जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेलाई हिरासतमा राख्न आठौँ पटक म्याद थपिँदै

रवि लामिछानेलाई हिरासतमा राख्न आठौँ पटक म्याद थपिँदै

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने भन्दै फेरी म्याद थप्ने तयारी गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीबाट प्राप्त अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोजन पत्र तयार गर्न समय लाग्ने भन्दै फेरि म्याद थप्न लागेको हो।

उनलाई हिरासतमा राख्न पछिल्लो पटक गत मंसिर २७ गते दिएको ५ दिन समय सकिएसँगै मङ्गलबार म्याद थपका लागि अदालत लैजाने तयारी गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयका सहायक न्यायाधिवक्ता विपिनराज तिवारीका अनुसार अभियोजन पत्र तयार गर्न समय लाग्ने भएको म्याद थप्न लागिएको बताए।

‘आज अभियोजन जाँदैन, थप म्याद माग्छौँ,’ उनले भने, ‘हामीसँग अब हिरासतमा राख्न ४ दिन समय छ, त्यति नै समय अदालतसँग माग्छौँ।’

पोखराको सूर्यदर्शन सहकारी ठगी अभियोगमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई पोखरा ल्याइएको थियो। त्यसपछि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने भन्दै ७ पटक अदालतबाट म्याद लिएको छ। मङ्गलबार आठौँ पटक थप म्याद माग्न लागेको सरकारी वकिलको कार्यालयले जनाएको छ।

लामिछानेसँगै अनुसन्धानका लागि पूर्व डीआईजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाइ र कृष्णबहादुर गुरुङ प्रहरीको हिरासतमा छन्।

उनीहरु विरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार अनुसन्धान गरिएको छ। सहकारी ठगीमा पक्राउ गर्दा २५ दिनभित्र, सङ्गठित अपराधमा ६० दिनभित्र र सम्पत्ति शुद्धिकरण ऐनमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ।

पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनदेखि गणना गरेर अनुसन्धान भइरहेको प्रहरी र सरकारी वकिलको कार्यालयले जनाएको छ। जोशी गत असोज ६ गते पक्राउ परेका थिए। जोशी पक्राउ परेको ९० दिन पुग्न अब ४ दिन बाँकी छ। बाँकी अवधि पुरै माग गरेर म्याद थप गर्ने सरकारी वकिलको कार्यालयको तयारी छ।

सूर्यदर्शन सहकारी ठगीमा यसअघि नै १९ जनालाई प्रतिवादी बनाएर अदालतमा अभियोग पत्र पेश भइसकेको छ। सोही सहकारी ठगीमा लामिछानेसहित अन्य व्यक्तिहरूको पनि संलग्नता देखिएको भन्दै सहकारी पीडितले माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

सोही जाहेरीका आधारमा लामिछाने पक्राउ परेका हुन्। प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई सोमबार बुझाएको प्रतिवेदनमा ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ। थप १४ जनाको ठेगाना नखुलेकाले ठेगाना खुलेपछि अनुसन्धान गर्ने कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्त शर्माले बताए।

उनका अनुसार सूर्यदर्शन सहकारी ठगीमा अहिले ९ जना पूर्वपक्षका लागि कारागारमा छन् भने ५ जना हिरासतमा छन्। सहकारी ठगीका मुख्य योजनाकार मानिएका जीबी राईसहित ३७ जना फरार छन्।

प्रहरीले उनीहरूसँग १ अर्ब ५१ करोड ४० लाख रजैयाँ बिगो असुल गर्न पनि सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका