जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले गाउँपालिकाद्वारा किसानलाई कृषि सामग्री वितरण

कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले गाउँपालिकाद्वारा किसानलाई कृषि सामग्री वितरण

भोजपुर– पौवादुङमा गाउँपालिकाले तीन सय बढी किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले ‘कृषकलाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरी उक्त सामाग्री वितरण गरिएको हो । गाउँपालिकाले कृषकसँग आवेदन माग गरी आवेदनका आधारमा सामग्री वितरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा एक लाख ४८ हजार बराबरको २६ थान प्लाष्टिक टनेल, दुई लाख ६० हजार बराबरको ६० थान इलेक्ट्रिक स्पेरियर र १० लाख बराबरको दुई सय ५० थान मल्चिङ प्लाष्टिक वितरण गरेको कृषि शाखा प्रमुख सुदीप मरासैनीले जानकारी दिए। गाउँपालिकाले कृषकलाई विभिन्न समयमा बीउबिजन, विषादीलगायत आवश्यक प्राविधिक सहयोगसमेत गर्दै आएको उहाँको भनाइ छ । हामीले किसानको मागका आधारमा तीन सय बढी कृषकलाई सामग्री हस्तान्तरण गरेका छौँ’ उनले भने किसानलाई व्यावसायिक कृषिमा लाग्न प्रोत्साहन गर्न सामग्री वितरण गरेका हौँ ।

किसानले गरिरहेको व्यावसायका आधारमा उनीहरूलाई आवश्यक कृषि सामाग्री तथा प्रविधिक सहयोग गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । तरकारी तथा नगदेबालीमा लागेका किसानलाई कृषि सामग्री  र कुखुरा, बाख्रा तथा व्यावसायिक बङ्गुरपालन गर्ने किसानलाई सोही अनुसार आवश्यक सामाग्री वितरण गरिएको उनको भनाइ थियो ।

‘हामीले  किसानलाई व्यावसायिक बन्न प्रोत्साहन गर्दै आएका छौँ’ प्रशासकीय अधिकृत भट्टराईले भने, ‘सुक्खा क्षेत्र भए पनि कृषकको आवश्यकताका आधारमा प्रोत्साहन कार्यक्रम सञ्चालन गरी सहयोग गरिरहेका छौँ । यहाँको कृषि उत्पादन बाह्य बजारमा समेत जान थालेको छ ।

यहाँको भूगोलअनुसार पकेट क्षेत्र निर्धारण गरेर कृषिमा लगानी गरिएको गाउँपालिकाले जनाएको छ । पालिकालाई कृषिमा नमूना बनाएर यहाँ उत्पादित वस्तुको बजारीकरण गरी किसानलाई आर्थिक रूपमा सक्षम बनाउने योजना बनाएर काम गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए। कृषि क्षेत्रको दिगो विकासले मात्र किसानलाई आर्थिकरूपमा सक्षम बनाउन सकिने भन्दै उहाँले पालिका कृषिको योजनाबद्ध विकासमा जुटेको जानकारी दिए। 

‘सिँचाइको अत्यन्तै समस्या छ, किसानलाई सहयोग गरेर प्लाष्टिक पोखरी वितरण गरेका छौँ । सिँचाइको समस्या समाधान भएपछि यहाँको उत्पादन बाह्य बजारमा जाने गरेको छ अध्यक्ष राईले भने।

गाउँपालिकाले कृषि सामग्रीका साथै अन्य आवश्यक उपकरण वितरण गरेपछि व्यावसायिक कृषिमा लाग्न सहयोग पुगेको कृषक राजकुमार दर्जीले बताए। उत्पादन भएको वस्तुलाई बजारीकरणमा गाउँपालिकाले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । पौवादुङमा गाउँपालिकाले कृषकलाई व्यावसायिक बनाउन कृषि सामाग्री वितरण गर्नुका साथै प्राविधिक सहयोग गरेको निकै प्रशंसायोग्य काम भएको कृषक लक्ष्मी खत्रीले बताए। कृषि पेसालाई व्यावसायिक बनाउन पालिकाले गरेको सकयोगले थप टेवा पुगेको उनको भनाइ छ । 

यहाँका कृषि पेसामा लागेका महिलालाई थप प्रोत्साहन गर्न उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’अन्तर्गत सबै वडाका महिला किसानका लागि एक-एक लाखको योजना सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बताए । हामीले यहाँका व्यावसायिक कृषिमा लागेका महिलालाई सक्षम बनाउन आर्थिक सहयोगका साथै विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरेका छौँ । उपाध्यक्षको नेतृत्वमा महिला विकास बोर्ड गठन गरी प्रोत्साहनमूलक कार्यक्रममा गर्दै आएका छौँ’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्