जोडिनुहोस
  • होमपेज
  • हमासको आक्रमणमा तीन इजरायली सेना मारिए

अन्तर्राष्ट्रिय

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना मारिएका छन् । इजरायल र गाजाको बीचमा पर्ने एक प्रहरी चौकीमा भएको रकेट हमलामा आफ्ना तीन सैनिक मारिनुका साथै केही घाइते भएको इजरायलले जनाएको छ ।

हमासको आक्रमणपछि इजरायलले गाजा प्रवेश गर्ने केरेम शालोम नाका बन्द गरेको छ । यो गाजामा खाद्यान्न र चिकित्सा आपूर्तिहरू सहित मानवीय सहायता प्राप्त गर्ने केही मार्गहरू मध्येको एक हो।

यसअघि, इजरायल र हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको थियो । वार्ता निष्कर्षविहीन हुनुमा दुवै पक्षले एकअर्कालाई आरोप लगाएका छन् ।

इजिप्टका मध्यस्थकर्ताहरूले गाजामा युद्धविराम र हमासद्वारा बन्धकहरूलाई रिहाइ गर्ने सम्झौताका लागि कायरोमा दुई दिनको वार्ता गरेका थिए ।

एक विज्ञप्तिमा, हमासले पछिल्लो चरण आइतबार समाप्त भएको र उसको प्रतिनिधिमण्डल अब समूहको नेतृत्वसँग परामर्श गर्न कायरोबाट कतार जाने बताएको छ।

बीबीसीका अनुसार मध्यस्थता प्रयासमा संलग्न सीआईए प्रमुख विलियम बर्न्स कायरोबाट कतारको राजधानी दोहामा वार्ताका लागि प्रस्थान गरेका छन् ।

युद्धविरामको प्रस्तावमा बन्धकहरूलाई रिहा गर्दा ४० दिनको लडाइँमा रोक लगाउने र इजरायली जेलहरूमा बन्दी रहेका प्यालेस्टिनी कैदीहरूको रिहाइलाई आधार बनाइएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्