनिबार बिदा हुनुका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति भएपछि महायज्ञमा दर्शनार्थीको भिड बढेको उनले बताए ।

“धार्मिककार्यमा आएका भक्तजनको कुनै गण्ना गर्ने व्यवस्था थिएन, ९० रोपनी जग्गामा फैलिएको पञ्चकोट दर्शनार्थीले भरिएको थियो, बागलुङ बजारबाट पञ्चकोटसम्म सवारीसाधनको लस्कर थियो”, अध्यक्ष शास्त्रीले भने“एकै दिन तीसदेखि ५० हजारसम्म दर्शनार्थी आएको हाम्रो अनुमान छ, पञ्चकोटमा हजारौँको सङ्ख्यामा आएका बस, कार, भ्यान र मोटरसाइकल आएकाले सो अनुमान गरिएको हो ।” ट्राफिक जामका कारण सबै दर्शनार्थी पञ्चकोट पुग्न नपाएको उनले बताए ।

पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवको अवसरमा आयोजना भइरहेको महायज्ञ नेपालमै पहिलो पटक गर्न थालिएको आयोजकको दाबी छ । महायज्ञमा सहभागी हुन यही फागुन १० गते राष्ट्रपति रामचन्द्र पौडेल र गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल आइसकेका छन ।

साथै नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महत, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल उद्योग वाणिज्य महासङघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत विशिष्ट व्यक्तित्वको उपस्थिति भइसकेका छ । यही फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)  का अध्यक्ष केपी शर्मा ओलीलगायत राजनीतिक दलका शीर्ष नेता आउने कार्यक्रमसमेत छ ।

जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न आयोजना गरिएको ब्राह्माण्डीय महायज्ञमा आउने दर्शनार्थीको ट्राफिक व्यवस्थापन मिलाउन हम्मेहम्मे परेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख सुमन न्यूरेले बताए।

पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गर्न महायज्ञ आयोजनाबाट गरिएको हो । महायज्ञभर कथा वाचक पाठ बाहेक हरेक दिन फरक–फरक विधाका व्यक्ति उपस्थित भई विभिन्न शीर्षकमा गण्डकी क्षेत्रस्तरीय र राष्ट्रिय बहस पनि भइरहेको छ ।

महायज्ञको अवसरमा आइतबार कला र साहित्य सम्मेलन सम्पन्न भएको थियो । पञ्चकोट पुग्ने पर्यटकको सङ्ख्याका आधारमा सडक फराकिलो हुन आवश्यक रहेको बागलुङ नगरपालिका(६ का वडाध्यक्ष रुद्र केसीले बताए।

राष्ट्रिय सभाका १९ नवनिर्वाचित सांसदले लिए सपथ

काठमाडौं। राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् ।

संघीय संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

आइतबार मात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो भने नयाँलाई स्वागत गरिएको थियो ।

रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका हुन् । एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन् ।

१९ सदस्यका लागि भएको निर्वाचनपछि राष्ट्रिय सभामा माओवादी केन्द्र पहिलो दल बनेको छ ।

रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहराले शपथ लिएका हुन् ।

राप्रपा सत्ता केन्द्रित चलखेलमा सामेल छैनः लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सत्ता केन्द्रित चलखेलमा आफूहरू नहुने बताएका छन्। वर्तमान समस्याको समाधान सरकार परिवर्तन नभएको भन्दै उनले अहिले सरकारभन्दा पनि अवस्था परिवर्तन आवश्यकता रहेको बताएका हुन्।

‘मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको आवश्यकता हो।

राप्रपा अहिले यही बाटोमा छ’, उनले भने।

कांग्रेससँगको सत्ता गठबन्धनलाई तोडेर प्रधानमन्त्रीले आजै एमाले, रास्वपा र जसपासहितको नयाँ गठबन्धन गरेका छन्।