नेपालगञ्ज । नेपालगञ्जमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आज ९बुधबार० पनि कायमै रहेको छ । अनिश्चितकालीन कर्फ्युका कारण नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । कर्फ्युका कारण मानिस अत्यावश्यक काम बाहेक घर बाहिर निस्किएका छैनन् । धार्मिक हिंसा बढ्न सक्ने जोखिम बढ्दै गएपछि नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले नेपालगञ्जमा कर्फ्यु लगाएको थियो ।
मंगलबारको झडपमा तीन सुरक्षाकर्मी र १३ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रशासन कार्यालयका अधिकृत विष्णु साहनीले सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायत व्यक्तिबाट सामाजिक सद्भाव र शान्ति कायम गर्न अहम भूमिकाको अपेक्षा गर्दै सामाजिक सद्भाव बिग्रने गरी भ्रामक सन्देश प्रवाह नर्गन अनुरोध गरेका छन् ।
नेपालगञ्जमा एक युवाको फेसबुक स्टाटसको विषयलाई लिएर विवाद बढ्दै गएपछि हिन्दु र मुस्लिम युवाबीच विवाद उत्पन्न भएको थियो । अवस्था तनावपूर्ण बन्दै गएपछि मंगलबार दिउँसोदेखि नेपालगञ्ज उप–महानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय बाँकेले नगरक्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।
नेपालगञ्जमा केही दिनयता हिन्दु र मुस्लिम समुदायबीच आपसी सद्भाव बिग्रँदै गएको थियो । सामाजिक सञ्जालमा एक हिन्दु युवाको नाममा रहेको फेसबुक आइडीबाट मुस्लिम समुदायलाई लक्षित गरेर लेखिएको स्टाटसको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । गत आइतबार एक युवकले लेखेको स्टाटसले आफ्नो धर्म र समुदायलाई लक्षित गरेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै मुस्लिम युवाले कारबाहीको माग राख्दै बिरोध प्रदर्शन गरेका थिए ।
जिल्ला प्रशासनमा गएर उनीहरुले उक्त स्टाटस लेख्ने युवालाई कारबाहीको काम गर्दै नगर क्षेत्रमा केही घण्टा बिरोध प्रदर्शन गरेका थिए । अवस्था बिग्रँदै गएपछि बाँकेमा शान्ति र सद्भाव कायम राख्न सबै धर्मका अगुवाहरुको बैठकले मंगलबार सद्भाव र्याली निकाल्ने निर्णय गरेको थियो । जसअनुसार मंगलबार बिहानै सबै धर्मका अगुवा, जिल्ला प्रशासन कार्यालयका प्रमुख विपीन आर्चाय, नेपालगञ्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टलगायत विभिन्न दलका नेताहरुको अगुवाइमा सद्भाव र्याली समेत गरिएको थियो ।
मंगलबार ओमकार परिवार हिन्दु समाजले नेपालगञ्ज नगरमा बन्दको आह्वान गर्दै बिरोध प्रर्दशन गरेको थियो । बिरोध प्रदर्शनका क्रममा हिन्दु युवालाई घरको छतबाट ढुंगा हानेपछि तनाव उत्पन्न भएको थियो । त्यसपछि बिरोधमा उत्रिएका युवाले सार्वजनिक सम्पक्ति तोडफोड, नगरका केही पसल र घरमा तोडफोड गरेका थिए । तोडफोडका क्रममा केही मोटरसाइकलमा आगजनी समेत भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख विपीन आर्चायले एक विज्ञप्ति जारी गर्दै नेपालगञ्ज नगरसँग जोडिएको पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोड इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाका क्षेत्रमा कर्फ्यु लगाएको जानकारी गराएका छन् । उक्त स्थानमा स्थानीय प्रशासनले कुनै पनि भेला, सभा समारोह, जुलुस, र्याली, हुलहुज्जत र अत्यावश्यक काममा बाहेक हिँडडुलमा रोक लगाएको छ ।