जोडिनुहोस
  • होमपेज
  • नक्कली शरणार्थी बन्न खोज्दा बिल्लीबाठ

नक्कली शरणार्थी बन्न खोज्दा बिल्लीबाठ

विराटनगर । मजदुरी गरेर जीविकोपार्जन। आर्थिक अवस्था निकै कमजोर। महिनामै प्रशस्त हरियो डलर ९अमेरिकी० कमाइ हुने आश्वासनले मनै फुरुङ। त्यसमाथि चिनेजानेकै वडाध्यक्षबाट अमेरिका पुर्‍याइदिने वचन। वडाध्यक्षकै बुवाआमाको बसोबास अमेरिकामा भएपछि झनै पत्यारलाग्दो सपना।

जसकारण मोरङको पथरी शनिश्चरेका रमेश राई ९नाम परिवर्तन० नक्कली भुटानी शरणार्थी बन्न तयार भए। उनलाई आश्वासन दिने पथरी शनिश्चरे नगरपालिका–१० का तत्कालीन वडाध्यक्ष सागर राई चिनजानकै साथी थिए। उनले अमेरिका उड्न रमेशसँग १० लाख रुपैयाँ मागे।

रमेशले केही रकम साथीभाइसँग ऋण मागे। केही ससुरालीको जग्गा धितो राखेर ऋणपान गरे। ‘तीन महिनामा अमेरिका पठाउने भनेर पैसा मागे। २ लाख साथीभाइसँग ऋण खोजेर दिएँ,’ रमेश भन्छन्, ‘८ लाख जुटाउन ससुरालीको जग्गा धितो राखेँ। तर, अहिले न अमेरिका जान पाइयो, न त पैसा नै फिर्ता भयो।’

परिवार पाल्नै समस्या भएपछि तत्कालीन वडाध्यक्ष राईको सल्लाहअनुसार आफू अघि बढेको रमेशले बताए। अमेरिका जाने सपना पालेर दिएको पैसा डुब्दा ऋण तिर्न र धितो राखेको जग्गा उकास्न नपाएको उनको गुनासो छ। ऋणको ब्याज तिर्न आफ्नो नाममा भएको १० धुर जग्गा बेचिसकेको रमेशले सुनाए। ‘नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएपछि मसँगै परिवार पनि तनावमा छन्’, उनी भन्छन्, ‘दिएको पैसा त डुब्यो नै, कारबाही पनि भोग्नुपर्ने हो कि भन्ने त्रासमा छौं।’

उनका अनुसार सुरुमा १० लाख र अमेरिका पुगिसकेपछि थप १५ लाख दिने सर्त थियो। तर, अहिले आएर बिल्लीबाठ भएको उनको गुनासो छ।

‘तनावका कारण मानसिक समस्या निम्तियो। अहिले औषधि खाँदै छु’, रमेश भन्छन्, ‘सागरलाई भेटेर पटक–पटक पैसा फिर्ता गरिदिन आग्रह गरें। मिति उल्लेख नगरीकन उनले बैंकको चेक दिए पनि खातामा पैसा छैन।’

तपाईंको पैसा डुबाउँदिनँ भनेर आश्वासन दिने सागर पक्राउ परेपछि झन् तनावमा परेको उनी बताउँछन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका