देश
शिक्षक महासङ्घले आफू खुशी सम्झौता गरेर धोका दिएको विद्यालय कर्मचारी परिषद्को आरोप ; आन्दोलनका कार्यक्रम घोषणा

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले नेपाल शिक्षक महासङ्घले सरकारसँग आफू खुशी सम्झौता गरेर धोका दिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमार्फत परिषद्ले आन्दोलन परिचालन समिति गठन गर्दै बब्बन मिश्रको संयोजकत्वमा विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
परिषद्का अध्यक्ष गंगाराम तिवारीले शिक्षक महासङ्घलले रहस्यमय ढङ्गले सरकारसँग सम्झौता गर्दै राहत, बाल विकास र विद्यालय कर्मचारीलाई बेवास्ता गरेको बताउनुभयो ।
उहाँँले आन्दोलनका क्रममा शुरुदेखि नै परिषद् र महासङ्घसँगसँगै अघि बढे पनि अन्तिममा महासङ्घले आफू खुशी सम्झौता गरी विद्यालय कर्मचारीका हितपूर्ण मुद्दाहरूलाई बेवास्ता गरेको उहाँको भनाइ छ ।
परिषद्ले अबको आन्दोलन शिक्षकमात्र होइन, कर्मचारी अधिकार सुनिश्चित गर्न केन्द्रित हुने जनाएको छ ।
परिषद्ले पर्सि आइतवारदेखि आउँदो जेठ ३ गतेसम्म कालो पट्टि बाँधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गते ७ सय ५३ वटै पालिकामा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनकोबारेमा जानकारी गराउने, ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने लगायतका आन्दोलनका कार्यक्रम तय गरेको छ ।
यसअघि शिक्षक महासङ्घले अस्ति बुधवार सरकारसँग ९ बुँदे सहमति गरेर आन्दोलन स्थगन गरेपछि आजदेखि सामुदायिक विद्यालय खुल्न थालेका छन् ।




































