जोडिनुहोस

कांग्रेसका मन्त्रीहरुले नदिने भए राजीनामा

नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए ।

‘प्रधानमन्त्रीले नै बाटो फेरेपछि उहाँले नयाँ मन्त्रिपरिषद गठन गर्नुहुन्छ, हामीले राजीनामा किन दिने’, गुरुङले भनेका छन् । कांग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको दह्रोसँग उपयोग गर्ने गुरुङले बताएका छन् । प्रचण्ड नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ९ जना सदस्य छन् ।

भोली देउवा निवासमा कार्यसम्पादन समितिको बैठक बस्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । भोलि दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठ बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पछिल्लो विकसित घटनाक्रम बारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको पौडेलले जानकारी गराए । कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भएपनि देउवाले ३७ जनाको बनाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजबाट नयाँ गठबन्धन बनाएपछि कांग्रेस सहितको गठबन्धन टुटेको छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी लगायतका दल नयाँ गठबन्धनमा सहभागी हुने भएका छन् । देउवा आज बिहान पदाधिकारी बैठक बोलाएका थिए ।

माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाबाट डिपी अर्याल मन्त्री बन्दै

नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का भएको छ । आज माओवादी केन्द्रबाट तामाङ मात्र मन्त्री बन्ने तयारी छ । माओवादी स्रोतका अनुसार आजै हितबहादुर तामाङले शपथ लिनेछन् ।

यता नेकपा एमालेबाट पदम गिरी र रास्वपाबाट उपाध्यक्ष डिपी अर्यालले पनि मन्त्री पदको शपथ ग्रहण गर्ने छन् । उनीहरुको मन्त्रालय भने टुंगो लागिसकेको छैन ।

रेशमले गरे सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी

काठमाडौं । नेकपा एमालेसहित बनेको नयाँ सत्ता गठबन्धनमा रेशमलाल चौधरीको पार्टी नागरिक उन्मुक्ति पनि सहभागी हुने भएको छ ।

प्रतिनिधिसभा ४ सिट भएको नागरिक उन्मुक्तिले पनि सरकारमा जाने बताएको छ । अध्यक्ष चौधरीले सरकारमा जाने र सुदूरपश्चिमको मुख्यमन्त्रीमा पनि दाबी रहने बताएका छन् ।

बालुवाटारमा नयाँ गठबन्धनको बैठकका बीच बाहिर निस्किएका चौधरीले विगतमा धोका खाएकाले पहिले सहमति गरेरै मात्र सामेल हुने प्रष्ट्याए ।

उनले पत्रकारसँग भने, ‘हामी नयाँ बनेको गठबन्धनसँग सकारात्मक छौं, हामीले विगतमा धोका खाएकाले सहमतिको निर्णय गरेरै सामेल हुने भनेका छौं, आजै प्रदेश र प्रतिनिधिसभा सदस्यहरूको बैठक बोलाएका छौं, त्यसबाट निर्णय गर्नेछौं, आजको मन्त्रिपरिषद् बैठकमा सहभागी हुँदैनौं ।’

सुदूरपश्चिम प्रदेशमा उन्मुक्तिका ७ सांसद छन् । गठबन्धन फेरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकार पनि नयाँ समीकरण अनुसार बन्ने बताएका छन् । सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् ।

नयाँ सत्ता गठबन्धको आज बसेको बैठकले पहिलो चरणमा नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादवले मन्त्रीको शपथ लिनेछन् ।

रवि गृह मन्त्रालय लिएर सरकारमा जाँदा उपेन्द्रले भौतिक, पदमले स्वास्थ्य र वर्षमानले अर्थमन्त्रालय लिने तय भएको स्रोतको दाबी छ ।

टीआरसी विधेयक अड्कियो, समितिको बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । सोमबार बिहान पौने ८ बजेका लागि तय भएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको समितिका सचिव अधिराज राईले जानकारी दिए ।

आजको समिति बैठकबाट सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयकको संशोध प्रतिवेदनको मस्यौदालाई टुंगो लगाउने तयारी थियो । नेपाली कांग्रेसका केही सांसदहरु समयमै बैठक कक्षमा पुगेका थिए । तर, विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण अरु दलका सांसद समयमै पुगेनन् । र, एक घण्टापछि बैठक स्थगित भएको हो ।

आइतबारको बैठकमा सो विधेयकमा सहमतिनजिक पुगेको र समितिबाट आज टुंग्याइने दलका नेताहरूले बताएका थिए । दुई विषय मात्र मिल्न बाँकी रहेको नेताहरूको भनाइ थियो । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितमन्त्री बनाउनुपर्नेमा एमाले नेताहरूले जोड दिँदै आएका छन् ।

आजैदेखि कम्युनिष्ट एकताको पहल थालेका छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकताको पहल थालेको बताएका छन् ।

आज बिहान बालुवाटारमा सुखानी सहिदका परिवारसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल थालेको दाबी गरेका हुन् । उनले भने, ‘सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।’

तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो । ती सहिद परिवारका सदस्यहरु विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायतसँग प्रधानमन्त्रीले भेट गरेको उनको सचिवालयले जनाएको छ ।

फागुन २१ गते अर्थात् आज सुखानी हत्याकाण्ड भएको दिन हो । सुखानीको जङ्गलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरुको स्मरणमा एक साता सहिद सप्ताह मनाइएको छ ।

पुराना सबै मन्त्रीहरुलाई आज हटाइने, सानो मन्त्रिमण्डल बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले र रास्वपालाई सामेल गर्दै आज मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् ।

उनले आज सानो आकारको नयाँ मन्त्रिमण्डल बनाउने भएका छन् । आजै सरकारमा रहेका सबै मन्त्रीलाई हटाएर मन्त्रिमण्डलमा एमाले र रास्वपाबाट एक एक जनाले शपथ लिने तयारी भएको छ ।

एमाले आज सरकारमा जाने

काठमाडौं। नेकपा (एमाले) सरकारमा सहभागी हुने भएको छ । नेकपा (माओवादी) र कांग्रेसबीचको गठबन्धन भत्किएपछि एमाले सरकारमा सहभागी हुने भएको हो ।

एमाले सरकारमा सहभागी हुने निश्चित भएको र अहिले कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारे छलफल भइरहेको सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘अहिले प्रधानमन्त्री प्रचण्डज्यूले नै सरकारको नेतृत्व गर्ने हो । हामी कसको नेतृत्वमा सहभागी हुने भन्नेबारे छलफलमा छौं,’– उनले भने ।

सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ ।

विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् । सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरुपमा नै बेसार खेती गर्दै आएका बताए।

स्थानीयवासी देवबहादुर मगरले भने, ‘२०५० सालतिर देखिनै गाउँमा बेसार खेती सुरु भएको हो । २०६० सालदेखि सबै गाउँलेले व्यावसायिक रुपमा नै बेसार खेती गर्न थालेपछि अहिले गाउँनै बेसार खेतीमय भएको छ ।’

उनका अनुसार अहिले गाउँबाट वार्षिक दुई करोडभन्दा बढीको बेसार बिक्री हुने गरेको छ । अर्का कृषक इन्द्रबहादुर मगरले अनुसार नयाँ आधुनिक प्रजातिको सुगन्धा बेसार उत्पादन हुन थालेपछि खेती र उत्पादनमा वृद्धि भएको छ । उनले एक घरले वार्षिक झण्डै तीन लाखभन्दा माथि बेसार उत्पादन गरेर बिक्री गर्ने गरेको बताएका छन् ।

किसान सन्तबहादुर मगरले २०७३ सालदेखि यस क्षेत्रको बेसार मङ्सिर पुस महिनातिरनै विराटनगरका व्यापारीले खरिद गर्न आउने गरेको जानकारी दिए । पछिल्लो समय सिद्धिपुरवासीको आर्थिक आम्दानीको स्रोतनै बेसार भएको चौदण्डी–६ का वडासदस्य देवी मगरले बताए । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले उदयपुर जिल्लामा ५५९ हेक्टर क्षेत्रफलमा बेसार उत्पादन हुँदै आएको छ ।

केन्द्रका सूचना अधिकारी तथा अधिकृत फूलमाया शेर्पाले सबैभन्दा बढी बेसार उत्पादन पाकेट क्षेत्रको रुपमा सिद्धिपुर क्षेत्र रहेको बताएका छन् । यसैगरी त्रियुगा नगरपालिकाको साउने, खाँबु, रौतामाई गाउँपालिकाको आँपटार, उदयपुगढी गाउँपालिकाको भलायाडाँडा, डुम्रेसहित कटारी नगरपालिकाको रिस्कु सोमबारे र बेलका नगरपालिकाको मैनामैनी महत्वपूर्ण बेसार उत्पादन क्षेत्र रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

‘टेरामक्स भ्रष्टाचार’ मा मुद्दाको तयारीमा अख्तियार

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्बौं रूपैयाँ अनियमितता भएको विषयमा छानबिन गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग दोषी देखिएकाविरुद्ध मुद्दा दर्ताको तयारीमा छ।

यति नै बेला मुख्यसचिव वैकुण्ठ अर्याल नेपाल टेलिकमको पुरानै बिलिङ सिस्टम मेसिनलाई निरन्तरता दिने निर्णय प्रक्रियामा समेत मुछिएका छन्। तत्कालीन सञ्चार सचिव एवं नेपाल टेलिकमका अध्यक्ष अर्यालको अध्यक्षतामा बसेको नेपाल टेलिकम सञ्चालक समितिको बैठकले नयाँ मेसिन खरिद प्रक्रिया पन्छाएर पुरानै बिलिङ सिस्टमको मेसिनलाई निरन्तरता दिने निर्णय गरेको थियो।

तत्कालीन सञ्चार सचिव एवं नेपाल टेलिकमका अध्यक्ष हरिप्रसाद बस्यालको नेतृत्वमा बसेको सञ्चालक समितिको ९१३औं बैठकमा ग्राहकले एक मिनेट कुरा गर्दा १० पैसा चुहावट भइरहेको भन्दै नयाँ मेसिन खरिद गर्ने निर्णय भएको थियो। तर अर्याल नेतृत्वको बैठकले भने पुरानै मेसिनलाई निरन्तरता दिने निर्णय गरेको थियो।

त्यतिबेला अख्तियारले नयाँ बिलिङ सिस्टम खरिद नहुन्जेल मात्र पुरानो सिस्टम प्रयोगमा ल्याउनू भनेर दिएको निर्देशन उल्लंघन गरेर नीतिगत निर्णय भएको थियो । तर अर्याल सञ्चार सचिव भएर आएपछि बसेको ९६२औं बैठकले पुरानै सिस्टमलाई निरन्तरता दिने निर्णय गराएका थिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

आज २०८० साल फागुन २१ गते सोमबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दैनिकी राम्रो छ। धार्मिक यात्रा हुने योग छ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृषः दिन राम्रो छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा भने ठगबाट बच्नुपर्ने देखिन्छ। स्वास्थ्य र शिक्षामा सुधार हुनेछ।

मिथुनः संघर्ष गरेर कर्म क्षेत्रमा नाम कमाउने दिन हो। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। परिवारसँगको सम्बन्धमा भने खटपट हुनसक्छ।

कर्कटः खराब समय आएको छ। कुरा काट्नेहरु धेरै छन्। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। साथीसँग सहकार्य गर्दा जोगिएर काम गर्नुपर्ने हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

सिंहः सम्मानित हुने योग रहेको छ। यात्रामा प्राकृतिक विपत्तिबाट जोगिनुपर्नै देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ। स्वदेशमै लगानीका अवसर सिर्जना हुनेछन्। समय राम्रो भए पनि सफलताका लागि संघर्ष आवश्यक देखिन्छ।

कन्याः समय राम्रो छ। गुमेको धन भेटिने छ। हराएको साथीसँग अचानक भेट हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। मन खुशी हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँग सुझाव लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

तुलाः दिन राम्रो छ। समय रमाइलो गरेर बित्नेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

वृश्चिकः दैनिकी सामान्य छ। तपाईंको श्रमबाट फाइदा लिनेहरु रमाउने देखिन्छ। बोलीमा नम्रता र व्यवहारमा लचकता आवश्यक छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदै हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनुः दैनिकी राम्रो छ। मेहनत गरेको क्षेत्रमा काम बन्नेछ। तपाईंको मिठो बोली नै आज उपयोगी बन्नेछ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकरः दैनिकी राम्रो छ। साथीहरुले साथ दिनेछन्। व्यापारबाट उल्लेखनीय उपलब्धि नहुनसक्छ। परिवारको सल्लाह लिएर मात्र काम गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

कुम्भ स् दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। मदिराजन्य पदार्थबाट टाढा रहनुपर्ने देखिन्छ। भोज वा पार्टीमा सहभागी नभएकै राम्रो हुन्छ। सामाजिक क्षेत्रमा समस्या हुनेछ। परिवारको साथ र सहयोग रहने योग छ।

मीन स् दिन राम्रो छ। नयाँ साथीसँग भेट हुनेछ। खर्च बढ्ने योग छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानी नै उत्साहजनक हुनेछ। परिवारमा कुरा बुझाबुझ नहुँदा खटपट हुनसक्छ।

संक्रमणकालीन न्यायबारे प्रधानमन्त्रीद्वारा देउवा र ओलीसँग छलफल

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पु-याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज छुट्टाछुट्टै छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका सन्दर्भमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र सभापति देउवासँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

प्रतिनिधिसभाको कानुन, न्याय तथमा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन छ । सोही विधेयकमाथि छलफल गर्न आज समितिको बैठक बस्दै छ ।