
काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षीय नेताहरूसँग छलफल गरेका छन् । बूढानीलकण्ठस्थित निवासमा बोलाएर सभापति देउवाले शुक्रबार बिहान आफूनिकट नेताहरूलाई बोलाएर छलफल गरेका हुन् ।
छलफलमा सभापति देउवाका विश्वासपात्रहरू उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री डा. शशांक कोइराला, पूर्व गृहमन्त्रीहरू विजयकुमार गच्छदार र बालकृष्ण खाँण, पूर्व परराष्ट्रमन्त्री एनपी साउदसहितका नेताहरू सहभागी थिए ।
बूढानीलकण्ठ बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको अध्यादेश, पार्टीको आन्तरिक समीकरणलगायतको विषयमा छलफल भएको बताइएको छ ।
बैठकमा सहभागी एक नेताले छलफल पार्टीको आन्तरिक विषयवस्तुसँगै सम्बन्धित रहेको जानकारी दिएका छन् ।
बैठकमा सहभागी अर्का पूर्व पदाधिकारीले पनि समसामयिक विषयमा छलफल भएको बताए । उनले छलफलबारे विस्तृत खुलाउन भने चाहेनन् ।
‘सभापतिज्यूले आफूसँग मन मिल्ने पूर्व पदाधिकारी सहितका सिनियर नेताहरूलाई छलफलका लागि बोलाउनुभएको हो । समसामयिक विषयमा छलफल भयो,’ ती नेताले खबरहबसँग भने ।