
काठमाडौँ । पहलगाममा भएको आक्रमणको बदलामा भारतले पाकिस्तानमा हवाई हमला गरेको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार बुधबार बिहान गरिएको आक्रमणमा करिब ३० जनाको मृत्यु भएको छ।
भारतले उक्त कारबाहीलाई ‘अप्रेशन सिन्दूर’ नाम दिएको छ। यस अन्तर्गत ९ वटा आतंकवादी घेरालाई लक्षित गर्दै पाकिस्तान अधिकृत कश्मीरमा एअर स्ट्राइक गरिएको हो। आक्रमण बिहान करिब १:४५ बजे भएको बताइएको छ।
पहलगाम आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएपछि भारतले जवाफी कारबाहीस्वरूप पाकिस्तानस्थित आतंकवादी संगठनका आधारशिविरहरूमा निशाना बनाएको हो। हवाई आक्रमण बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबाद क्षेत्रमा केन्द्रित थियो।
पाकिस्तानका स्थानीय सञ्चारमाध्यमका अनुसार विशेषगरी बहावलपुरमा ३० जनाको मृत्यु भएको छ। एएनआई समाचार एजेन्सीका अनुसार आक्रमणमा लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मदका मुख्यालयहरू ध्वस्त पारिएका छन्।
पाकिस्तानी सेनाको इन्टर–सर्भिसेस पब्लिक रिलेशन्स (ISPR) का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीका अनुसार भारतले २४ वटा मिसाइल प्रहार गरेको हो। एएनआईका अनुसार ‘अप्रेशन सिन्दूर’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्यक्ष निगरानीमा गरिएको थियो।
भारतीय सेनाले भने कारबाहीमा पाकिस्तानी सैनिक आधारशिविरहरूलाई लक्षित नगरिएको स्पष्ट पारेको छ।