जोडिनुहोस

उद्योगमन्त्रीले गरे नवलपरासीस्थित औद्योगिक गतिविधिको अवलोकन

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला स्थित औद्योगिक तथा व्यापारिक गतिविधिहरूको अवलोकन र केही विशेष परियोजनाहरूको उद्घाटन गरेका छन् ।

आज उनले २ मेगावाट क्षमताको सोलार प्लान्ट उद्घाटन गरेका हुन । नवलपरासीको रामग्रामस्थित अरुण वेभरेज प्रालिमा २ मेगावाटको सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्दै स्वच्छ र नवीकरणीय ऊर्जाको प्रवद्र्धन तथा विकास गर्न सरकार कटिबद्ध रहेकोसमेत बताए ।

उनका अनुसार स्वदेशी उत्पादनमा जोड दिनुका साथै ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा यो एक महत्त्वपूर्ण कोसेढुंगा साबित हुने जनाए ।

मन्त्री भण्डारीले संवृद्धि स्टिल फ्याक्ट्रीको अवलोकन गरेका छन् । उद्योग क्षेत्रको सम्भाव्यता, उत्पादनशीलता र रोजगारी सिर्जना सम्बन्धी प्रत्यक्ष जानकारी लिन स्टिल फ्याक्ट्री को अवलोकन गर्दै औद्योगिकीकरणलाई तीव्रता दिन आवश्यक नीतिगत सुधार तथा पूर्वाधार निर्माणका विषयमा उद्योगपतिहरूसँग छलफल गरेका थिए ।

छलफलमा क्रममा मन्त्री भण्डारीले उद्योग सम्बन्धी नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै उद्योगमैत्री नीति बनाउने बताउँदै उनले आगामी बजेट उद्योगीको हकहितमा विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी लक्ष्मी ह्युन्डाइ एसेम्बलिङ्ग प्लान्टकोसमेत अवलोकन गरेका थिए । स्वदेशमै सवारी साधन एसेम्बल गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले नेपालमा गाडी निर्माण तथा एसेम्बलिङ उद्योगको विस्तारले मुलुकको औद्योगिक विकासलाई थप गति दिने विश्वास व्यक्त गरेका छन् ।

विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसदका अध्यक्षलाई पत्र

काठमाडौं। सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि पहल गरेका छन् । सभामुख घिमिरेले अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन् ।

‘नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।

पत्रमा सभामुख घिमिरेले नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

पत्रमा सभामुखले लेखेका छन्, ‘नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताको लागि स्वागतयोग्य दृष्टिकोण लिएको स्मरण गराउँदछु ।’

हमासले २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि जोशीलाई बन्दी बनाएको थियो । जोशीको रिहाइका लागि सरकारले कुटनीतिक पहल गरिरहेको छ । गएको आइतबार नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले सभामुखसँगको भेटमा विपिनको रिहाइका लागि संसदीय कूटनीति समेत प्रयोग गर्न सकिने सुझाव दिएका थिए ।

पत्रमा सभामुख घिमिरेले नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदान–प्रदान सम्झौताको स्वागत गरेको समेत उल्लेख गरेका छन् ।

सभामुख घिमिरेले नेपाल सार्क, बिमस्टेकजस्ता क्षेत्रीय तथा उपक्षेत्रीय संरचनाहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको स्मरण गराउँदै नेपाल र अरब लिगबीच थप सहकार्यको आवश्यकमा जोड दिएका छन् ।

सभामुख अपिलसँगै विपिन जोशीको सकुशल उद्धारका लागि कूटनीतिक तहमा थप पहल हुने अपेक्षा गरिएको छ ।

बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन

गण्डकी। संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले आज पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका दुई सय ७४ नेपाली युवाले प्रस्तुत गरेका परेड अवलोकन गरेका छन् ।

नेपालको भ्रमणमा रहेका बेलायती अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफीले वार्षिक प्रमाणीकरण परेड अवलोकनसँगै उनीहरूका परिवारजनलाई प्रत्यक्ष भेटी विभिन्न जानकारी लिएका थिए ।

समारोहमा अधिराजकुमार एड्वर्डले भने, ‘अब तपाईं गोर्खा सैनिक बन्नुभएको छ । यस वर्ष भर्ती हुन सम्भावना बोकेका १३ हजार भन्दा बढीमध्ये केवल दुई सय ७४ नयाँ गोर्खामध्ये तपाइ एक हुनुहुन्छ । यो तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौतीमध्ये एक रहेको छ । तपाईं आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्न सक्ने अवस्थामा हुनुहुन्छ ।’

समारोहमा नेपालका लागि बेलायती राजदूत रोब फेन, गोर्खा ब्रिगेडका कर्नल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्याण्ड डिएसओ एमबीइलगायतले भर्ती भएका नयाँ सैनिकको प्रमाणीकरणको अवलोकन गरेका थिए । परेडका अवसरमा ३८ राज्याभिषेक पदक र दुई दीर्घ सेवा तथा असल आचरण पदक पनि प्रदान गरिएको थियो ।

सफल हुने दुई सय ७४ प्रशिक्षार्थी एक वर्षको छनोट प्रक्रियापछि बेलायती सेनामा सामेल हुँदै छन् । उनीहरू बेलायतको क्याटरिकमा रहेको सैन्य प्रशिक्षण केन्द्र (आइटीसी) पुग्नेछन्, जहाँ उनीहरूले नौ महिना लामो प्रशिक्षणमा सहभागी हुने कार्यक्रममा जानकारी दिइयो ।

पोखरामा बेलायती अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफीले गोर्खा वेल्फेयर ट्रस्ट (जिडब्लुटी) एरिया वेल्फेयर केन्द्र (एडब्लुसी)मार्फत बेलायती सेनामा काम गरेकालाई नेपालमा कसरी साथ सहयोग उपलब्ध गराइएको छ, भन्ने कुराको पनि प्रत्यक्ष अवलोकन गरे ।

उनीहरूले जिडब्लुटीको आवासीय गृहले गरिरहेको काम अवलोकन गरेका थिए । यहाँ २० जना सबैभन्दा कमजोर अवस्थामा रहेका भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका विधवाहरूलाई आवास र अन्य सहयोग उपलब्ध गराइएको छ ।

बेलायती अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफीे नेपालमा कदुरी कृषि सहायता सङ्घ (केएएए) को कामको बारेमा पनि जानकारी लिएका थिए ।

आवासीय गृहको भ्रमणका क्रममा अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफीेले १०४ वर्षीया आशाकुमारी तामाङलाई भेटे । तामाङका स्वर्गीय श्रीमानले दोस्रो विश्वयुद्धमा चौथो गोर्खा राइफल्समा आबद्ध भई सेवा गरेका थिए ।

आशा कुमारी सन् २०११ देखि सो आवासीय गृहमा बस्दै आएकी छन् । कार्यक्रममा उनले बेलायती सेनामा छनोट भएका सैनिकहरूसँग सामूहिक तस्बिर पनि खिचाएका थिए ।

गोर्खा वेल्फेयर ट्रस्ट भूपु गोर्खा सैनिक, उनीहरूका परिवार र समुदायलाई सहयोग गर्न समर्पित अग्रणी परोपकारी संस्था हो । यसको स्थापना सन् १९६९ मा कल्याणकारी पेन्सनधारीहरू (एमओडी पेन्सनका लागि योग्य हुनु अगावै बेलायती सेना छोडेका)लाई आर्थिक सहायता प्रदान गर्नका लागि भएको थियो ।

ट्रस्टले नेपालभर उल्लेखनीय प्रभाव पारेको र प्रत्येक वर्ष विभिन्न कार्यमा खर्च समेत गर्दै आएको बताइएको छ ।

कञ्चनपुरका आरक्ष विस्थापितको समस्या समाधान गर्न माग

काठमाडौं। नेपाली कांग्रेसका सांसद एनपी साउदले पुनः नापी गरेर कञ्चनपुरको आरक्ष विस्थापितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिसभाको पाँचौँ अधिवेशनको शुक्रबार बसेको तेस्रो बैठकको शून्य समयमा सांसद साउदले सरकारद्वारा गठित समितिको सुझावअनुसार पुनः नापी गरेर आरक्ष विस्थापितको समस्या समाधान गर्न माग गरेका हुन् ।

समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएका दुई वटा समितिले समाधानको उपाय दिन नसकेपछि मन्त्रालयस्तरीय निर्णयबाट उपसचिवको संयोजकत्वमा गठन भएको समितिले विस्तृत नापजाँच फिल्ड भिडाएर सरकारलाई सर्वसम्मत प्रतिवेदन बुझाएको छ ।

‘साविकको नापी बदर गरी चक्लाबन्दी वा एकीकृत विकासको दृष्टिकोणले पुनः नापी गरेर समस्या समाधान गर्नुपर्ने सुझाव समितिको छ,’ साउदले भने, ‘म सम्मानीत सदनमार्फत् प्रतिवेदन अविलम्ब कार्यान्वयन गरेर समस्याको समाधान गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

सांसद साउदका अनुसार कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७, ९ र १० मा आरक्ष विस्तारका लागि जंगल फडानी गरी आरक्षपीडित र सुकुम्वासीलाई जग्गा वितरण गरेर बसोबास गराइएको थियो । तीनवटै वडामा गरी एक हजार दुईसय घर परिवार रहेका उनले जानकारी दिए ।

‘त्यतिबेला कतिपय ठाउँमा स्थलगत निरीक्षण नगरी कित्ताकाट हुँदा फिल्डमा रहेको स्वामित्व र लालपुर्जामा रहेको स्वामित्वमा फरक पर्दा बिक्री वितरण र नियन्त्रणमा गम्भीर विवाद उत्पन्न भएपछि नेपाल सरकारले सिडिओको अध्यक्षतामा दुई पटक समस्या समाधान समिति गठन गरेको थियो,’ साउदले भने, ‘ती समितिले काम नगरेपछि हालै मन्त्रालयस्तरीय निर्णयबाट उपसचिवको संयोजकत्वमा गठन भएको समितिले विस्तृत नापजाँच तथा फिल्ड भिडाइ सर्वसम्मत प्रतिवेदन बुझाएको छ ।’

संसदमा स्वर्गद्वारी गुठी पीडितको समस्या सम्बोधन गर्न माग

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले स्वर्गद्वारी गुठी पीडितका जायज माग सम्बोधन गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको आकस्मिक समयमा सांसद रेखा शर्माले गुठीसम्बन्धी कानुन बन्न नसक्दा नागरिक समस्यामा परेका उल्लेख गर्दै माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडितका माग सम्बोधन गर्न सरकारसँग माग गरेकी हुन्।

सांसद अशोककुमार चौधरीलेले स्वर्गद्वारी गुठीका मोही किसानका माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराए। सांसद मेटमणी चौधरीले एक हप्ता भइसक्दा पनि गुठी पीडितका कुरा सरकारले नसुनेको र आन्दोलनरत पीडित बिरामी पर्न थालेको बताए।

सांसद नागिना यादवले काठमाडौँ महानगरपालिकाले कवाडी व्यवसायीलाई अनावश्यक दुःख दिएको आरोप लगाइन्। कानुन बमोजिम दर्ता भएका व्यवसायीको जीउधनको सुरक्षाको समेत उनले माग गरिन्।

सांसद छविलाल विश्वकर्मा र प्रभु साहले भारतमा चलिरहेको महाकुम्भ मेलामा भागदौडमा परि केही नेपाली नागरिकले ज्यान गुमाएका तथा हराइरहेको विषयमा सरकारले सोधखोज गर्नुपर्ने बताए।

सांसद अम्मरबहादुर रायमाझीले यही माघ २४ गते कमलपोखरीस्थित सानदार मःमः हाउसमा आगलागी हुँदा ११ कामदार घाइते भएको उल्लेख गर्दै उक्त घटनाको अनुसन्धान र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे ।

सांसद लेखनाथ दाहालले गत असोज दोस्रो साता आएको बाढीपहिरो पीडितका लागि राहत, पुनः स्थापना तथा पुनः निर्माणका काममा ढिलाइ भइरहेको बताए। बिपी राजमार्ग अहिलेसम्म पनि पुनः निर्माण हुन नसकेको विषय उनले संसद्मा उठाए ।

काम गर्नेलाई गफ गर्नेसँग तुलना गर्न मिल्दैनः उपप्रधानमन्त्री सिंह

काठमाडौं। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन्।

शुक्रबार काठमाडौँ महानगरपालिका–२९ को वडा भवन उद्घाटन गर्दै उनले कतिपयले संविधान जारी गर्ने कुरालाई पनि केही होइन भन्ने गरेको भन्दै आपत्ति जनाए।

‘संविधान जारी गर्नु पनि केही होइन भन्छन् । के गर्दा ठूलो काम हुने रहेछ यहाँ ? काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?’ उनले प्रश्न गरे , ‘तपाईंहामीले होहल्ला गर्नेहरूको नियत के हो बुझ्नुप¥यो ! राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूबारे ठण्डा दिमागले लेखाजोखा गर्न आवश्यक छ ।’

उपप्रधानमन्त्री सिंहले नागरिकको चाहनाअनुसार स्थिर सरकारका लागि कांग्रेस–एमाले मिलेको भन्दै सोहीअनुसार काम भइरहेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको जिकिर गरे।

यसैगरी उनले उपयोगविहीन सार्वजनिक जग्गा जनताका लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्नेमा जोड दिँदै सरकारले त्यसका लागि काम गरिरहेको बताए।

उपप्रधानमन्त्री सिंहले आफूले प्रतिनिधित्व गर्ने काठमाडौँ क्षेत्र नं १ मा सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको उल्लेख गर्दै अब स्वास्थ्य क्षेत्रमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।

कैलालीको गोदावरीमा आमा र नाबालक छोरी घरभित्रै मृत भेटिए

धनगढी। कैलालीको गोदावरीमा आमाछोरी एकसाथ मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमाछोरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृत भेटिनेमा २४ वर्षीया मीरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कविन्द्र सिंह बोहराले बताए ।

उनकाअनुसार बिहीबार साँझ साढे ७ बजे घरमै आमा झुन्डिएको अवस्थामा भेटिएकी हुन्। उनकी छोरी पासो काटेको अवस्थामा भुइँमा मृत भेटिएकी छन् ।

मृतक मीराका सहोदर देवर नरेश विकले घरभित्र झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । घटनाका बेला उनकी सासू पनि घरमा नभएको पाइएको प्रहरीले जनाएको छ ।

दुवैजनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कैलालीमा पछिल्लो समय एकपछि अर्को अपराधिक घटना भइरहेका छन् ।

महिला टी–ट्वान्टी श्रृङ्खलाः नेपाल जितविहीन, उपाधि थाइल्याण्डलाई

काठमाडौं। महिला टी–ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ। अन्तिम खेलमा नेपाललाई सात विकेटले पराजित गरेसँगै थाइल्याण्डले उपाधि चुमेको हो। थाइल्याण्ड श्रृङ्खलामा खेलेका ६ खेलमध्ये पाँचमा जित तथा एकमा हार व्यहोर्दै १० अंकका साथ शीर्ष स्थानमा रह्यो। यस्तै नेदरल्याण्ड्स ६ खेलमा चारमा जित तथा दुईमा हार बेहोर्दै आठ अंकका साथ दोस्रो स्थानमा रह्यो। नेपाल भने प्रतियोगितामा अंकविहीन रह्यो । नेपाल आफ्ना सबै ६ खेलमा पराजित रह्यो।

नेपालले आफ्नो अन्तिम खेलमा थाइल्याण्डलाई जितका लागि ८२ रनको लक्ष्य दिएको थियो। कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितरे पहिला ब्याटिङ रोजेकी थिइन्। नेपालले निर्धाति २० ओभरमा सात विकेट गुमाएर ८१ रन बनायो। नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४, राजमती ऐरीले अविजित ११ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन्।

बलिङतर्फ थाइल्याण्डकी ओनिचा कामचोम्फुले तीन तथा चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान एक एक विकेट लिइन्।

बयासी रनको विजयी लक्ष्य थाइल्याण्डले १७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। थाइल्याण्डका लागि कप्तान नारुइमोल चाइवाईले अविजित २७, नान्नापत खोन्चरोएन्कले २३ तथा नाट्टाया बुचाथमले ११ रन बनाइन्। बलिङतर्फ नेपालका लागि कप्तान इन्दु बर्माले दुई तथा पुजा महतोले एक विकेट लिइन्।

नेपाल यसअघि नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्याण्डसँग चार विकेट र पाँच रनले पराजित भएको थियो।

प्रतिनिधिसभा बैठकमा गृहमन्त्री र आईजीपीमाथि छानविन गर्न माग

काठमाडौं। अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले अत्याचार गरेको भन्दै संघीय संसद्मा विरोध भएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने सांसदहरूले उक्त प्रकरणमा सरकारको भूमिकालाई लिएर निन्दा गरेका हुन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न छाडेर जातीय विभेदलाई राज्यसंयन्त्रबाटै संरक्षण गर्नु संविधान र मानव अधिकारको उल्लंघन भनेका छन् ।

सांसद नारायणी शर्माले उमेर पुगेका बयस्क नागरिकलाई आफ्नो फैसला गर्ने अधिकार रहेको बताउँदै गृहमन्त्रीको निर्देशनमा प्रहरीले गरेको ज्यादतीको निन्दा गरिन्।

‘अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्नेमा अपहेलित गरिएकोमा निन्दा गर्छु’, उनले भनिन्, ‘सरकारको यो कदम निन्दनीय छ ।’

त्यसैगरी सांसद प्रकाश ज्वालाले सत्येन्द्र र नेहाको बिहेलाई सर्वोच्च अदालतले पनि वैधानिक दिइसकेको अवस्थामा गृहमन्त्रीले गरेको हस्तक्षेपको भत्र्सना गरे ।

‘यो प्रकरण विवाहित जोडीमाथि अत्याचार गर्न निर्देशन दिने गृहमन्त्री (रमेश लेखक) र आईजीपी (वसन्त कुँवर) लाई कारबाही होस्’, उनले भने, ‘भारतको मुम्बईबाट पनि पक्राउ गरेर ल्याएपछि दुवैलाई यातना दिइएको छ । यस प्रकरणमा निर्नेदशन दिने गृहमन्त्री र गैरकानुनी कारबाही चलाउने आईजीपीमाथि छानबिन गरी कारबाही होस् ।’

विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गरेका छन् । 

सभापति खानले नेपालमा विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन तथा व्यवस्थित गर्न सरकारले यो विधेयक प्रस्तुत गरेको बताए ।

विधेयकमा मुलुकमा रोजगारी सिर्जना, वस्तु तथा सेवाको सहज आपूर्ति, निर्यात पवद्र्धनलगायतका क्षेत्रमा विद्युतीय व्यापार अति आवश्यक भइसकेकाले यसलाई नियमन तथा अनुगमनका लागि तत्काल कानुन बन्न आवश्यक रहेको उल्लेख छ ।

सूचना प्रविधिको माध्यमबाट हुने वस्तु वा सेवाको व्यापारिक कारोबारलाई नियमन गरी व्यवस्थित र विश्वसनीय बनाउन विधेयकमा विभिन्न व्यवस्था गरिएको छ ।

कानुनबमोजिम दर्ता भई वस्तु वा सेवाको व्यापार गर्न अनुमति प्राप्त गरेको कुनै व्यक्ति, फार्म, कम्पनी वा संस्थाले यस ऐनको अधीनमा रही विद्युतीय व्यापार गर्न सक्नेछन् ।

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरू

काठमाडौं। संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक सुरू भएको छ ।

बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नुहुने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको विधायन विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने, विधायन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरु सम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यसूचि छ । जसअन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरु (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेश गर्नुहुने कार्यसूचि रहेको छ ।

गण्डकी प्रदेशसभा बैठक फागुन २ गतेलाई सारियो

पोखरा। माघ ३० गतेका लागि तय भएको गण्डकी प्रदेशसभाको बैठक फागुन २ गतेका लागि सारिएको छ। प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै विशेष कारण देखाउँदै बैठक सारिएको जानकारी दिएको हो।

प्रदेश सभाको हिउँदे अधिवेशन २१ गते सुरु भएको थियो। पहिलो दिन १० मिनेटमै सकिएको बैठक ३० गते बस्ने तय गरिएको थियो। तर, प्रदेश सभा सदस्य तथा मन्त्रीहरू जिल्लातिर रहेको र फागुन १ गते जनयुद्ध दिवस परेकाले बैठक सारिएको हो।

२१ गतेको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गर्न बनेको अध्यादेश पेस गरेका थिए। प्रदेश सभामा यसअघि दर्ता भएका ३ विधेयक विषयगत समितिमा विचाराधीन छन्। सरकारले औद्योगिक व्यवसाय ऐन संशोधन विधेयक दर्ता गराइसकेको छ।

मुख्यमन्त्री पाण्डेले हिउँदे अधिवेशनमा १० भन्दा बढी विधेयक पारित गर्ने बताएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले ४ विधेयकका लागि तयारी गरिरहेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गाँजा खेती र घरेलु मदिरा सम्बन्धी विधेयक अघि बढाएको छ। ऊर्जा मन्त्रालयले विद्युत् ऐनको मस्यौदा अन्तिम चरणमा पु¥याएको छ। भौतिक मन्त्रालयले २ विधेयक ल्याउँदै छ भने स्वास्थ्य मन्त्रालयले पनि एउटा विधेयकमाथि तयारी गरिरहेको छ।