Breaking News
विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बदलिएको राजनीतिक परिस्थिति र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको बताएका छन्।
शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रचण्डले विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र विपक्षमा मत थिए। तर अहिले बदलिएको राजनीतिक परिस्थिति र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको छ। हाम्रा पनि धेरै नेता साथीहरूले यो प्रस्ताव पार्टीभित्र छलफल गरौँ भनिरहनुभएको छ, म पनि यसमा छलफल खुला गर्ने पक्षमा छु।’
उनले यस विषयमा पार्टीबाट नै स्पष्ट दृष्टिकोण बनाएर जाने बताए। विश्व शान्तिको केन्द्र लुम्बिनीलाई प्रमुख आधार बनाएर यो क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा अघि सार्न आवश्यक हुने उनको भनाइ छ। यो अभियानको तर्फबाट बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै संयुक्त राष्ट्रसंघको महासभामा आवाज उठाउन समेत आग्रह गरेका थिए।





















