
काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा नेपाल आयल निगमले सबैभन्दा धेरै घाटा ब्यहोरेको छ । सञ्चालित ४४ वटा सार्वजनिक संस्थानमध्ये आयल निगमले सबैभन्दा धेरै घाटा ब्यहोरेको हो ।
निगमले गत आर्थिक वर्षमा ३८ अर्ब १७ करोड रुपैयाँ घाटा ब्यहोरेको थियो । यसपछि सबैभन्दा धेरै घाटा ब्यहोर्ने कम्पनीको सूचीको दोस्रो स्थानमा नेपाल एयरलायन्स छ । नेपाल एयरलायन्सले गत आर्थिक वर्षमा १ अर्ब ७० करोड रुपैयाँ घाटा ब्यहोरेको थियो ।
यसपछि, तेस्रो स्थानमा रहेको नेपाल खानेपानी संस्थानले ३९ करोड ५४ लाख रुपैयाँ घाटा ब्यहोर्दा दुग्ध विकास संस्थानले ३७ करोड घाटा ब्यहोरेको छ ।
यसैगरी, नेपाल औषधि लिमिटेडले १३ करोड ८७ लाख रुपैयाँ घाटा ब्यहोरेको अर्थमन्त्रालयले जनाएको छ । सञ्चालित ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा रहेको र १९ वटा भने घाटामा रहेको अर्थमन्त्री डा.प्रकाश सरण महतले बताएका छन् ।