जोडिनुहोस
  • होमपेज
  • किटमा नेपाली विद्यार्थीको मृत्युबारे बोल्यो भारतीय विदेश मन्त्रालय

किटमा नेपाली विद्यार्थीको मृत्युबारे बोल्यो भारतीय विदेश मन्त्रालय

ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको नेपाली विद्यार्थी प्रिसा शाहको मृत्युप्रति भारतीय विदेश मन्त्रालयले शोक व्यक्त गरेको छ ।

मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै किटमा मृत्यु भएकी शाहको परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ ।

‘यो दुःखद् घटनाको जानकारी पाएको क्षणदेखि नै भारतको परराष्ट्र मन्त्रालय ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा छ’, विज्ञप्तिमा भनिएको छ, ‘ओडिसा राज्य सरकारले दिवंगत विद्यार्थीको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र हाल प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।’

विज्ञप्तिमा भारत सरकार सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, सुरक्षासम्बन्धी चिन्ता र सर्वोपरि हितको सन्दर्भमा अत्यन्त संवेदनशील रहेको समेत भनिएको छ । ‘यस विषयमा हामी नेपाली अधिकारी, ओडिसा सरकार तथा केआईआईटी व्यवस्थापनसँग हामी निरन्तर सम्पर्क र समन्वयमा छौं ।’

वीरगञ्ज स्थायी घर भएकी १८ वर्षीय शाह स्नातक प्रथम वर्षमा अध्ययरत विद्यार्थी थिइन् ।

उनको मृत्यु भएको खबर पाएलगत्तै भूवनेश्वर प्रहरीका उच्च अधिकृतहरू केआईआईटीमा पुगेका थिए भने फरेन्सिक टोली समेत पुगेको थियो । त्यसपछि शवलाई अस्पताल पठाइएको थियो भने घटनास्थलाई प्रहरीले सुरक्षित साथ राखेको भनिएको छ ।

उनको बुबा त्यहाँ पुगेपछि मात्र पोस्टमार्टम गर्ने भनिएको छ । यसअघि फागुन दोस्रो साता पनि केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो ।

उनले आफूलाई एक जना युवकले मानसिक यातना दिइरहेको भन्दै कलेज पटकपटक उजुरी दिएकी थिइन् । सुनुवाइ नभएपछि अन्तिममा ज्यान गुमाउन बाध्य भइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका