
ढोरपाटन (बागलुङ)। लगातार वर्षापछि आएको भीषण बाढीले मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–४ स्थित कालापैराखोला खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
आइतबार राति आएको बाढीका कारण बुर्तिबाङ–पूर्वी रुकुम खण्डमा यातायात अवरुद्ध भएको वडा अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए। सडक बन्द हुँदा रुकुमपूर्व, रोल्पा र काठमान्डू–पोखरा जाने सवारी साधन बीचमै अड्किएका छन्।
लगातारको वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा रुख ढल्दा सडक थप क्षतिग्रस्त भएको छ। पौडेलका अनुसार सडकमा लेदो र बगर जमेकाले आवागमन एकदमै कठिन भएको छ।
“सडक सफा गर्न मेसिन प्रयोग गर्ने प्रयास भइरहेको छ। अस्थायी रूपमा भए पनि एकतर्फी यातायात सञ्चालनमा ल्याउने तयारी छ,” अध्यक्ष पौडेलले बताए।
































