जोडिनुहोस

मदन भण्डारी राजमार्गको रिडी–बल्कोट सडक एक महिना बन्द

गुल्मी। मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–बल्कोट सडकखण्ड आजदेखि एक महिनाका लागि बन्द भएको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका– १ स्थित साँखराभिर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने काम सुरु भएपछि करिब एक महिनाका लागि उक्त सडक बन्द भएको हो ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक रुपमा सूचना जारी गरी माघ २५ गते शुक्रबारदेखि फागुन २० गतेसम्म सडक पूर्णरूपमा बन्द गरिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले जानकारी दिए ।

सडक सुचारु गरी काम गर्दा यात्रुहरूमा जोखिम हुनसक्ने भन्दै निर्माण व्यवसायीको माग अनुसार केही समयका लागि वैकल्पिक सडकको प्रयोग गरी उक्त सडक पूर्णरुपमा बन्द गरि काम सुरु गरिएको निमित्त योजना प्रमुख पौडेलले बताए ।

सडक बन्द भएपछि कार्यालयले यात्रुलाई वैकल्पिक मार्गको लागि सातमुरेदेखि श्रृङ्गा बलेटक्सार हुँदै रिडी, सातमुरदेखि–सिजिको बाटो हुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि ठाडो खोला हुँदै रिडीको सडक प्रयोगमा ल्याएको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालयले आवश्यक समन्वय र सहजीकरणका लागि गुल्मी र अर्घाखाँची जिल्लाका जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, छत्रदेव गाउँपालिका, सशस्त्र प्रहरी बल गुल्म उर्लेनी, उद्योग वाणिज्य सङ्घ र पश्चिम नेपाल बस व्यवसायी समितिलाई आग्रह गरिसकेको छ ।

सिरिजको अन्तिम खेलमा टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं। महिला त्रिकोणात्मक टि–२० सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ ।

कीर्तिपरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् ।

नेपाली टोलीमा २ परिवर्तन भएको छ । बुधवार नेदरल्याण्ड्ससँगको खेलमा टिममा रहेकी ममता चौधरी र रोमा थापा बेन्चमा रहेका छन् ।

यस खेलमा अलिशाकुमारी यादव र राजमती ऐरीले मौका पाएकी छिन् । राजमतीको यस खेल राष्ट्रिय महिला टोलीबाट डेब्यु खेल समेत रहेको छ ।

सिरिजमा यसअघि खेलेका सबै खेल हारेको नेपाल सान्त्वना जित हात पार्ने लक्ष्यमा रहेको छ । थाइल्याण्ड नेपाललाई हराउँदै उपाधी रक्षा गर्ने योजनामा छ ।

नेपालले थाइल्याण्डलाई फराकिलो रुपमा पराजित गरेमा नेदरल्याण्ड्सको उपाधी सम्भावना कायमै रहनेछ ।

थाइल्याण्ड नेपालसँग कम अन्तरले पराजित भएमा पनि च्याम्पियन बन्ने छ ।

झाडी फाँडेर १४० रोपनीमा ओखर खेती

बागलुङ। बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखर खेती थालेका छन् । उनीहरुले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका छन् ।

दुर्लेनी सामुदायिक कृषि तथा जडीबुटी समूहमार्फत ओखर खेती थालेको समूहका अध्यक्ष देवबहादुर खड्काले जानकारी दिए । हाल ओखरखेतीमा १७ जना युवक संलग्न छन् ।

ओखर खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले पनि सहयोग गरेको छ । ओखर फलाउन किसानको १४ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १० लाख अनुदान गरी २४ लाख लगानी भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले उर्लेनी क्षेत्र ओखर खेतीका लागि उपयुक्त रहेको र किसानले माग गरेअनुसार अनुदान उपलब्ध गराएको बताए ।

चितवनमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै

चितवन। चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदैछ ।

एक्पोको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आज बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र चितवन उद्योग सङ्घको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा दुग्ध उत्पादनसम्बन्धी ५२ प्रदर्शनीकक्ष समावेश गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले बताए ।

प्रदर्शनीमा ‘डेरी प्रसेसिङ’ तथा पशु आहार उद्योगका ‘मेसिनरी’ तथा उपकरण र दुग्धउत्पादन प्रदर्शन गरिने छ । दूध किसानका समस्या समाधन गर्ने, पशुपालनमा प्रविधिको प्रयोग गर्दै उत्पादन लागत घटाउन गर्नसकिने उपायबारे अवलोकनकर्तालाई तथा किसानलाई बुझ्न प्रदर्शनी उपयोगी हुने उनको भनाइ छ ।

प्रदर्शनीमा डेरी उद्योगका लागि सफ्टवेयर, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरण, पशुपालन आहारसम्बन्धीका स्टल, पशु औषधि तथा भेटनरी सेवासम्बन्धीका स्टल, डेरीलाई उपयोग हुने प्याकेजिङ उद्योगका स्टल, बैंक तथा बीमा कम्पनी, स्टार्टअप प्याभिलियन रहने छन् । प्रदर्शनी आगामी आइतबार समापन हुनेछ ।

विकास निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको समेत बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ‘बन्दैछ नेपाल’ शीर्षकमा सडक निर्माण भइरहेको भिडियो राखेर उनले विकास निर्माण र आयोजनाहरूको प्रगतिका बारेमा आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरू ‘एक्सन रुम’बाट छलफल गर्न लागेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई ३० अर्ब रुपैयाँ भुक्तानी गरिएको पनि जानकारी गराएका छन् ।

प्रधानमन्त्रीले लेखेका छन्– ‘शुभ बिहानी ! हाम्रा विकास निर्माण र आयोजनाहरूको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्सन रुमबाट आज छलफल हुँदैछ । हाम्रो प्राथमिकता छ– थालेको काम सक्ने । विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ, पूर्वाधार निर्माण सम्बन्धी रोकिएका धेरै काम द्रुत गतिमा अगाडि बढेका छन् ।

कम्बोडियाका लागि नेपाली राजदूत ओलीबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

कम्बोडिया। कम्बोडियाका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले नरेश नरोदम सिहामोनीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

बिहीबार न्होमपेनस्थित राजदरबारमा आयोजित विशेष समारोहमा ओलीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजा सिहामोनीसँग भएको दर्शनभेटमा राजदूत ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट कम्बोडियाका नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै कम्बोडियाली जनताको निरन्तर प्रगतिको कामना गरे ।

बैंककस्थित नेपाली दूतावासका अनुसार राजदूत ओलीलाई स्वागत गर्दै कम्बोडियाली नरेशले राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर प्रगतिको कामना गरे ।

उनले राजदूत ओलीको कार्यकालमा कम्बोडिया र नेपालबीचको सहयोगात्मक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

समारोहमा कम्बोडियाका उपप्रधानमन्त्रीका साथै राजदरबारका उच्च अधिकारीहरुको उपस्थिति थियो ।

४ सय रुपैँयाले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं। नेपाली बजारमा साताको कारोबारको अन्तिम दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य तोलामा ४ सयले घटेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

चाँदीको ५ रुपैयाँ बढेर १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ थियो ।

लगातार पाँच खेल हारेको नेपालले आज थाइल्याण्डसँग खेल्दै, सान्त्वना जितको अपेक्षा

काठमाडौं। घरेलु मैदानमा जारी त्रिदेशीय महिला टी–२ शृङ्खलामा लगातार पाँच खेलमा पराजित नेपाली महिला क्रिकेट टिमले शुक्रबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

नेपालमाथि घरेलु मैदानमा जित निकाल्न नसक्दाको दबाब छ। पाहुना टोली थाइल्याण्डका लागिसमेत उपाधिका लागि आज नेपाललाई हराउनै पर्ने दबाब छ। पाँच खेल खेलिसकेको थाइल्याडले एक खेल गुमाएर आठ अंक बनाएको छ। तालिकाको दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सलेसमेत समान आठ अंक बनाएकाले थाइल्याण्डका लागि नेपालसँगको खेल जित्नै पर्ने दबाब छ।

यसअघिका दुई भेटमा नेपालमाथि जित निकालेको थाइल्याण्ड उच्च मनोबलका साथ मैदानमा हुनेछ। नेपालसँगको पहिलो भेटमा चार विकेटले विजयी भएको थाइल्याण्ड दोस्रो भेटमा पाँच रनले जित निकाल्न सफल भएको थियो।

घरेलु मैदानमा नेपालले भने खाता खोल्नै सकेको छैन। पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले चुक्यो। तेस्रो खेलमा फेरि नेदरल्याण्ड्ससँग १५ रनले पराजित नेपाल चौथो खेलमा थाइल्याण्डसँग मात्र पाँच रनले पराजित भयो। पाँचौ खेलमा कमजोर देखिएको नेपाल नेदरल्याड्ससँग १० विकेटले पराजित भयो। आजको खेल शृङ्खलाको अन्तिम भएकाले नेपाल सान्त्वना जितको खोजीमा हुनेछ।

नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा केही महत्त्वपूर्ण अवसर गुमाउँदा जितका लागि संघर्ष गर्नु परेको हो। बलिङ राम्रो हुँदा ब्याटिङमा कमजोर देखिएको नेपाल अहिले आफ्नै मैदानमा पहिलो जितका लागि संघर्ष गरिरहेको छ।

प्रतियोगितामा थाइल्याण्ड र नेदरल्याण्ड्सको समान आठआठ अंक छ। रनरेटका आधारमा थाइल्याण्ड शीर्ष स्थानमा छ भने नेदरल्याण्ड दोस्रो स्थानमा छ। नेपाल भने अंकबिहीन अवस्थामा तालिकाको पुछारमा छ।

‘एसियन हाइवे’ निर्माणले गति लिँदै

मोरङ। सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ ।

निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एसियन राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ ।

पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमी सडक दमकस्थित रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिम पचरूखीसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ । दुवै कार्यालयका अनुसार यस एक वर्षमा १२ प्रतिशत काम सम्पन्न भएको छ ।

यसै आर्थिक वर्षभित्र कम्तिमा २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको आयोजनाका दमक कार्यालय प्रमुख सुनिलबाबु पन्तले बताए । त्यस्तै आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले पनि यसै आर्थिक वर्षभित्र कम्तिमा १० किलोमिटर सडकमा पहिलो चरणको कालोपत्र सक्ने लक्ष्य रहेको बताए ।

नेपालबाट भारत हुँदै २७ किलोमिटरमै बङ्गलादेशसँग ‘एसियन हाइवे’ जोडिएकाले यसले अन्तर्राष्ट्रिय व्यापारको सम्भावना बोकेको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए । सडक सञ्चालनमा आएसँगै आयात तथा निर्यात सस्तो पर्नुका साथै ग्रामीण व्यवसाय अन्तर्राष्ट्रिय बजारसँग जोडिने उनको भनाइ छ ।

एसियन हाइवे थाइल्यान्डको बैंककबाट सुरु भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा गत माघ १९ गतेदेखि सडक निर्माण कार्य सुरू भएको हो । यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

ठेक्का लागेको ९५ दशमलव ७६ किमी सडक क्षेत्रभित्र साना र ठूला गरी जम्मा ४८ वटा पुल, १० वटा ओभर पास बन्नेछन् । पूर्वी खण्डमा २१ वटा पुल निर्माण भइरहेका छन् भने एक सय ४० वटा बक्स कल्वर्टमध्ये ९२ वटा निर्माण भइरहेको आयोजनाको पूर्वी खण्ड प्रमुख पन्तले जानकारी दिए ।

पश्चिम खण्डमा पर्ने ३ ठूला पुल रतुवा, बक्रहा र लोहन्द्राको फाउण्डेसनको काम सकिएको आयोजना पश्चिम खण्डका प्रमुख प्रजापतिले बताए । एक सय ६९ वटा बक्स कल्वर्ट मध्ये ४७ वटा निर्माण भइसकेको र बाँकी बन्ने क्रममा रहेको उनको भनाइ छ । उनका अनुसार माटो पुर्ने काम ३५ प्रतिशत सकिएको छ ।

हालसम्म शहरी क्षेत्रभन्दा जङ्गल क्षेत्रमा भौतिक प्रगति धेरै भएको छ । झापाको चारआली, बिर्तामोड, चारपाने, मोरङको बलिया र सुनसरीको इटहरी चोक पूर्व, इटहरी चोक र इटहरी चोक पश्चिममा ओभर पास बन्नेछन् । सडक निर्माणका क्रममा बिजुलीका खम्बाले अवरोध भइरहेको तर त्यसको चाँडै व्यवस्थापनका लागि विद्युत् प्रधिकरणसँग समन्वय भइरहेको प्रजापतिको भनाइ छ ।

तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ ।

शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ । छ स्थानमा सिग्नेचर’ पुल निर्माण हुनेछन् । नेपालको कालिका र तुङ्गी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले सडक निर्माण गरिरहेका छन् ।

खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र हुँदै

भोजपुर। खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र थालिएको छ । मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र थालिएको हो ।

यो सडकखण्डको करिब २५ किलोमिटरमध्ये पहिलो खण्डमा शून्यविन्दुबाट दुई करोड ६१ लाख ७१ हजार ६३१ लागतमा कालोपत्र थालिएको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयले जनाएको छ ।

खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडकखण्डको शून्यविन्दुबाट कालोपत्रको काम थालिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । यो सडकको करिब २५ किलोमिटरमध्ये अहिले डेढ किलोमिटर कालोपत्र हुने उनको भनाइ छ ।

यही सडकको दोस्रो खण्ड हुँगे गाउँ पुछारबाट पाँचधारेसम्म स्तरोन्नतिको काम पनि भइरहेको छ । यहाँ सडक डिभिजन कार्यालयले दुई करोड र कोशी प्रदेश सरकारको २५ लाख गरी दुई करोड २५ लाख लागतमा स्तरोन्नति गरिरहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ

तनहुँ। तनहुँको व्यास नगरपालिका– १४ केशवटारस्थित केशवटार माध्यमिक विद्यालयमा पहिलो पटक मगर भाषाको पढाइ सुरु भएको छ । व्यास नगरपालिका र नेपाल मगर सङ्घ व्यास नगर समितिको समन्वयमा यस विद्यालयमा मगर भाषाको पढाइ सुरु गरिएको हो ।

मगर समुदायका विद्यार्थीहरूलाई मगर भाषा सिकाउने र पुस्तान्तरण अभियानका साथ मगर भाषाको कार्यान्वयनलाई प्राथमिकता दिने उद्देश्यले व्यास नगरपालिकामा पहिलो पटक केशवटार माविबाट मगरभाषाको पढाइ सुरु गरिएको हो । उक्त विद्यालयमा नेपाल मगर सङ्घले बनाएको नीति र स्थानीय पाठ्यक्रमअनुसार कक्षाहरू सञ्चालन गरिएको छ ।

केशवटार माविको कक्षा १ मा मगर भाषाको पढाइ थालिएको हो । मगर भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकको कार्यान्वयनको शुभारम्भ नगरप्रमुख वैकुण्ठ न्यौपानेले गरेका थिए । मगर भाषाको पढाइ सञ्चालनका लागि नगरपालिकाकै सहयोगमा पहिलो चरणमा शिक्षकहरूलाई पाँच दिने तालिम प्रदान गरिएको थियो । मगर भाषा संरक्षणका लागि नगरपालिकाले मगर समुदायको बाहुल्यता भएका विद्यालयमा मगर भाषामा पढाइ सञ्चालन गर्ने नीति लिएको छ ।

तालिम प्राप्त शिक्षकहरूले विद्यालयहरूमा मगर भाषामा कक्षाहरू सञ्चालन गर्नेछन् । पठनपाठनलाई सहज बनाउन र प्रभावकारी बनाउन विशेष तालिम प्रदान गरिएको थियो । यस प्रक्रियाले भाषा संरक्षणमा मद्दत पु¥याएको र सिकाइमा प्रभावकारिता ल्याएको नेपाल मगर सङ्घका केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त थापाले बताए ।

तालिममा मगर भाषाको पाठ्यक्रमको बारेमा याम बहादुर आले, इन्द्र बहादुर आले, अमर थापा, नन्दु थापा, यामलाल थापा, तिलबहादुर थापा र अनुराज थापाले प्रशिक्षण दिनुभएको थियो । तालिममा मगर बाहुल्यता भएका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरूले सहभागिता जनाएका थिए ।

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको विधायन विधेयकमाथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुका साथै ‘विधायन विधेयक पारित गरियोस्’ भनी प्रस्ताव गर्नेछन् ।

यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेस गर्ने छन् ।