
काठमाडौं । निर्वाह भत्ता कार्यान्वयनको माग गर्दै आन्दोलनमा उत्रिएका आवासीय चिकित्सकहरूले आइतबार वर्षाको पानीमा भिज्दै र्याली निकालेका छन्।
माइतीघर मण्डलाबाट सुरु भएको र्याली बिजुली बजार पुलसम्म पुगेर अगाडि बढिरहेको छ। पानीले निथ्रिएको अवस्था हुँदाहुँदै पनि चिकित्सकहरू आक्रोशित मुद्रामा सरकारसँग आफ्नो अधिकारका लागि आवाज उठाइरहेका छन्।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा। शेषराज घिमिरेका अनुसार, सरकारले तोकेको निर्णय कार्यान्वयन नभएसम्म आन्दोलन रोकिने छैन। ‘हाम्रो र्याली पानीमा पनि रोकिएको छैन, जबसम्म निर्णय कार्यान्वयन हुँदैन, हाम्रो संघर्ष जारी रहनेछ,’ उनले बताए।
आन्दोलनमा देशभरका निजी मेडिकल कलेज र सरकारी प्रतिष्ठानका आवासीय चिकित्सक, वरिष्ठ चिकित्सक तथा नेपाल चिकित्सक संघका पदाधिकारीहरूको उपस्थिति रहेको छ।
२५ माघमा चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहसरह ४८ हजार रुपैयाँ सेवा–सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। तर, निर्णय भएको साढे दुई महिना बितिसक्दा पनि निजी मेडिकल सञ्चालकहरूले कार्यान्वयन नगरेको भन्दै चिकित्सकहरू तीन हप्तादेखि सडक आन्दोलनमा छन्।
शुक्रबारदेखि आन्दोलन थप सशक्त बनाउँदै चिकित्सकहरूले देशव्यापी सेवा बहिष्कारसमेत गरेका छन्। आवासीय चिकित्सकहरू आकस्मिक सेवा र भर्ना भएका बिरामीहरूको उपचारमा खटिने जिम्मेवारी सम्हाल्ने भएकाले, उनीहरूको सेवा बहिष्कारले अस्पतालहरूको स्वास्थ्य सेवा प्रभावित भएको छ।